हिन्दुका स्वनामधन्य गुरुकाे चेतनामै सन्देह : सन्दर्भ कालीगण्डकी डाइभर्सन

हिन्दुका स्वनामधन्य गुरुकाे चेतनामै सन्देह : सन्दर्भ कालीगण्डकी डाइभर्सन

ज्ञानमित्र  |  दृष्टिकोण  |  असार २२, २०७८

धर्मनगरी हरिद्वारमा महाकुम्भ थियो। यसपटक अर्थात् २०२१ को नभएर सन्  २०१० को महाकुम्भ चलिरहेको थियो। एक साँझ मित्र नवीन शर्माले भने, 'महाराजजी हिज होलिनेस दलाई लामाजी ऋषिकेश आउँदै हुनुहुन्छ।' उनले समाचारपत्र पढेर थाहा पाएका रहेछन्।

म बसेकै शहरको नजिक अवलोकितेश्वर बुद्ध, 'लिभिङ बुद्ध अन अर्थ'को आगमन होस् र म दर्शन हेतु नजाऊँ, यो प्रश्न नै हुँदैन। म तुरुन्त आफू बसिरहेको महाकुम्भ क्याम्पको अधिपति महामण्डलेश्वर स्वामी श्री विद्या चैतन्यजीको कक्षमा पुगेँ।

'स्वामीजी, मलाई अहिले नै चन्द्रा स्वामीजीलाई भेट्न जानुपर्‍यो।' 

'क्यों ? क्या बात है महाराजजी, क्या कोई खास बात है ?'

'नहीं महाराजजी! बात कोई खास नहीं, मुझे कल ऋषिकेश जाना है। शायद, कल उधर ही रहना पडे।  इसलिए स्वामीजीको सूचित एवं आज्ञा लेनी है।'

उनले फोन गरी ड्राइभरलाई बोलाएर भने, 'महाराजजी को लेकर जाइये।'

म २० मिनेटमै  चन्द्रा स्वामीको कक्षमा थिएँ।  

'स्वामीजी, मुझे कल ऋषिकेश जाना है। शायद, देर हो जाए उधर ही रुकना पड सकता है।'

'क्या बात है अच्युतानन्दजी, क्या कोई खास वजह है ?'

'महाराजजी, कल दलाई लामाजी ऋषिकेश आ रहे है। मै उनके दर्शन करना चाहता हूँ।'

'अच्छा, यह बात है।  चिदानंदजी ने मुझे भी निमन्त्रण भेजा था लेकिन कल मेरे कुछ मेहमान आ रहे है। इसलिए मै नहीं जा पाऊंगा। आप जाइये, संतो के दर्शन करना परम सौभाग्य से प्राप्त होता है। चिदानंदजी ने ही दलाई लामाजीको आमंत्रित कर बुलाया है। वह अपने स्वामी चिन्मयानंदजी के गुरु भाइ है। मै उनको फोन कर परमार्थ निकेतन आश्रम में ही आपके रुकने की व्यवस्था एवं लामाजी से मिलने की व्यवस्था करवा देता हूँ।'

'नहीं महाराजजी, मै दलाई लामाजी के दर्शन सर्वसाधारण व्यक्ति की भाँती करना चाहता हूँ। दूर से उन्हें मंच से बोलते हुए  सुनना चाहता हूँ ।'

'ठीक है। हो सके तो देर रात तक लौट आइयेगा नहीं तो परसो सुबह ही वापस आ जाइएगा। परसो दोपहर में प्रीति जिंटा मिलने के लिए आ रही है। विद्या चैतन्यजी की गाडी आप लेते जाइएगा, मै उन्हें दूसरी गाडी भिजवा दूँगा।

