सिंगापुरकाे सपनामा ‘झिँगापुर’को दृश्य: मिजासिला कर्मचारी, हरिया र सफा सडक’को स्मरण !

सिंगापुर र इन्डोनेसियाको सिकाई यात्रा

सिंगापुरकाे सपनामा ‘झिँगापुर’को दृश्य: मिजासिला कर्मचारी, हरिया र सफा सडक’को स्मरण !

डा. सदानन्द कडेल  |  साहित्य  |  असार २५, २०७८

नियात्रा लेख्ने हुटहुटीले दुई दशक पुरानो यात्राको डायरी पल्टाउन बाध्य बनायो । डायरीले दुई दशक अगाडि विताइएकाे  जवान अवस्थामा आफू पुगेको अनुभूति नहुने कुरै भएन । यसको मतलब ‘अहिले बुढो भएँ’ भन्न खोजिएको चाही पक्कै हैन । आधा शताब्दी रुपी बेसक्याम्पबाट उकालो लागिसके पनि ‘बुढो’ शब्दको सट्टा ‘अनुभवी’ भन्न रुचाउने गर्छु म ।अझै पनि विदेश वा स्वदेशकै नयाँ ठाउँ भ्रमण गर्ने प्रस्ताव आयो भने उक्त प्रस्ताव भुईँमा खस्न नपाउँदै तीन दशक अगाडीको जस्तो स्फूर्ति तरङ्गित हुन्छ मेरो मन मस्तिष्कमा ।  

यो पटकको यात्रामा दुई देशको भ्रमण समेटिने भएकोले मन उत्पातै आल्हादित थियो । त्यति बेलासम्ममा म भन्दा बढी विदेश घुमेका साथी नेत्रजी साथमा भएकाले झन् रमाइलो थपिएको थियो । हामीसँग केवल प्लान इन्टरनेशनल एसिया क्षेत्रीय कार्यालयको तत्त्वावधानमा इन्डोनेसियाको जोग्जाकार्तामा हुन गइरहेको एसिया क्षेत्रीय कार्यशालाको निमन्त्रणा पत्र र आफ्नो अफिस प्लान इन्टरनेशनल नेपालको पत्र मात्रै थियो । भिसा थिएन । इन्डोनेसियाको जकार्तामा ‘भिसा अन अराइभल’ दिने भएकोले त्यसमा निश्चिन्त थिएँ म । तथापि इमिग्रेसनका कर्मचारीले आनाकानी गरेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलिकति झमेला पनि भएको थियो । उनको प्रश्न थियो, ‘इन्डोनेसिया पुगेर फर्कनु पर्‍यो भने के गर्नु हुन्छ ?’ त्यसको प्रत्युत्तरमा ‘प्लान इन्टरनेशनल इन्डोनेसियाले जकार्ताकै इमिग्रेसन अफिसमा पत्राचार गरेको हुँदा कुनै समस्या पर्दैन । ‘यसमा समस्या पर्ने सम्भावना नै छैन’ भने पछि उक्त अधिकारीले हाम्रो मार्ग प्रशस्त गरिदिएका थिए ।  

हामी सिंगापुर एयरलाइन्सको विमानबाट सिंगापुर स्थित चांगी विमानस्थलमा अवतरण गर्‍यौँँ। हामीसँग दुइटा विकल्प थिए । पहिलो, एयरपोर्ट भित्रकै होटेलमा बसेर भोलिपल्ट जकार्ता उड्ने । दोस्रो, सिंगापुर सहरमा गएर होटेलमा बस्ने र भोलि बिहान एयरपोर्ट फर्किने । हामीले दोस्रो बाटो रोज्यौँ । यसको लागि मैले काठमाडौँमै सिंगापुरको होटेल र शपिङ सेन्टरबारे पनि केही सूचना बटुलेको थिएँ । सिंगापुरको लागि पहिले नै भिसाको जरुरत थिएन । किनकि  त्यहाँ सजिलै ‘भिसा अनअराइभल’ पाइन्छ भन्ने थाहा थियो । सिंगापुरका सरकारी कर्मचारीले खासै सोधपुछ नगरी नै पासपोर्टमा भिसा लगाइदिए ।    

