फेरिएको ग्रामीण प्रेमको परिभाषा: कृत्रिम कृषिमा असार पन्ध्रको विकृत रूप

फेरिएको ग्रामीण प्रेमको परिभाषा: कृत्रिम कृषिमा असार पन्ध्रको विकृत रूप

बम बानियाँ  |  दृष्टिकोण  |  असार २३, २०७८

समय रहेछ युग । एउटा समय अर्थात् एउटा युगको एउटा स्मरण यहाँ उल्लेख गर्ने कोसिस गरिएको छ । यो कुनै सुदुर समयको संस्मरण भने होइन । डेडदुइ दशकबिचको विषय हो । समयको गतिसँगै विज्ञान र प्रविधिको आगमनले नेपालमा पनि ०६२/०६३ पछि ह्वात्तै गाउँ सहर र वस्तिहरूमा नयाँ नयाँ रूप देखिन थाले ।  मोबाइल फोन बोक्ने र 'रिसिभ' कलमा पनि पैसा काटिने समय हामीले भोगे कै हो । बिस्तारै मोबाइल हरेक मानिसका हात हातमा पुग्यो । मानिसहरूले एक दिन धाएर जिल्ला सदरमुकाम पुगेर घण्टौँ लाइनमा पालो कुरेर एक पटक देश विदेशमा रहेका आफन्तहरूसँग टेलिफोनमा बोलेर कुराकानी गर्नु पर्ने बाध्यता हटेको पनि धेरै समय भएको छैन । कोही कोहीले  त आफ्नो पालोमा प्राविधिक कठिनाइ भएर  बोल्न  नै  नपाइ घर फर्किएकाहरू कति हो कति ? 

यो समय काल भन्दा केही अगाडि प्रेम पत्रको निकै रोचक युग थियो । आफूले मन पराएको मान्छेलाई पत्र लेख्ने । विद्यालय जीवनको करिब नौ दश कक्षादेखि क्याम्पस जीवनमा यो प्रसङ्ग बढी नै चल्थ्यो । आफूले मन पराएको मान्छेलाई कसरी आफ्नो प्रेम व्यक्त गर्ने ?  फेरि आफूले मात्रै मन पराएको तर उसले आफूलाई मन नपराएको रहेछ भने के गर्ने ? अथवा आफूले मन पराएकोलाई अरूले नै मन पराएको रहेछ भने के गर्ने ? जस्ता युवा अवस्था र  प्रेमका प्रसङ्ग हुने गर्थे  ।

सबैभन्दा कठिन चाहिँ चिठ्ठी कसरी पठाउने भन्नेमा नै हुन्थ्यो । अर्को महत्त्वपूर्ण रहस्य चाहिँ के हुन्थ्यो भने आफूले नपराएकोले अरु कसैलाई मन पराउने या आफूलाई मन नपराउने कुराले  धेरै जटिल अवस्था सृजना हुने गर्दथ्यो ।  प्रेम गर्ने भन्ने कुरा धेरै जटिल हुने गर्दथ्यो  त्यो उमेर समूह र समयमा । 

पत्र पठाउनलाई एक जना विश्वास पात्र चाहिन्थ्यो जो दुबैपटीको सारनतारन मिलाउन जान्ने । पहिला आँखा आँखाको मिलन र साङ्केतिक प्रेमील भाषाको प्रयोग हुन्थ्यो । पछि पक्कै पनि यो सङ्केत राम्रो हो भन्ने लागेपछि सहजकर्ताको काम आउँथ्यो । कसै कसैले त कोही सहजकर्ता नभेटेपछि कोठा या घरमै पुगेर झ्यालको प्वालबाट छिराइराखेर फर्किन्थे । कतिपय सहजकर्ताको पनि विश्वास नै नहुने । आफैँले खोलेर पढ्ने, च्यातिदिने या आफै लाइन मार्ने पनि हुन्थे।

यी कठिनाइ पछिको प्रेम प्राप्तिको मिठास नै बेग्लै । स्वाद नै बेग्लै । पत्रमै कविता हुन्थे, कथा कोरिन्थे । उपन्यासका कयौँ  पल्टहरु प्रेमकथामा मै हुन्थे ।  विशेष गरी सामाजिक सञ्जाल फेसबुक, इन्स्ट्राग्रम, ट्विटर आउनु जस्ता अगाडिका कुरा हुन यी । र नेपालमा जनयुद्ध सुरु हुनुभन्दा ठिक अगाडिको अवस्थाको प्रसङ्ग हो । जब जनयुद्ध सुरुवात भयो । युवाहरूको प्रेम परिभाषा नै फेरियो । प्रेम र युद्ध, छापामारका डायरीहरूमा, रुसी र चिनिया क्रान्तिका कथाहरू, प्रेम प्रसङ्गमा जोडिन थाले । यो भित्रको प्रेमको छुटै अन्तर बस्तुहरू छन् । जो अध्ययन र रहस्यकै विषय बनेका छन् । कुनै दिन थप आउनेछन् । 

