सुपरओभरमा हैदरावादलाई हराउँदै मुम्बई प्लेअफमा

सुपरओभरमा हैदरावादलाई हराउँदै मुम्बई प्लेअफमा

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २०, २०७६

मुम्बई । सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेपछि मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा पुगेको छ । 

यससँगै मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल प्लेअफ पुगिसकेका छन् ।

सुपर ओभरमा हैदरावादले दिएको ९ रनको लक्ष्य मुम्बईले ३ बलमै पूरा गर्यो । मुम्बईका हार्दिका पाण्ड्याले २ बलमा १ छक्कासहित ७ रन र क्यारोन पोलार्डले २ रनको योगदान दिए । 

त्यसअघि हैदरावादले मनिष पाण्डे र मोहम्मद नाभीलाई सुपर ओभरमा ब्याटिङ गर्न पठाएको थियो । बलिङको जिम्मेवारी भने जसप्रित बुमराहले पाएका थिए । सुपरओभरको पहिलो बलमै मनिष १ बनाएर रन आउट भए । त्यसपछि क्रिजमा आए, मार्टिन गप्टिल । दोस्रो बलमा उनले १ रन मात्रै जोड्न सके । तेस्रो बलमा नाभीले छक्का प्रहार गरे । तर, चौथो बलमा उनी सट प्रहार गर्न सफल भएनन् । उनी सट प्रहार गर्न खोज्दा क्लिन बोल्ड भए । 

मनिष पाण्डेले अन्तिम बलमा छक्का प्रहार गरेपछि हैदरावादले मुम्बईसँग स्कोर बराबरी गरेको थियो । हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । 

त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६२ रन जोडेको थियो । 

अंकतालिकामा दोस्रो 

जितसँगै मुम्बई अंकतालिकामा एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईको १३ खेलबाट १६ अंक छ । 

यसअघि दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल भने तेस्रो स्थानमा झरेको छ । मुम्बईसँग समान अंक भए पनि रनरेट कम हुँदा दिल्ली एक स्थान तल झरेको हो । दिल्लीले पनि १३ खेल नै खेलेको छ । 

अंकतालिकाको शीर्ष स्थानमा चेन्नई सुपर किंग्स कायमै छ । समान खेल खेलेको चेन्नईको १८ अंक छ । 

यससँगै मुम्बई प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । यसअघि चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल प्लेअफ पुगिसकेका छन् ।