नेपाली लोकगीतमा डेढ दर्जन मुलुकका सहभागीहरू नाच्दाको रौनकता गज्जबको थियो । खासमा म नाच्न जान्ने मान्छे त हैन तथापि नेपाली लोक संस्कृति जगेर्नाको हिमायती भएकाले मौका पर्ने बित्तिकै विदेशी भूमिमा नाचिहाल्न पछि नपर्ने मान्छे चाही अवश्य हो । मैले त्यो लोकगीतको क्यासेट अल्का पाठकलाई नै उपहारको रुपमा दिएको थिएँ ।

एयरपोर्टबाट बाहिर निस्किने ठाउँमा एउटा सूचना डेस्क थियो । सूचना अधिकारीले निकै विनीत भावभङ्गीमा ट्याक्सी, होटेल, रेस्टुरेन्ट आदि बारे जानकारी दिए । मलाई होटेल ब्रोडवे र मुस्तफा शपिङ सेन्टर सम्बन्धी केही जानकारी थियो । तर त्यसको दुरी बारे थाहा थिएन । नजिकै रहेको थाहा पाएर मक्ख परियो ।  

‘एक्जिट’ गेटमा एउटी केटीले ‘ट्याक्सी ?’ भनेर सोधिन् । मैले ‘एस’ भने । उनीले ‘नम्बर फाइभ’ भनेर ट्याक्सी देखाइन् । पचासौँ ट्याक्सीहरू लहरै पर्खिरहेका थिए । ट्याक्सी नम्बर चारमा यात्रुहरू चढ्दै थिए । त्यसमा कुनै ‘तँ छाड, म छाड’ थिएन । ट्याक्सी ड्राइभरहरू शान्त मुद्रामा थिए । यस किसिमको व्यवस्था हाम्रो नेपाली एयरपोर्टमा हुन नसकेको तथ्यले मलाई चिटिक्क चिमोटे जस्तो लाग्यो ।  

नेत्रजी र मैले डिकीमा 'ब्यागेज' हाल्यौँ र ट्याक्सीमा बस्यौँ । 'एरकन्डिसन' को सुविधा भएको ट्याक्सी एयरपोर्टबाट सहरतिर हुइँकियो । जीवनमा पहिलो पटक सिंगापुरको सडकमा गुडिरहेको बेला मेरो मानस पटलमा काठमाडौँ उपत्यकाका सहरहरू आउन थाले । ‘हामीले जितेमा नेपाललाई सिंगापुर बनाउँछौँ’ भनेर नेताहरूले कुर्लँदै गरेको भाषणको सम्झना हुन थाल्यो । सिंगापुर बनाउनेछौँ भन्नेले नै जिते पछि एक हप्तासम्म सिसडोल डम्पिङ्ग साइटमा फोहर फाल्न नसकेपछि सडकमा फोहर थुप्रिएर काठमाडौँ सहर ‘झिँगापुर’ जस्तो भएको दृश्य पनि आँखा अगाडी आयो । साथै, किन सिंगापुर बनाउने भनेको होला त ?’ भन्ने प्रश्नको उत्तर खोज्ने विचार पनि मनमा आयो ।  

आँखाले बाहिर फेर हेर्दै सोच मग्न भएको बेला नेत्रजीले भन्नु भयो, ‘कता हराएको हौ कडेलजी ? चुपचाप पो हुनु भो त ? गफ गर्नुस् न ?’ झसङ्ग हुँदै मैले मेरो दिमागलाई काठमाडौँबाट खिचेर सिंगापुरमै फर्काएँ र भनेँ, ‘सिंगापुरमा यात्रा गर्दै गर्दा म त नेपाललाई सिंगापुर बनाउने नेताजीको भाषणको स्मरण गर्दै काठमाडौँ पो पुगेछु त !’  

