औचित्यताका कसीमा दल र नेतृत्व : परीक्षण भइसकेको नेताबाट विकल्प असम्भव

औचित्यताका कसीमा दल र नेतृत्व : परीक्षण भइसकेको नेताबाट विकल्प असम्भव

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  असार २०, २०७८

राजनीतिक दल बन्ने पनि आ-आफ्नै प्रक्रिया हुन्छ । कुनै प्रतिपादित वा नयाँ सिद्धान्त र विचारलाई कार्यान्वयनका लागि दलहरूको निर्माण हुने गर्छन् । सिद्धान्त र विचारका आधारमा  निरन्तर क्रियाशील रहने राजनीतिक रुपमा सक्रिय  ब्यक्तिहरुको समूहले राजनीतिक दल बन्छ ।  दलहरू मूलतः मानव स्वभावको मत र सङ्गठनमा आधारित हुनुपर्ने हुन्छ । 

 दलहरूले आफ्नो शक्ति आर्जन र बिस्तारको लागि सदस्यहरू विस्तार गर्ने गरिन्छ । यिनै सदस्य मार्फत जनताको माझमा राजनीतिक दलहरू क्रियाशील हुने गर्छन्  । राजनीति मूलतः जनताको चेतना अभिवृद्धिमा केन्द्रित हुनु दलहरूको कर्तव्य हो । 

 तर आजको राजनीति जनताको चेतना अभिवृद्धिमा भने घट्दो क्रममा छ । दलको आवश्यकता र महत्त्व माथि पनि प्रश्न उठी रहेका छन् । भनिएका  प्रजातान्त्रिक दल मार्फत सत्तामा पुगेका नेताहरूलाई तानासाह सम्मको आरोप लागि रहेको छ । 

भनिन्छ, एक स्वतन्त्र देशमा लोकतान्त्रिक व्यवस्था लागु गर्न पनि राजनीतिक दलको अति नै आवश्यक  हुन्छ । लोकतन्त्र विना दल र दल विना लोकतन्त्र अगाडि बढ्नै नसक्ने मान्यता रहेको पाइन्छ ।  त्यस कारण पनि भनिएको हो  लोकतान्त्रिक देशका लागि दल नभई नहुने कुरा हो । नेपाल पनि दलीय  व्यवस्था भयको मुलुक हो । तर नेपालमा रहेका दलहरू दलका रुपमा  विकास हुनु भन्दा दलदलमा फसिरहेका छन् ।  देश  र जनताको पक्षमा काम गर्ने कुरामा दलहरू चुकिरहेका छन् । जसका कारण दलीय व्यवस्था र दलहरूको औचित्य माथि प्रश्न उठिरहेका छन् । 

 लोकतान्त्रिक शासन व्यवस्थाका लागी दल महत्त्वपूर्ण हुँदा हुँदै  नेपालको सन्दर्भमा राजनीतिक दलप्रति जनता बिस्तारै निराश हुन थालेका पाइन्छ । दलहरू प्रति आम जनता किन खुसी हुन सकिरहेका  छैनन् ? यस प्रति दलका नेताहरूको ध्यान गाइरहेको पाइँदैन ।  दलहरू असफल हुनुको प्रमुख कारण आन्तरिक हुन  कि बाह्य हुन भनेर पहिचान गर्न ढिला भइसकेको छ  । 

व्याक्तिबादी चरित्रका कारण  राजनीतिक दलहरू किन निकम्मा सावित भइरहेका छन् । दलहरूका गतिविधि हेर्दा  लोकतान्त्रिक व्यवस्था भयको देश हो भन्न अप्ठ्यारो महसुस हुन थालेको छ । लोकतन्त्रको आधार दलहरूले अलोकतान्त्रिक चरित्र प्रर्दशन गरिरहेका छन् ।

 जनता र दल बिच दुरी बढ्नु

जब जनता र राजनीतिक दलका बिचमा दुरी बढ्छ अर्थात् फाटो आउँछ त्यस बेला दलको औचित्य समाप्त हुन्छ ।  ‌ नेपाली जनता  कुनै पनि राजनीतिक दलका नेताहरूको गतिविधिबाट आजित भइरहेका छन् अर्थात् असन्तुष्टि जाहेर गरिरहेका छन् । यस्तै अवस्था रहिरहने हो दलीय व्यवस्था र दलहरू बिस्तारै असफल हुने पक्का पक्की छ । 

आन्तरिक द्वन्द्वको सिकार 

यो पनि दलहरू असफलको  प्रमुख कारण बनिरहेको छ ।  जब कुनै पनि दलले आन्तरिक द्वन्द्वको व्यवस्थापन गर्न सक्दैन र   आन्तरिक खिचातानी र अलमलमा मात्र होइन रुमली रहेका छन् । । अन्ततः त्यस्तो दल स्वतः असफल हुने नै हो  । किन भने द्वन्द्वलाई समयमा नै व्यवस्थापन भएन भने दलको  गतिलाई अवरुद्ध गर्छ । जब गति नै अवरुद्ध हुन्छ तब त्यस्तो दलले कुनै पनि काम गर्न सक्दैन । यो सर्वस्वीकार्य मान्यता पनि हो । 

