नारायण बाबु डगौरा : डेढलाख कर्जाबाट स्वरोजगारीदेखि 'पावर टेलर'को धनीसम्म

नारायण बाबु डगौरा : डेढलाख कर्जाबाट स्वरोजगारीदेखि 'पावर टेलर'को धनीसम्म

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १९, २०७८

म नारायण बाबु डगौरा । वर्ष २५ । कञ्चानपुर जिल्ला  बेटकोट नगरपालिका ८ भाँसी । बेटकोट नगरपालिका ८ भाँसी स्थित सगुन मेटल वर्कसपको सञ्चालक ।

मैले ११ कक्षासम्म अध्ययन गरेको छु । मेरो बुवाले घर बनाउने मिस्त्रीको काम गर्नु हुन्थ्यो । उहाँको आम्दानीबाट जसोतसो परिवार चलेको थियो । बुबाको ढाडै नचल्ने समस्या देखिएपछि परिवार चलाउन केही न केही गर्ने बाध्यता भयो ।श्रीसम्पत्तिको नाममा भएको ६ कट्ठा जमिनको आम्दानीबाट परिवार चलाउन धौधौ भए पछि कक्षा ११पढ्दा पढ्दै केही गर्ने सोच बनाएँ । के गर्ने केही थाहा थिएन । म सँग केही सिप पनि थिएन र अनुभव पनि । 

एक जना चिनेको मानिसकोमा ग्रिल कारखानामा काम सिक्न थाले । केही महिनामा नै मासिक रुपमा तलब लिएर काम गरेँ । झन्डै डेढ वर्ष काम गर्दा मैले ग्रिल सम्बन्धी सबै सिप सिके र मैले त्यहाँ काम गरेर प्राप्त भएको पैसा स्थानीय श्रमिक कल्याण कृषि सहकारी संस्था लिमिटेडमा जम्मा गरिरहेको थिँए । यसरी जम्मा भएको एक लाखले आफ्नै कारखाना खोल्ने निर्णय गरे । तर कारखाना निर्माण र सर सामग्री खरिद गर्दा नै सबै रकम सकियो । 

रकम सकिए पछि एक आफन्तसँग १० हजार सापटी लिई एक क्यवीन्टल सरिया पति (फलामको पत्ता) किनी काम सुरु गरे । सुरुमा लगानी गर्ने पैसाको अभावमा अर्डरको समान दिन सकिन । जसले एडभान्स दियो । तीनको मात्र समान बनाउने र दिने गर्दथे । अलि अनुभव र विश्वास हुन थालेपछि फलाम ल्याउने ठाउँमा पनि विश्वास आर्जन गर्न थाले । त्यती मात्र होइन सानोतिनो अर्डरको समान दिँदै जसोतसो व्यवसाय धान्ने काम मात्र गरिरहेका थिए ।  उता ढाड नचल्ने बुवाको उपचार र घर परिवार पाल्न गाह्रो भइरहेको थियो ।

एक दिन कारखाना नजिकै रहको एक दाइको पसलको छेउमा श्रमिक कल्याण कृषि सहकारी संस्था लिमिटेडले सूचना टाँस गरेको रहेछ । सूचना हेरे ।  युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा  सहकारी संस्थाले बढीमा २ लाखसम्म स्वरोजगारी सृजना गर्ने युवालाई सरल कर्जा उपबन्ध गराउन लागेको र इच्छुकहरूलाई नागरिकता वा लालपुर्जा लिएर सम्पर्क राख्न भनिएको थियो । 

सूचना अनुसार नै मैले पनि तत्काल श्रमिक कल्याण कृषि सहकारीमा सम्पर्क राखे । सहकारीले निवेदन दिन भन्यो । सोही अनुसार निवेदन दिएँ । म जस्ता निवेदन दिनेको सङ्ख्या २५ पुगेछ । मैले त सहकारीमा दुई लाख माग गरेकोमा मलाई अरूलाई पनि दिनुपर्ने कारण देखाएर एक लाख पचास हजार कर्जा उपलब्ध गराउने निर्णय भयो । मलाई व्यवसाय विस्तारको लागि यो कर्जा उपलब्ध गराइएको हे । 

यसरी कर्जा प्राप्त हुनासाथ सबै रकम मैले कारखानामा नै लगाउने काम गरे । जसले गर्दा आएको अर्डर अनुसारको समान दिन सक्ने अवस्था भयो । कर्जा प्राप्त नहुँदासम्म मुस्किलले महिनाको २०,२२ हजार कमाउन पनि गाह्रो थियो । तर यसरी कर्जा प्राप्त हुनासाथ यो आम्दानी पहिलो महिनाबाटै ५० देखि ५५ हजारसम्म हुन थाल्यो । योसँगै घर खर्च चलाउन सजिलो भएको छ । 

अहिले स्वरोजगारीकाे लागि प्राप्त डेढलाख कर्जाबाट दाजुभाइ नै स्वरोजगार मात्र भएका छैनौँ । कारखानाको आय अर्जनबाट एक लाख पचास हजार पर्ने 'पावर टेलर' (खेत जोत्ने ट्याक्टर) खरिद गर्न सफल भएका छौँ । जुन 'पावर टेलर'ले खेत जोत्दा प्रति घण्टा आठ सयका दरले आम्दानी हुने गरेको छ । कहिले भाइ त कहिले म यो काममा जाँदा समेत सिजनामा दैनिक २,३ हजारसम्म आम्दानी हुने गरेको छ । 

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा श्रमिक कल्याण कृषि सहकारी संस्था लिमिटेड मार्फत प्राप्त कर्जाले मेरो व्यवसाय बिस्तारले मलाई  केही समयमा नै पावर टेलरको धनी बनाएको छ ।