‘लौ हेर्नुस्, कत्ति फराकिलो र राम्रो रोड ! काठमाडौँ कहाँ  छन् र यस्ता सडक ?’ नेत्रजीले सडक देखाउँदै भन्नुभयो । 'लिम चु काङ'  रोडको दुवै तिर आँखा तन्काई तन्काई हेर्न लाग्यौँ हामीहरू । ‘सडक देखेर नै यिनीहरू उत्साहित भएका हुन्’ भन्ने लख काटेछन् ड्राइभरले पनि । त्यसपछि उनले 'रोड' बारे बताउन थाले । उनले भने, ‘यो २.५ किलोमिटर लामो सार्वजनिक रोड एकदमै बलियो छ । यसलाई इमर्जेन्सीमा प्लेन अवतरण गर्ने रनवेको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।’ सानो मुलुक सिंगापुरको एयरपोर्टमा हमला भयो भने वा इमर्जेन्सी पर्‍यो भने सडकबाटै आपत्कालीन प्लेन अवतरण र ‘टेक अफ’ गराउन सकिने व्यवस्था सन् १९८६ देखी गरिएको रहेछ । अहा, कत्ति राम्रो सोच सरकारको !

सडकको दुबै तिर हरियाली थियो । बिचबिचमा सुन्दर फूलबारी सहितका आइल्याण्ड पनि त्यत्तिकै आकर्षक । सडक र सहर एकदमै सफा थियो । यसैबिच ड्राइभरले हामीलाई अर्को रोचक कुरा बताए ।  सहरमा कसैले चकलेट, क्याडबारी तथा चुरोटका खोल तथा अन्य फोहर फालेको सबुत भेटिएमा १३० देखी ३०० सम्म जरिवाना तिर्नुपर्ने रहेछ । कथंकदाचित सार्वजनिक सरसफाइ सम्बन्धी कानुनको उल्लङ्घन सोही व्यक्तिले फेरी गरेमा तथा सो कुरा प्लेकार्डमा लेखेर सडकमा उभ्याइने र आवश्यक कानुनी कारबाही गरिने रहेछ । सिंगापुर सहर निकै सफा हुनुको रहस्य त यस्तो पो रहेछ ।  

यसैबिच मलाई बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा पढेका, ३५ वर्षमै सिंगापुरको प्रधानमन्त्री बनेर चार दशकसम्म प्रत्यक्ष शासन गरी एउटा गरिब राष्ट्रलाई समुन्नत राष्ट्र बनाउन सफल राजनेता लि क्वान युको जीवनी पढेको सम्झना भयो । उनले विदेशबाट आउनेहरूलाई राम्रो प्रभाव परोस् भनेर तीन कुराहरू–‘मिजासिला कर्मचारी, हरियाली र सफा सडक’ मा विशेष अभियानकै रुपमा जोड दिएका थिए । मैले एउटा यात्रुको रुपमा आफ्नो यात्रामा यी तिनै चीज निकै राम्रो भएको देखेर लि क्वान युको अभियान सफलीभूत भएको अनुभव गरेको थिएँ ।   

बिस मिनेटमै ट्याक्सीले हामीलाई सेराङगुन रोड स्थित होटेल ब्रोडवे पुर्‍याइदियो । होटेलमा ‘चेक इन’ गरेर हामी हतार हतार मुस्तफा शपिङ सेन्टर तर्फ हानियौँ । सडकमा ट्राफिक लाइटको कडाइका साथ पालना हुँदो रहेछ । बाटामा थुप्रै विदेशी पर्यटकहरू हिँडिरहेका देखिन्थे भने त्यसमध्ये भारतीयहरूको सङ्ख्या पनि उल्लेख्य थियो ।  

हामी गफिँदै मुस्तफा शपिङ सेन्टर पुग्यौँ । नेत्रजीले ‘जापनिज सारी किन्नु पर्छ’ भन्नु भयो । खासमा मैले त आफू मात्र एक्लै पसलमा गएर यस अघि सारी किनेको अनुभव थिएन । भारतीय व्यापारीकै कपडा पसलमा जापनिज सारी किनियो । त्यसपछि सिंगापुरियनको पसलमा केही खेलौनाहरू पनि किनियो । 

