आइपिएल प्लेअफमा एक टिमको टुंगो लाग्न बाँकी, चार टिमको होड

आइपिएल प्लेअफमा एक टिमको टुंगो लाग्न बाँकी, चार टिमको होड

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २०, २०७६

मुम्बई । चेन्नई सुपर किंग्स, मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफ पुगिसकेका छन् । समान १३ खेल खेलका यी टिममध्ये चेन्नईको १८ अंक छ भने मुम्बई र दिल्लीको समान १६ अंक छ । 

अब प्लेअफमा एक टिमको मात्रै टुंगो लाग्न बाँकी छ । तर, चार टिमबीच यसको होड चलेको छ । सनराइजर्स हैदरावाद, किंग्स इलेभन पञ्जाव, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सको प्लेअफ पुग्ने सम्भावना कायमै छ । तर, प्लेअफ पुग्न कसैलाई सहज छैन । किनकि यी टिमले आफूले खेल जितेर मात्रै हुँदैन, एक–अर्काको नतिजामा निर्भर पर्नुपर्नेछ । 

यस्ता छन् प्लेअफको होडमा रहेका टोली 

सनराइजर्स हैदरावाद

अंकतालिकामा चौथो स्थानमा रहेको हैदरावादको १३ खेलबाट १२ अंक छ । हैदरावादले चालू सिजनमा लिग चरणको आफ्नो अन्तिम खेल रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्दैछ । यो खेल जित्न सके हैदरावादको प्लेअफ पुग्ने सम्भावना हुन सक्छ । यसका लागि कोलकाता र पञ्जावले कम्तीमा एक खेलमा पराजय वा दुई खेल कम अन्तरले जित्नुपर्नेछ । खेल हारेको अवस्थामा पनि हैदरावाद प्लेअफ पुग्न सक्छ । तर, यसका लागि राजस्थानले दिल्लीसँग तथा कोलकाता र पञ्जावले कम्तीमा एक खेलमा पराजित हुनुपर्नेछ । 

राजस्थान रोयल्स 

अंकतालिकामा पाँचौं भए पनि राजस्थानको प्लेअफ पुग्ने सम्भावना अरुभन्दा कम छ । १ खेल खेल्न बाँकी रहेको राजस्थानको ११ अंक छ । उसले शुक्रबार दिल्लीको सामना गर्दैछ । 

यो खेल जितेमा राजस्थानको प्लेअफ सम्भावना कायमै रहनेछ भने हारेमा प्लेअफबाट बाहिरिनेछ । तर, खेल जितेर मात्रै राजस्थान प्लेअफ पुग्दैन । यसका लागि कोलकाता र पञ्जावले कम्तीमा एक खेल र हैदरावादले बैंग्लोरसँग पराजित हुनुपर्नेछ । 

कोलकाता नाइट राइडर्स 

दुई खेल खेल्न बाँकी रहेको कोलकातालाई पनि प्लेअफको यात्रा चुनौती देखिएको छ । कोलकाता १० अंकसहित छैठौं स्थानमा छ । उसले पञ्जाव र मुम्बईविरुद्ध खेल्न बाँकी छ । यी खेलमा जित र हैदरावादले बैंग्लोरसँग पराजित भए मात्रै कोलकाता प्लेअफमा पुग्न सक्छ । 

तर, एक खेलमा ठूलो अन्तरले जितेमा पनि कोलकाताको प्लेअफ सम्भावना हुन सक्छ । यो अवस्थामा पञ्जावले कम्तीमा एक खेलमा, हैदरावाद ठूलो अन्तरमा र राजस्थान दिल्लीसँग पराजित हुनुपर्नेछ । 

किंग्स इलेभन पञ्जाव 

दुई खेल खेल्न बाँकी रहेको पञ्जावको १० अंकसहित अंकतालिकामा सातौं छ । पञ्जावले कोलकाता र चेन्नइसँग खेल खेल्न बाँकी छ । यी दुई खेल जितेर हैदरावाद बैंग्लोरसँग पराजित भए पञ्जाव प्लेअफमा पुग्नेछ । तर, दुई वटै खेल जित्न पञ्जावलाई सहज देखिँदैन ।