 विचार विहीनता 

 अहिलेका कुनै पनि दलको प्रस्ट विचार अभावमा गुज्री रहेका छन् । सबै दलहरू भित्र यस्तो अवस्था सिर्जना हुनु आफैमा दुःखको कुरा हो । । त्यस्ता अवस्थामा दलहरू स्वतः विसर्जनको बाटोमा जानुको विकल्प हुँदैन । राजनीतिक दलको परिभाषालाई हेर्ने हो भने एडमण्ड वर्कका विचारमा 'राजनीतिक दल मानिसहरूको त्यो समूह हो जसले निश्चित सिद्धान्तका आधारमा आफ्ना संयुक्त प्रयत्नका माध्यमाबाट राष्ट्रिय हित गर्छन् ।' यस्ता थुप्रै परिभाषाहरू छन् जुन परिभाषाको कसीमा  नेपालका दल खरो उत्रन असफल भइरहेका छन् । 

 राष्ट्रियता प्रति बफादार र जनताप्रति इमानदार भर आफ्नो विचारहरूलाई कार्यान्वयन  दलको प्रमुख उद्देश्य हुनु पर्ने हो । तर  लोकतान्त्रिक युगमा दलले जनताको मन र मस्तिष्क जित्नु पर्नेमा दल प्रति असन्तुष्टिको चुली चुलिँदै गएको छ । यति हुँदाहुँदै पनि दलहरू आफ्ना कमीकमजोरीको  समीक्षा गर्न तयार देखिँदैनन् । 

 राजनीतिक दलले  इमानदार, लगनशील, दृढ भएर विकास निर्माणका काममा अग्रसर हुनुपर्ने  जिम्मेवारीबाट विमुख भइरहेका छन्  । नेपालका वर्तमान दल र नेताबाट भावी  पुस्ताले  के सिक्ने ? भन्ने गम्भीर प्रश्न उठिरहेका छन् । राजनीतिलाई राज्य दोहन अर्थात् माध्यम बनाइरहेका छन् ।

राजनीतिक दल कुनै पनि ब्याक्तिलाई सत्तामा पुर्‍याउने  भर्‍याङ बन्नु  केही हदसम्म स्वाभाविक मान्न सकिएला तर यसरी सत्तामा पुगेर  राजनीतिक दलको औचित्य समाप्त गर्न उद्यत भएर लाग्ने परिदृश्य पनि देखिन थालेका छन् । यस्तो नेता नेतृत्वबाट  न परिवर्तन सम्भव छ न स्थायित्व नै । 

वर्तमान समस्या र निकास 

 प्रतिनिधि सभा विघटन गरेर अध्यादेश मार्फत सरकार सञ्चालन गर्ने डर लाग्दो  परम्पराको थालनी भएको छ । सरकारको नेतृत्व गरिरहेका केपी ओली पार्टीको आन्तरिक द्वन्द्व सम्हाल्न  सकिरहेका छैनन्   । पार्टी नफुटाउने न जुटाउनै सक्ने अवस्थामा रहेका छन् । प्रधानमन्त्रीमा  ओलीको  विकल्प खोज्ने  माधव, प्रचण्ड वा देउवाको यो कुनै  विचारको द्वन्द्व नभई सत्तामा भागबन्डा मामला मात्र हो । त्यसलाई  विधि, पद्धतिको जलप मात्र लगाइएको छ । घटना क्रमले  नितान्त व्यक्तिगत कुण्ठा,इगो र सत्ता मोहलाई प्रमाणित गरिरहेको छ । 

पाँच वर्षका लागि जनताले जनमत दिएर पठाएका जनप्रतिनिधिहरू व्यक्तिगत कुण्ठाका कारणले जनताको मतलाई बिना सङ्कोच लत्त्याइरहेका छन् । अर्थात् अर्को भाषामा  भन्ने हो भने नेपाली राजनीतिको प्रमुख समस्या भनेको नै 'व्यक्तिवाद' का रुपमा देखिँदै आएको छ । 

व्याक्तिबादी चरित्रका कारण  राजनीतिक दलहरू किन निकम्मा सावित भइरहेका छन् । दलहरूका गतिविधि हेर्दा  लोकतान्त्रिक व्यवस्था भयको देश हो भन्न पनि अप्ठ्यारो महसुस हुन थालेको छ । लोकतन्त्रको आधारशिला दलहरूले अलोकतान्त्रिक चरित्र प्रर्दशन गरिरहेका छन् । राजनीतिक विश्लेषक मेरियमका अनुसार  'राजनीतिक दलको कार्य भनेको चुनाव गराउने, सरकार सञ्चालन र त्यसको नियन्त्रण गर्नु, राजनीतिक शिक्षा दिनु र जनता र सरकारकारबिच समन्वय कायम गर्नु हो ।'  यो परिभाषाको ठिक विपरीत अहिलेका दलका गतिविधि केन्द्रित  छन् । जनतालाई राजनीतिक चेतना दिने दलहरू आज भ्रष्ट्राचारमा लिप्त र  व्यस्त रहँदै आएका छन्,  सरकार सञ्चालन गर्ने दलहरू बिस्तारै नलाएकी प्रर्दशन गर्दै छन् । 

 फलामले फलाम काट्छ भने जस्तै  फेरी पनि लोकतन्त्रको विकल्प भनेको  लोकतन्त्र मात्रै हो । अतः दल र नेताको विकल्प जनताले नै खोज्ने हो । केपी ओलीको विकल्प माधव, प्रचण्ड, शेर बहादुर, बाबुराम मात्र  होइनन् । लोकतन्त्रमा सत्ता निरङ्कुश भयो भने त्यसको विकल्प जनताले  रोज्न पाउनु पर्छ कि परीक्षण भइसकेको नेता विकल्प हुन सक्दैनन् ।