सिंगापुर सहरमा मज्जाले घुमफिर गरेर आनन्द लिने । समुन्द्री तटमा गएर छालसङै मन बहलाउने समय थिएन हामीसँग । भोलिपल्ट बिहान ६ बजे नै एयरपोर्ट तिर जानुपर्ने भएकोले दिल्ली रेस्टुरेन्टमा डिनर खाएर हामी चाँडै नै होटेलमा फर्क्यौँ ।

वि. सं. २०५८ साल वैशाख ८ गते बिहान ८.२४ बजे सिंगापुरको चांगी विमानस्थलबाट सिंगापुर एयरलाइन्सको दुई तले विमानमा हामी इन्डोनेसियाको जाकर्ता तर्फ उड्यौँ । साउथ चाइना सी को किनारमा रहेको चांगी एयरपोर्टबाट उडेको दुई मिनेटमै समुन्द्र पार गरेपछि एउटा समुन्द्रको टापुको सहर देखा पर्‍यो । फेरी तत्कालै एक मिनेटमै समुन्द्र माथि पुग्यो प्लेन । यसो गर्दा लुकामारी खेले जस्तो लाग्यो । घरी जमिन घरी पानी, छिनमा आउनी छिनमा जानी !  

झ्यालकै सिट भए पनि बायाँ साइडतर्फ परेको हुनाले सिंगापुर सहरलाई प्लेनबाट हेर्न सकिएन । प्रति घण्टा ९४० किलो मिटरको गतिमा उडी रहेको प्लेन २० मिनेट उड्ने बित्तिकै स्क्रिनमा स्थानीय समय सिंगापूरबाट इन्डोनेसियाको समयमा फेरियो । यी दुई देश बिचको समयमा १ घण्टाको फरक रहेछ । छोटो यात्रा भएकोले फटाफट ब्रेकफास्ट वितरणको काम सुरु भयो । सी फुड र अम्लेटको दुई विकल्पमा मैले पछिल्लो रोजेँ । ब्रेकफास्ट खाँदै बेला–बेला झ्यालबाट हेर्दा मज्जा आइरहेको थियो । एउटा एरहोस्टेस इन्डियन रहिछन् भने अर्का स्टिवार्ड पनि इन्डियन नै । यात्रुहरूमा पनि भारतीयहरू निकै थिए । 

पौने एक घण्टामा पालेमबांग सहर माथि प्लेन उडी रहेको थियो । यो सहर इन्डोनेसियाको सुमात्रा प्रान्तको राजधानी रहेछ । त्यसपछि जाभा समुन्द्र देखियो । जकार्ताको एक तर्फ नजिकै जाभा समुन्द्र र अर्को तर्फ अलिक टाढा हिन्द महासागर पर्ने रहेछ । यात्रा गरिरहेको बेला स्क्रिनमा दिइने जानकारीमा बेजिङ, ब्याङ्कक, दिल्ली, मुम्बई र कराची समेत देखिएको तर काठमाडौँ कतै नदेखिएकोले मलाई नमिठो लागेको थियो ।   

‘अब हामी जकार्ता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछौं’ भन्ने जानकारीसँगै प्लेन ओर्लिन थाल्यो । अलिकति ढिलाइ हुन गएकोमा पाइलटले विनीत ढङ्गले माफी पनि मागे । जाभा समुन्द्रको माथि हाम्रो हवाईजहाज क्रमशः १०७०० मिटर हुँदै १९७० मिटरको उचाइमा झरिसकेको थियो । समुन्द्रमा ठुला साना पानी जहाजहरू देखिए । समुन्द्री किनारको रमणीय दृश्य मनमोहक थियो । माथिबाट हेर्दा समुन्द्रलाई नै मिचेर घर बनाइएको हो कि जस्तो लाग्ने ! एक घण्टा दश मिनेटको यात्रा पश्चात् हामी जकार्ता अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियौँ ।  

