युरो कप: इटाली र इङ्ल्याण्ड फाइनलमा भिड्दै

युरो कप: इटाली र इङ्ल्याण्ड फाइनलमा भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २४, २०७८

युरो कप, २०२० को जारी १६औँ संस्करणमा इटाली र इङ्ल्याण्ड फाइनलमा भिड्ने भएका छन् । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

एक पटकको विजेता इटाली ९ वर्षपछि फाइनलमा पुगेको हो भने इङ्ल्याण्ड पहिलो पटक पुगेको हो । सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनलमा पुगेको हो ।

११ वटा देशका शहरमा एकसाथ आयोजना भएको युरो कपमा यस पटक दुवै आयोजक फाइनलमा पुगेका छन् । समूह 'ए'मा रहेको इटालीले समूह चरणका सबै खेल घरेलु मैदानमा खेलेको थियो । इङ्ल्याण्डले क्वार्टरफाइनलबाहेकका सबै खेल घरेलु मैदान वेम्बलीमा खेलेको थियो । फाइनल खेल आगामी आइतबार इङ्ल्याण्डकै घरेलु मैदान वेम्बलीमा हुनेछ ।

समूह चरणका तीनवटै खेल जितेको इटालीले कुनै गोल खाएको थिएन । इङ्ल्याण्डले क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन भने सेमिफाइनलमा एक गोल खायो ।

इटालीले यसअघि सन् १९६८ मा घरेलु मैदानमै युरो कपको उपाधि जितेको थियो । त्यसयता सन् २००० र सन् २०१२ मा फाइनलमा पुगेको इटाली पराजित भएको थियो ।

फाइनलसम्म पुग्दा अपराजित रहेको दुवै टोली त्यसलाई कायम राख्दै उपाधि जित्ने दाउमा छन् ।

इटालीले फाइनल पुग्दा १२ गोल गरेको छ भने ३ गोल खाएको छ । इङ्ल्याण्डले अहिलेसम्म १० गोल गर्दा १ गोल मात्र खाएको छ ।