चुनवाङमा लसुनबाट भित्रियो ४० लाख

चुनवाङमा लसुनबाट भित्रियो ४० लाख

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २०, २०७८

रुकुम(पूर्व) । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष  ४५३ क्विन्टल  लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुआती चरणमा प्रतिकिलो ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो  ११५ बिक्री हुने गरेको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिनुभयो । बीउ लसुनको मूल्य भने १२५ पुगेको उहाँको भनाइ छ । चुनवाङमा साना व्यापारीले कृषकबाट लसुन खरिद गर्ने र उनीहरुले जम्मा गरेको लसुन दाङतिरका ठूला व्यापारीले ठेक्कामा लिने गरेका छन् ।

आगामी आर्थिक वर्षमा कृषकलाई अनुदानमा लसुनको बीउ वितरण गर्ने जनाउँदै ३५ क्विन्टल लसुनको बीउ वडाले  खरिद गर्न जनाइएको छ । उहाँका अनुसार यस वर्ष लसुन उत्पादनबाट मात्रै वडामा ४० लाख भित्रिएको छ । सो गाउँ लसुनको पकेट क्षेत्र हो । सो क्षेत्र जिल्लामा सबैभन्दा धेरै लसुन उत्पादन हुने ठाउँ भनेर पनि चिनिन्छ ।  यहाँ उत्पादित लसुन रुकुमपूर्वको विभिन्न ठाउँसहित, रुकुम ९पश्चिम०, दाङ, नेपालगञ्ज, पोखरालगायतका ठाउँमा जाने गरेको छ । वडाले पनि चुनवाङमा लसुनखेती र बाख्रापालनलाई जोड दिँदै आएको छ ।

गाउँपालिकाले कृषकलाई लसुनको बीउ अनुदानमा वितरण गर्दै आएको छ ।  वडाध्यक्ष पुनले लसुन कम उत्पादन हुने  क्षेत्रमा बेसार र अदुवाको पकेट क्षेत्र बनाउने प्रस्ताव गरेको बताउनुभयो । यस्तै वडाका कृषकलाई बोयर जातका बोका पनि वितरण गरिँदै आइएको छ । अहिले वडाले वितरण गरेका १३, गाउँपालिकाका दुई, एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयबाट वितरण गरिएका चार गरी चुनवाङमा १९ बोयर बोका छन् । यसबाटै आगामी वर्षमा ५० प्रतिशत बोयर जातका बोका र पाठी उत्पादन गर्ने लक्ष्य रहेको वडाध्यक्ष पुनले बताउनुभयो ।