जकार्तामा ‘भिसा अन अराइभल’ को लागि कुनै समस्या परेन । बैङ्कमा इन्डोनेशियन मुद्रा 'रुपियाह'  साट्ने काम गरियो । एक युएस डलरको १४,४५७ 'रुपियाह' हुने हुँदा पैसाको बिटो नै बोकेर डोमेस्टिक फ्लाइटमा जकार्ता एयरपोर्टबाट इन्डोनेशियाकै अर्को सहर जोग्जाकार्ता तर्फको यात्रा सुरु गरियो ।  

आफूले अनुरोध गरे अनुसार झ्यालकै सिट मिलेकोले यात्रामा इन्डोनेशिकाको भूभाग हेर्न निकै सजिलो भयो । जुन मुलुक भ्रमण गर्ने हो त्यसको बारेमा खोज तलास गरेर जानकारी लिएर मात्र हिँड्ने मेरो बानी थियो । जस अनुसार इन्डोनेसिया संसारको सबैभन्दा धेरै टापुहरू भएको मुलुक हो भन्ने तथ्य फेला परेको थियो । सरकारले आधिकारिक रूपमै सूचिकृत गरेका १७,५०८ टापुहरू रहेछन् इन्डोनेसियामा । टापु टापुको देश इन्डोनेसियामा हवाई यात्रा गर्दा एकदम रमाइलो अनुभूति भइरहेको थियो ।  

जोग्जाकार्ता एयरपोर्ट अवतरण गरेपछि होटेलले पठाएको गाडीले हामीलाई होटेल सान्टिकामा पुर्‍यायाे । होटेलमा ‘चेक इन’ को लागि पर्खिरहेको बेला प्लान इन्टरनेशनलका ग्लोबल सिकाई सल्लाहकार डा. सत्य भर्गीजसंग भेट भयो । उनीसँग मेरो यसभन्दा अघि ब्याङ्ककमा आयोजित एसिया क्षेत्रीय सिकाई सञ्जालको बैठकमा भेट भइसकेको थियो । सत्यले एसिया सिकाई सल्लाहकार डा. होवा फुवांग ट्रानसँग परिचय गराए ।'सानो काटीकी' , निकै हँसिली र फुर्तिली होवाले भर्खरै मात्र प्लान इन्टरनेशनलमा काम गर्न थालेकी रहिछन् । संस्थाको नेपालस्थित राष्ट्रिय कार्यालयमा प्रारम्भिक बाल विकास र शिक्षा संयोजकको भूमिकामा रहेकोले मैले आवश्यकता अनुसार प्राविधिक रुपमा रिपोर्टिङ डा. ट्रान र डा. भर्गिजलाई गर्नु पर्थ्यो । ती दुबै पी. एच. डी. होल्डर व्यक्तिहरूलाई प्रत्यक्ष रुपमा भेटेपछि ‘हैन यो पीएचडी नामको चिडियालाई मैले पनि कसरी समाउने होला ?’ भन्ने लागेको थियो मलाई त्यति बेला ।    

पाँच दिनसम्म चल्ने प्रारम्भिक बाल विकास सम्बन्धी एसिया क्षेत्रीय कार्यशाला गोष्ठीमा विश्व विख्यात विशेषज्ञहरू तथा डेढ दर्जन मुलुकका सहभागीहरूको उपस्थिति थियो । प्रारम्भिक बाल विकासका मार्गदर्शक सिद्धान्तहरू तथा उत्कृष्ट अभ्यासहरू बारे खोजी गर्ने उद्देश्य राखिएको कार्यशालाको एउटा आकर्षक क्रियाकलाप थियो-इन्डोनेसियाका राम्रा अभ्यासहरूलाई फिल्डमै गएर हेर्ने । फलस्वरूप कार्यक्रमको तेस्रो दिन विभिन्न समूहमा बाँडिएर जेतक पाचीटान क्षेत्रका गाउँहरूमा सञ्चालित प्रारम्भिक बाल विकास केन्द्रहरूको अवलोकन गर्ने अवसर मिल्यो । हरेक माइक्रो बसमा प्लान इन्टरनेशल इन्डोनेसियाका एक एक जना साथी पनि थिए । ठाउँ देखाउन मात्र नभई आवश्यक भाषानुबाद तथा सहयोगका लागि यस किसिमको व्यवस्था मिलाइएको थियो ।  

