पहिरो गएको ११ महिनापछि अस्थायी आवास बन्दै लिदीमा

पहिरो गएको ११ महिनापछि अस्थायी आवास बन्दै लिदीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २१, २०७८

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाँउपालिका–१ लिदीका पहिरोपीडितले पहिरो गएको ११ महिनामा अस्थायी अवास पाउने भएका छन् । आफ्नो पुख्र्योली थलो छाडेर बाँसखर्कमा त्रिपालमुनि जीवन गुजारिहेका पीडितहरुले निजी क्षेत्रको सहयोगपछि अस्थायी आवास पाउने भएका हुन् ।

हिउँदमा हिमालको सिरेटोको कठ्याङ्ग्रिँदो चिसो र हावाहुरीले त्रिपाल उडाएको सास्ती खेपेका पीडितले अहिलेको बर्खा समेत सोही झुत्रो त्रिपालमा बिताई रहेका पिडीतहरु इतिबेला भने आशा पलाएको बताउँछन् । लिदीवासीको अवासका लागि क्रिकेटर सन्दिप लामिछानेको टिमले जस्तापाता र फलामे डण्डी उपलब्ध गराएपछि नेपाली सेनाले अस्थायी आवास निर्माण थालेको छ । नेपाली सेनाका ५१ जनाले अस्थायी आवास निर्माण सुरु गरेको हो । आवश्यक सामाग्री उपलब्ध भए २५ दिनभित्रै ४० वटा आवास निर्माण गरिसक्ने सेनाको योजना छ । क्रिकेटर लामीछानेले केही दिनअघि २४ बण्डल जस्तापाता र ६५ थान फलामे डण्डी सहयोग गर्नु भएको थियो ।

गत आइतबार विश्व साहसी समावेशी संस्था र सिन्धु पर्यटन परिषदको सहयोगमा ५०० थान जस्तापाता उपलब्ध गराएको छ । जस्तापानासँगै पाँच वर्षमुनिका ३० जना बालबालिकाका लागि सर्वोत्तम पिठो र ट्रयाक सेट, महिलाका लागि ३० सेट कपडा, केही औषधि र ४० थान त्रिपालसहितको सामग्री सहयोग गरिएको परिषद्का महासचिव मिलन तामाङले बताउनु भयो ।

आफूहरुसँग विपद् व्यबस्थापनका लागि पर्याप्त रकम नहुने भएकाले दाताकै भरमा पीडितको व्यवस्थापन गर्दा केही ढिला हुन गएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताउनु भयो ।

पहिरोको विस्थापित भएको ११ महिना पूरा हुन लाग्दा पनि उनीहरुका नाममा गाउँपालिका र वडा विपद् व्यवस्थापन समितिको खातामा जम्मा भएको रकम पीडितको हितमा खर्च भएको छैन । निजी क्षेत्रले केही सामग्री र सेनाको जनशक्तिले आवास निर्माण गर्न थालेपछि मात्रै गाउँपालिकाले केही थान फलामे डण्डी र बालुवा, सिमेन्टलगायत सामग्री जुटाएको छ ।

गत साउन ३० गते लिदीमा गाउँमाथिबाट झरेको पहिरोले ११ घर पुरिँदा ३९ जनाको मृत्यु भएको थियो । पहिरोले बस्ती नै जोखीममा परेपछि १७२ घर विस्थापित भएका थिए । उनीहरु सोही वडाको बाँसखर्कको खाली जमिनका त्रिपाल हालेर बसिरहेका छन ।