दोस्रो पटक दलाई लामाको दर्शन हुन गइरहेको थियो।

'हिन्दुहरू गंगालाई आमा भन्छन्। अब गंगा आमा हो कि सानीआमा, मलाई यसबारे केही थाहा छैन।  मलाई यति मात्रै थाहा छ, नदी भनेको जीवन हो। नदीबिना हामी जीवनको कल्पना पनि गर्न सक्दैनौँ। मानवले नदीको संरक्षण र संवर्द्धन नगरे नदीको स्वास्थ्य र आयु जस्तै नियति मानवले पनि भोग्नुपर्छ। गंगा हिन्दुहरूको पवित्र नदी भएर अथवा  धार्मिक मान्यताअनुसार आमा भएका कारण जोगाउनुपर्छ भन्ने होइन, यो प्राणीहरूको जीवन चक्रको महत्त्वपूर्ण पाटो हो। यो पाटो दूषित भए अथवा समाप्त भए त्यसको असर सम्पूर्ण प्राणीमा पर्छ। गंगा मात्र होइन, संसारका सबै नदीको संरक्षण गर्नु मानव जातिको पहिलो काम र कर्तव्य हो। यो नगरे नदीसँगै सती जानुपर्ने हुन्छ।'

आज दलाई लामाको ८६औँ  जन्म दिवस (जन्म ६ जुलाई १९३५)मा उहाँलाई सम्झिने गजबको संयोग भयो।

हाल नेपालमा एउटा नदी (काली गण्डकी)को 'डाइभर्सन'लाई लिएर कोहरामकै स्थिति छ। आरोप-प्रत्यारोपको भद्रगोलमा वास्तविकता के हो, डाइभर्सन के हो, यसको आवश्यकता-उपयुक्तता के हो? सर्वसाधारणले बुझ्नै सक्दैनन्।

मानव शरीर जस्तै सम्पूर्ण पृथ्वीरूपी स्त्रीको शरीरको तापमान हुन्छ । मानव शरीरको तापमान ३६.५ देखि ३७.५ डिग्री सेन्टिग्रेड निर्धारित छ। यसभन्दा तल (हाइपोथर्मिया) अथवा माथि (फिवर हाइपरथर्मिया) अथवा हाइपरपिरेक्सिया दुवै स्थिति मानव स्वास्थ्यलाई हानिकारक छन्। मानव स्वास्थ्य भनेको १ डिग्री सेन्टिग्रेड (३६.५ -३७.५ )को खेल हो।

पृथ्वीको औसत तापक्रम  १४ डिग्री सेन्टिग्रेड स्वस्थ अवस्था हो। अहिले पृथ्वीको औसत तापक्रम  झण्डै १ डिग्री बढेर १५ डिग्री सेन्टिग्रेड हुन  पुगेको छ।

अध्ययनअनुसार संसारमा झण्डै २ लाख ठूला हिमनदी (ग्लेसियर) छन्। अधिकांश नदीको उद्गम यिनै ग्लेसियरबाट हुन्छ। मानिसको शरीरमा ज्वरो आउँदा शरीरका द्रव्य लुप्त भएजस्तै पृथ्वीको शरीरमा तापमान वृद्धि हुँदा ग्लेसियर पग्लिँदै गइरहेका छन्। ग्लेसियर पग्लिनुको अर्थ नदीको स्रोत खुम्चिँदै गईरहेका छन् भन्ने हो। गंगोत्री पुग्नुभएको छ तपाईंहरू? केही वर्ष अगाडिसम्म गंगाको महान् गंगोत्री नै थियो। तर, गंगा ग्लेसियर पग्लिने क्रममा पछि सर्दैसर्दै गंगाको मुहान १८ किलोमिटर पर गौमुख हुन  पुगेको छ। यो ग्लेसियर अझै पग्निले क्रममा छ।

