‘नेपालमा ‘फानी’ आउँदैन, असर मात्रै देखिनेछ’

‘नेपालमा ‘फानी’ आउँदैन, असर मात्रै देखिनेछ’

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले समुद्री आँधी ‘फानी’ नेपालमा आउने सम्भावना कम भएको प्रक्षेपण गरेको छ । तर, यसको असर भने पर्ने महाशाखाको प्रक्षेपण छ ।

यसपटक ‘फानी’को प्रभाव भारतको ओडिसालगायत क्षेत्रमा परेको छ ।

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने मौसमविद्को अनुमान छ ।

‘फानी’का कारण वर्षा तथा हावाहुरी चल्ने मौसमविद्ले जनाएका छन् । ‘यसको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानमा मेघ गर्जन र चट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

महाशाखाका अनुसार ‘फानी’को प्रभाव हिमाली भेगमासमेत पर्नेछ । हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना महाशाखाको अनुमान छ ।

शुक्रबार ल्यान्डफल पश्चात यो प्रणाली उत्तर–पूर्व दिशातर्फ जाने र त्यसपछि कमजोर बन्ने भनाइ मौसमविद्ले जनाएको छन् ।