प्रतिनिधिसभा विघटन: सभामुखतर्फका वकिलको बहस जारी

प्रतिनिधिसभा विघटन: सभामुखतर्फका वकिलको बहस जारी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २०, २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा सभामुख अग्नि सापकोटा पक्षका वकिलहरूको बहस सुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले सुरुमा बहस थालेका छन् ।

पोखरेलले संविधानको धारा ७६ को उपधारा ५ को व्याख्या नै अहिलेको मुख्य विषय भएको बताएका छन् । उनले धारा ७६ को उपधारा ५ मा ह्वीप लाग्छ भनेर कहीँ नलेखिएको तर्क गरेका छन् ।

सभामुख सापकोटाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । सभामुखको तर्फबाट बहस गर्ने वकिलहरूलाई २ घण्टाको समय दिइएको छ ।

आजै रिट निवेदक पक्षका वकिलहरूले जबाफी बहस पनि गर्ने तयारी छ । जबाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिने र फैसलाको मिति तोकिनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटहरूमाथि संवैधानिक इजलासमा ९ असारदेखि निरन्तर बहस हुँदै आएको छ ।