पौने चार लाख जनसङ्ख्या भएको जोग्जाकर्ता सहर व्यस्त देखिन्थ्यो । धेरै विश्वविद्यालय, महाविद्यालय तथा विद्यालयहरू भएको यो सहर इन्डोनेसियाको शैक्षिक केन्द्र नै रहेछ । अध्ययन गर्नका लागि देशका विभिन्न भागहरूबाट विद्यार्थीहरू यहाँ आउने रहेछन् । प्रारम्भिक बाल विकास कार्यक्रम पनि धेरै राम्रो भएकोले नै अरु देशका सहभागीहरूको सिकाइको लागि यो कार्यशाला जोग्जाकार्तामा राखिएको रहेछ। इन्डोनेसियाकी पाँचौँ राष्ट्रपति मेगावती सुकार्नो पुत्रीको जन्म पनि सेन्ट्रल जाभाको जोग्जाकर्तामै भएको रहेछ । 
सहरको भित्री भागमा भिडभाड देखिन्थ्यो । रिक्साको प्रयोगमा व्यापकता थियो । हाम्रोमा हुने रिक्सा भन्दा ठ्याक्कै उल्टो देखिने खाले रिक्सा । यात्रु अगाडी बस्ने र चालकले पछाडिबाट चलाउने । पछि त्यो रिक्सा चढेर रमाइलो अनुभव बटुल्ने काम पनि गरियो ।  

हामीलाई लिएर माइक्रो बस गाउँ तिर लाग्यो ।स–साना तर घना बस्तीहरू । नरिवलका बोटहरू कतै झुरुप्प त कतै लाइनमा लर्कनै देखिने सुन्दर दृश्य । ताड तथा खजुरका रुखहरू अर्को तिर । मलाई बाँके जिल्लाको राप्ती पारी भोजभगवानपुर, नारैनापुर तिर पो फिल्ड जान लागेको हो कि भन्ने पनि लाग्यो ।  

कम्पाउन्ड घेरिएको, सफा खेल मैदान, व्यवस्थित किसिमले राखिएका बाह्य खेल सामाग्रीहरू, सफा चउर तथा सानो, कच्ची तर चिटिक्क परेको प्रारम्भिक बाल विकास केन्द्र भवन एकदम राम्रो देखिन्थ्यो ।  केन्द्रको ढोकामा सहजकर्ता भने, ‘सलामत दातांग !’ (इन्डोनेसियाको भाषा ‘बसाहा इन्डोनेसिया’ मा ‘स्वागत’) । सुरुका दिनहरूमा केही सामान्य शब्दहरू सिकिसकेकोले मैले पनि जानेकै जस्तो गरेर भनेँ, ‘तेरीमा कासी ! सलामत पागी !’ (धन्यवाद ! बिहानको अभिवादन/नमस्ते) । 

सेतो सर्ट, निलो फ्रक, सेतो रिबन, कालो जुत्ता तथा सेतो मोजा लगाएका बालिकाहरू र सेतो सर्ट, निलो हाप पाइन्ट, कालो जुत्ता र सेतो मोजा लगाएका बालकहरूले ‘सलामत पागी’ भन्दै उठेर आगन्तुकहरूलाई अभिवादन गरे । निकै फुर्तिला देखिन्थे बालबालिकाहरू । कक्षामा बालमैत्री खालको बसाई व्यवस्थापन आकर्षक थियो । साना साना टेबल र कुर्सीहरूको रङ्ग फरक फरक भएकोले रङ्गी चङ्गी देखिन्थ्यो । हाम्रो टोलीकी सहयोगी प्लान इन्डोनेशियाका स्वास्थ्य सल्लाहकार अगष्टिनीले स्थानीय भाषामा उद्देश्य बारे बताइन् । बाल विकास केन्द्रकी सहजकर्ताले पनि क्रियाकलापहरूको बारेमा संक्षेपमा बताइन् । हाम्रो टोलीकी डा. ट्रानले अवलोकनकर्ताहरूको तर्फबाट सबै बालबालिकाहरू, सहजकर्ता र सहयोगीलाई धन्यवाद दिइन् ।         