हिजोका ती रोपाइहरूमा सामूहिक  खेतीको एउटा नमुना नै हुन्थ्यो । आमाले गहुँका मोटा रोटी र आलुको दम चाना बनाएर रोपाहार बाउसेलाई खाजा लानुहुन्थ्यो । रोपाइ सकेपछि मैझारोमा हिलो खेलेको हेर्न पनि कति मज्जा हुन्थ्यो । असारको झमझम वर्षा र कुहिरो लागेको मौसम, घुम ओढेर रसिया गीत गाउँदै गरेको आवाज, टवार‍‍‍.... टवार..... भ्यागुताको सङ्गीत र झ्याउँकिरीका गीतले क्या तरङ्ग दिन्थ्यो ।

त्यो भन्दा अगाडि अर्थात् काका बाउको समयको एउटा प्रेमप्रदसँग हो पूर्वी पहाडको भाका संस्कृति । यो पनि बेजोड गज्जबको संस्कृति थियो । यो लोप भई सकेको छ । तर मेरो खोजेर लेख्ने धोको भने बाँकी नै छ । जहाँ गाउँको छेउछाउ अलि पर पाउने ओडार, जङ्गल, गुफामा बसेर रोटी रक्सी, चाम्रे खाँदै जुहारी गीत गाउने संस्कृति । गीतमा हारजितको बाजि नै राखेर गाउने । कतिपय त माया प्रेम बसेर यही भाकाबाट बिहेवारि पनि हुने गरेको थियो । तर निकै अनुशासित संस्कृति थियो यो भन्ने अहिलेका बजारका प्रेम प्रसङ्गले देखाउन थालेका छन् । 

समय बदलियो । पालुवाहरू फेरिए । सञ्चार जगत्ले संसार एउटा हाते फोनमा खुम्च्याइ दिएको छ । सामाजिक सञ्जालका विभिन्न एप्सहरु फेसबुक, टिकट, ट्विटर, युट्युब, इन्स्ट्राग्रम आदिले प्रेमको परिभाषा नै बदलिदियो । छिनभरमै माया प्रेम बस्ने र 'ब्रेक'  हुने । ती पत्र चारका समय कहाँ गए । एसएमएस मै प्रेम वियोगका छोटा कथाहरूको जन्म भयो । टिकटकले नयाँ कला संस्कृति र विकृतिका धेरै रूप एकैसाथ लिएर आयो । फेसबुकको त धेरै चर्चा अगाडि नै भई सकेको छ । 

कृषिको संस्कृति त झन् बहुत रफ्तारमा बदलियो । अर्मपर्म गरेर खेती गर्ने आत्मनिर्भर नेपाली किसानहरूको खेती अहिले दिनानुदिन परनिर्भर बन्दै गएको छ । 

कृषिमा प्रविधि र आधुनिकीकरणको नाउँमा बजेट धरै खर्च भए पनि आम किसानहरूको जीवन र नेपाली उत्पादनको क्षेत्रले नेपालीलाई एक छेउ पनि धान्न सकेको छैन । पर्म लगाउँदै असार साउनमा खेतीमा लाग्ने युवाहरू शतप्रतिशत विदेशमा गएर रेमिट्यान्सले देश र गाउँघर धान्दै छन् । हाम्रो कामको संस्कृति फेरिएको छ । खेतबारी बाँझै छन् । भैँसी दुहुना छैन । घिउ मही पाउँदैन । मकै भटमास भुटेर खाने चलन छैन । रोपाइको संस्कृति बदलिएको छ । हिजोका ती रोपाइहरूमा सामूहिक  खेतीको एउटा नमुना नै हुन्थ्यो । आमाले गहुँका मोटा रोटी र आलुको दम चाना बनाएर रोपाहार बाउसेलाई खाजा लानुहुन्थ्यो । रोपाइ सकेपछि मैझारोमा हिलो खेलेको हेर्न पनि कति मज्जा हुन्थ्यो । असारको झमझम वर्षा र कुहिरो लागेको मौसम, घुम ओढेर रसिया गीत गाउँदै गरेको आवाज, टवार‍‍‍.... टवार..... भ्यागुताको सङ्गीत र झ्याउँकिरीका गीतले क्या तरङ्ग दिन्थ्यो । अहिले सम्झिदा पनि मनै उदेसित हुन्छ ।

अचेलका असारहरू हेर्छु धेरै कृत्रिम असार देख्छु । वर्षमा एक दिन (असार पन्ध्रमा)  किसान बनेर मनोरञ्जन गर्ने नेतृत्वहरूको हर्कत देख्दा आफ्नो देसलाई कृषि प्रधान देश भन्न पनि लाज लाग्छ । हजुर आमाले असारको सुरुवाले मङ्सिरको चोर भन्नुहुन्थ्यो त्यस्तै टाई सुट नै लगाएर वरिपरि पत्रकार लिएर खेतबारीमा पस्ने नेताहरूका जनता बनेका छौ हामी । हामी जे पनि सञ्चार माध्यममा आउन गर्ने सौखिन र अवसरवादी बन्दै छौ । भोलि हाम्रो कृषि प्रणालीमाथि नै निकै ठुलो सङ्कट हामी आफैले निम्त्याउदैछौ ।