दक्षिणी ध्रुव र उत्तरी ध्रुवमा तापक्रम बढेर (१८ डिग्रीसम्म पुगेको अनुमान  ठूलठूला हिमखण्ड टुटेर जाने क्रम प्रारम्भ भइसकेको छ। हिमालयका ग्लेसियर पनि तीब्र गतिले पग्लिने क्रममा छन्। वैज्ञानिक भन्छन्, 'सन्  २१०० सम्म संसारका ८० प्रतिशत ग्लेसियर विलुप्त हुन्छन्। एक अनुमानअनुसार अहिले संसारभरि प्रत्येक दिन ११ अर्ब टन ग्लेसियर पग्लिँदै  छन्।'

नेपालका मूढ धार्मिक गुरुहरू आउने ४०-५० वर्षमा नेपालका अधिकांश नदी बर्खे नदीमा परिणत हुन्छन्। शालिकग्राम शालिकग्रामको रट्टा लाउने तिमीहरू आफैँ शालिकग्रामझैँ 'फोसिल'मा परिणत हुन्छौ। अब आउने समयमा ती नदी मात्र अस्तित्वमा रहन्छन्, जसलाई आधुनिक विधिले संरक्षित गरिन्छ। कालीगण्डकी नदीको सभ्यताको कुरा गर्नेले बाग्मती सभ्यताबारे कुरा गर्नु नि ! खै कहाँ छ बाग्मती सभ्यता? किन लुप्त विलुप्त भयो बाग्मती सभ्यता ?

कालीगण्डकी डाइभर्सनको विरोध गर्ने मूर्ख हुन्, त्यसमा पनि धार्मिक कारणले विरोध गर्ने पटमूर्ख हुन्। हो, सरकारले अहिले जुन पाराले 'रनिङ रिभर' डाइभर्सनको योजना गरेको छ, त्यसको आलोचना गर्नुपर्छ। कालीगण्डकीमा रामदीभन्दामाथि कतै ठूलो परिमाणको 'रिजर्भ्वायर' नबनाई डाइभर्सनको कुनै औचित्य हुँदैन। बर्खामा आएको पानीको भेलको  संचिती गरेर मात्र नदी जोगाउन सकिन्छ।

आउने समयमा तिनै नदीको अस्तित्व मात्र रहन्छ, जुन नदीमा 'रिजर्भ्वायर' निर्माण गरेर बरखाको भेल संचिती गर्ने उपाय गरिन्छ नत्र सबै नदी बाग्मती नदीकै नियतिमा पुग्छन्।

कालीगण्डकी नदीको पथान्तरणको विरोध गर्नु आवश्यक छैन। विरोध गर्ने मानिस आआफ्नो सीमित र संकुचित लोभपासले संचालित छन्। तर, बर्खाको भेलको संचिती गर्ने उपाय नगरेसम्म डाइभर्सनको कुनै तुक वा उपयोगिता छैन। हिन्दु धर्मका तथाकथित स्वनामधन्य ठेकेदारहरूले सभ्यता, संस्कृति र धार्मिक पक्षको वकालत गरेर डाइभर्सनको विरोध गरेको देख्दा यिनीहरूको चेतनामै सन्देह हुन्छ। लाग्छ, यिनीहरू चेतनाको नभएर पदार्थका उपासक हुन्।

दलाई लामाको विषयमा जानकारी लिन खोज्नुस् त ! उहाँ वातावरण, अर्थशास्त्र, महिला अधिकार, अहिंसा, 'इन्टरफेथ डायलग', भाैतिकशास्त्र, ज्योतिषशास्त्र, बौद्ध दर्शन र विज्ञान, 'कोग्निटिभ न्युरो साइन्स', प्रजनन् स्वास्थ्य र लैंगिकतालगायत विभिन्न विधाको प्रखर वक्ताका रूपमा अन्तर्राष्ट्रियस्तरमै चिनिनुहुन्छ। र, एक पटक हिन्दु धर्मका स्वनामधन्य गुरुका बारेमा अनुसन्धान गर्नुहोस्, उनीहरूको योग्यता र दक्षता के र कुन विषयमा छ?