बर्दिबास नगरपालिका क्षेत्रमा नापी प्रक्रिया शुरु

बर्दिबास नगरपालिका क्षेत्रमा नापी प्रक्रिया शुरु

लोकसंवाद संवाददाता  |  समाज  |  असार २१, २०७८

महोत्तरी । पुस्तौँदेखि जोतभोग र भोगचलन गर्दै आएका बर्दिबास नगरपालिका क्षेत्रभित्रका बसोबासीलाई जग्गा उपलब्ध गराउन बर्दिबास नगरपालिका क्षेत्रमा नापी प्रक्रिया शुरु भएको छ । 

महोत्तरी जिल्लाको सबैभन्दा बढी भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास भएको नगरपालिका क्षेत्रभित्रका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई एक पटकका लागि घर, घडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउनका लागि नगरपालिकाले नगरक्षेत्रमा नापी प्रक्रिया अगाडि बढाएको नगर प्रमुख विदुरकुमार कार्कीले बताउनुभयो । नगरपालिकाले पनि आयोगको समन्वयमा आफ्ना १४ वटै वडामा  सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पहिचान गर्नका लागि जग्गा नापजाँच प्रक्रियालाई तीव्र गतिमा अगाडि बढाएको नगर प्रमुख कार्कीले थप्नुभयो । 
     
विसं २०७७ मङ्सिर २४ गते भूमिसम्बन्धी समस्या सावधान आयोग र नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर साकिएलगत्तै नगरपालिकाभित्रका भूमिसमबन्धी आधारभूत स्थितिको अध्ययन भएको थियो । ३५ दिनभित्र लगत सङ्कलन सकेर सम्पूर्ण तथ्याङ्क पठाइसक्ने सम्झौता अनुसार त्यो भन्दा अगावै सम्र्पूण लगत सङ्कलनको कार्य सकी सम्बन्धित कार्यलयमा पठाइसकिएको र असोज मसान्तभित्र सम्पूर्ण प्रमाणीकरण सकी धनिपुर्जा जनताको हातहातमा वितरण गर्ने लक्ष्य रहेको जनाइएको छ ।   

नगरस्तरीय सहजीकरण समिति र वडास्तरीय सहजीकरण समिति गठन गरी कोरोना महामारीको बीचमा भएको निषेधाज्ञामासमेत दूरी कायम गरी नगरपालिकाले नापी प्रक्रियालाई निरन्तरता दिँदै आएको छ  । लगत सङ्कलन र प्रमाणीकरणको कार्य पूरा भई नापी कार्यले तीव्रता पाएपछि स्थानीयवासी खुशी देखिएका छन् । 

नगरपालिकाभरिका जनप्रतिनिधिले चुनावी अभियानमा पनि अव्यवस्थित बसोबास र वर्षौदेखि उपभोग गर्दै आएका सर्वसाधारणलाई धनिपुर्जा दिलाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नगरपालिकाले विवरण सङ्कलनका लागि ३० वटा गणकलाई खटाएको छ भने अहिले वडा न ६ को सम्र्पूण नापजाँच कार्य सम्पन्न भइसकेको छ ।

त्यस्तै वडा न १, ३, ४, ५ र ११ मा एकैसाथ नापी कार्य र जिआइएस म्यापमा प्रविष्ट गर्ने कार्य भइरहेको छ । जनप्रतिनिधि स्वयम् जग्गा नापीमा संग्लन प्राविधिकलाई बीचबीचमा देखिने विवाद समाधान र सहजीकरणको लागि सँगै खटिरहेका छन् । 
    
बर्दिबास नगरपालकाभित्र अहिले नौ हजार ४५९ फारमबाट विवरण समावेश भएको छ भने दुई हजार ५६८ कित्ता नापजाँच सम्पन्न भइसकेको छ । उक्त तथ्याङ्कलाई कम्प्युटरमा इन्ट्री गर्ने काम भइरहेको छ ।