आम किसानमाथि एक दिन मन्त्री गएर हिलोमा पस्नुले के सन्देश दिन्छ ? हिलो खेल्ने बहानामा कुनै समय यौवन दुर्ब्याबहारको नाउँमा मन्त्रीको पद नै चैट भएको थियो । अहिले पनि असार पन्ध्रको हिलोमा थुप्रै यस्ता विकृत रूपहरू देखिएका छन् । हामी वास्तविक किसान हैन कृत्रिम कृषिमा रमाउदैछौ यो अवश्य पनि हाम्रा लागि राम्रो सन्देश होइन । यो कृषि प्रेमको सुन्दर भविष्य होइन । 

असारे विकास  (गर्ने होइन सक्ने) को त कुरै नगरौँ । वर्षा लागेपछि एक  वर्ष नभएका पचहत्तर प्रतिशत काम असार लागेपछि एक महिनामा सकिन्छन् । म यो आर्थिक वर्षको घोर विरोधी हुँ तर यसको रहस्य रहेछ यो सदियौँदेखि बदलिएको छैन । एउटा रहस्य जिरो समयमा मिलाएर खाने अर्को रहस्य सबै बजेट खर्च नगर्ने किनकि बजेट फ्रिज भयो भने तर्को वर्षलाई बजेट थप गर्न सहज हुँदो रहेछ । 

 अहिले गाउँ गाउँमा  डिउ र कोकाकोला पुगेको छ ।  भौतिक विकासको नाउँमा  बाटो पुगेका छन् । लाखौको बजेटले निर्माण गरेको बाटोमा दुई पाङ्ग्रे चार पाङ्ग्रे भने खासै गुड्दैनन् । नगरपालिका र गाउँपालिकाका वडाहरूसम्म पुग्ने बाटोहरू गाडी र बाइक फसेका दृश्यहरूले सामाजिक सञ्जालमा आलोचित बनेका छन् जनप्रतिनिधिहरू । गाउँ गाउँमा टावर संस्कृति बहुत बढेको छ ।

पर्यटन र कृषिको नाउँ लिँदै करोडौँका टावरहरू डाँडा डाँडामा बनेका छन् कोही बन्दै छन् तर त्यो  कृत्रिम मनोरम पर्यटकीय क्षेत्र भनिएका ठाउँमा स्थानीय उपभोक्ताहरू कति घुम्न जान सक्ने छन् यो गम्भीर प्रश्न बनेको छ। मानिस जब आत्मनिर्भर बन्न सक्दैन मनोरञ्जन उसको आकाशकै कथा हुन्छ । उत्पादन पहिलो सर्त हुनुपर्छ आत्मनिर्भरताको लागि । अहिले पनि सामान बोकेर ट्याक्टर गाउँ पुग्छ फिर्दा रित्तै फिर्छ हिन्दी गीत घन्काउँदै । जबसम्म हामीले त्यो ट्याक्टरमा हाम्रा उत्पादन पठाउँदैनौ हामी उपभोगमुखी  र झन् कङ्गाल हुँदै जानेछौ । अव त झन् हाम्रा उत्पादनहरूको महत्त्व यति धेरै बढ्दै जाँदै छ कि हाम्रा बाँझा जमिनहरूमा कृषि उत्पादन गर्नै पर्ने दिन आउँदै छ ।

यो कोभिडको कारणले विश्व आतङ्कित बनेको समयमा अर्ग्यानिक उत्पादनको महत्त्व दिनानुदिन बढ्दो छ । संसारमा खाद्य सङ्कट आउँदै छ । आम मानिस आर्थिक रूपले धेरै कमजोर बनेको छ । विदेशमा पनि उचित काम नभएपछि युवाहरूको विकल्प गाउँघर नै हुनेछ । दिगो र भरपर्दो भनेको कृषि नै हुनेछ । हाम्रा ती पुराना दिनहरूको सम्झना आज सहरमा खुसी खोज्दै हिँडेका सन्तानहरूले खोज्दै जानेछन् ।

सहरमा चार आना जग्गा र घरको सपना बोकेर जीवन हराउँदै गएका आम नेपाली नागरिकको कथा भनेको आफ्नै  गाउँ  ठाउँ हुनेछ र हुनुपर्ने पनि त्यही हो । त्यसपछि हाम्रा ती पुराना संस्कृतिहरूलाई हामी नगदमा बेच्न सक्छौ । हामी प्रकृति रूपले यति धनी मुलुकका जनता हौ । अक्सिजन बेचेर करोडौँ डलर कमाउन सक्छौ । स्थानीय तहका साधन स्रोतहरूलाई परिचालन गर्ने हो भने हामी आत्मनिर्भर पनि बन्न कुनै लामो समय कुर्नु पर्दैन । हिम्मत र योजना त्याग जरुरी छ । राजनीतिक स्थायित्व जरुरी छ । हामी समाजवाद उन्मुख समृद्धिको यात्रामा लागेको पाँच वर्षमा एउटा गन्तव्यमा पुग्ने निश्चित छ ।