समुदायमा आधारित बाल विकास केन्द्रमा अभिभावकहरूको सहयोग र सहभागिता असाध्यै राम्रो रहेछ ।  त्यस्तै स्थानीय सरकारी निकायको सहयोग तथा समन्वय पनि निकै राम्रो पाइयो । समुदायमा हामीलाई ताजा नरिवल दिएर स्वागत गरिएको थियो । धापिएको बेला ताजा नरिवलको रस पाइपबाट तान्न पाउँदा धेरै मज्जा आयो ।   

चौथो दिनमा बिहानै ८.४५ बजे बाट सेसन सुरु भयो । चर्चित बाल विकास विज्ञ जाकिया कुरियनको प्रस्तुति पछि नेपालको पालो आयो । सुरुमा नेपालका कार्यक्रम प्रमुख रामराज्य जोशीले नेपालमा सञ्चालित प्रारम्भिक बाल विकास कार्यक्रमको बारेमा पृष्ठभूमि बताउँदै मलाई प्रस्तुतीकरणको लागि आग्रह गर्नुभयो । दुई दशक अगाडि नेपालको तर्फबाट गरिएको त्यो प्रस्तुतीकरण नै अन्तर्राष्ट्रिय तथा औपचारिक रुपमा पहिलो थियो मेरो लागि । यद्यपि तालिम तथा कार्यशालामा सानातिना प्रस्तुतीकरण भने यस अघि इजरायल, इक्वेडर, थाइल्यान्ड र बङ्गलादेशमा पनि नभएका होइनन् । सेसन पश्चात् धेरै जनाबाट प्राप्त बधाई,  शुभकामना तथा पावर प्वाइन्ट प्रिजेन्टेसनको सफ्ट कपीको माग बढेकोले मेरो पेसागत आत्मविश्वास चुलिएको थियो । खासमा मलाई दुई वर्ष अघिको इजरायलको एक महिने कोर्सले अत्यन्तै सघाउ पुर्‍याएको थियो ।    

छैटौँ दिन बिहान नेपाल फर्कने क्रममा जोग्जाकार्ताबाट जकार्ता तर्फ उड्यौँ । यात्रामा पाँचौँ दिनको रमाइलो साँझको स्मरण भयो । पहिला नेपालमा राष्ट्रिय निर्देशक भएर इन्डोनेसिया सरुवा भएकी अल्का पाठक नाच्न रुचाउनु हुन्छ भन्ने थाहा भएकोले मैले नेपाली लोकगीतको एउटा क्यासेट बोकेको थिएँ । ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ भन्ने गीत बजाएर जब मैले स्टेजमा नाच्न थाल्दै अरूलाई नि नाच्न आग्रह गरेँ, अल्का नाच्दै आउनु भयो स्टेजमा । उहाँले रामराज्य, नेत्र, मिन्टी, जाकिया, सत्य, होवा आदिलाई तानेर स्टेजमा ल्याउनु भयो । नेपाली लोकगीतमा डेढ दर्जन मुलुकका सहभागीहरू नाच्दाको रौनकता गज्जबको थियो । खासमा म नाच्न जान्ने मान्छे त हैन तथापि नेपाली लोक संस्कृति जगेर्नाको हिमायती भएकाले मौका पर्ने बित्तिकै विदेशी भूमिमा नाचिहाल्न पछि नपर्ने मान्छे चाही अवश्य हो । मैले त्यो लोकगीतको क्यासेट अल्का पाठकलाई नै उपहारको रुपमा दिएको थिएँ ।