भोजराज घिमिरेको ६८ शेरको गजल

भोजराज घिमिरेको ६८ शेरको गजल

डा.भोजराज घिमिरे  |  साहित्य  |  असार २६, २०७८

क्रान्तिकारी मन हुनेको बात अर्कै हुन्छ,
शान्तिले ‘क्रन्दन’ हुनेको बात अर्कै हुन्छ !

मनबेगरको धन हुनेको बात अर्कै हुन्छ,
जोड्न मुख बेतन हुनेको बात अर्कै हुन्छ !

भोक नै ‘राशन’ हुनेको बात अर्कै हुन्छ,
पेटभरि ‘ओलन’ हुनेको बात अर्कै हुन्छ !

आडमा क्वै छन् हुनेको बात अर्कै हुन्छ,
आह ! नै भञ्जन हुनेको बात अर्कै हुन्छ,

सत्यको बोधन हुनेको बात अर्कै हुन्छ,
खास सम्मोहन हुनेको बात अर्कै हुन्छ !

दोमुखी आनन हुनेको बात अर्कै हुन्छ,
ओठमै बन्धन हुनेको बात अर्कै हुन्छ !

सासमै ‘रोदन’ हुनेको बात अर्कै हुन्छ,
दु:खकै मन झन् हुनेको बात अर्कै हुन्छ !

किन रहरको यत्ति धेरै गुनगुनाहट बढ्दो?
क्षीर सागर मन हुनेको बात अर्कै हुन्छ !

वैलिएको फूल बन्दै हुन्छ किन खै मान्छे ?
दिल परिच्छेदन हुनेको बात अर्कै हुन्छ !

जल्नसाथै शब चितामा किन रुँदैनन् छोरा,
ऋण परिशोधन हुनेको बात अर्कै हुन्छ !

रूप जस्तो सार त्यस्तै भन्न मात्रै, नाटक,
आँसुमै मञ्चन हुनेको बात अर्कै हुन्छ !

सुर छ जस्तो, ताल उस्तै नृत्य उस्तै उस्तै,
एउटै धडकन हुनेको बात अर्कै हुन्छ !

धन हुँदा अर्कै छ डर अर्कै छ डर धनबेगर,
हर बखत ‘गनगन’ हुनेको बात अर्कै हुन्छ !

मै छु पत्थर के कहूँ उर्वर जीवनको गरिमा,
फूल झैँ सेचन हुनेको बात अर्कै हुन्छ !

के गुनासो गर्नु राखे बन्धकीमा आत्मा,
सोच नै मुण्डन हुनेको बात अर्कै हुन्छ !

फक्रिएको हुन्न कैले फूल मुर्झाएको,
जूनकै यौवन हुनेको बात अर्कै हुन्छ !

बालुवाझैँ हुन्छ ढुङ्गा, फूल फुल्छन् काँडा,
हो, वचनमा ‘घन’ हुनेको बात अर्कै हुन्छ !

चोटमा मल्हम गरेझैँ चूक छर्दै हरपल,
बातमै मख्खन हुनेको बात अर्कै हुन्छ !

राग जो बु्झ्दै समयको हुन्छ मस्तीमा ऊ,
बैँसमा ‘बच्पन’ हुनेको बात अर्कै हुन्छ !

युद्ध जित्ने, ‘राज्य’ गर्ने हुन्न भन्दिनँ इच्छा,
मन स्वयम् अड्चन हुनेको बात अर्कै हुन्छ !

मात्र आफ्ना लागि बाँच्ने जस्तो गर्छन् मान्छे,
मर्न ‘जिउँदै’ मन हुनेको बात यस्तै हुन्छ !

भोक टार्ने हो त्यसैले झार्छ किन निर्धनले ?
आँसु ‘टनका टन’ हुनेको बात अर्कै हुन्छ !

दु:खले आहत हुने लाखौँ हजारौँ बिचमा,
हर ‘खुसी’ ऐठन हुनेको बात अर्कै हुन्छ !

मत्युले बाहेक सक्ने पुर्न इच्छा कसले,
हो रहर नै ‘डन’ हुनेको बात अर्कै हुन्छ !

फूल नै वैलाउँदा क्यै हुन्न सोच्छौ जहिल्यै,
चेत ‘अवचेतन’ हुनेको बात अर्कै हुन्छ !

मेरो घरमा शून्य श्रोता, भीड तिम्रो घरमा,
शब्दमा ‘ओजन’ हुनेको बात अर्कै हुन्छ !

जून हेरे दाग भेट्छन् फूलमै छन् दाग भन्छन्,
मनसँगै ‘अनमन’ हुनेको बात अर्कै हुन्छ !

भालमै थ्यो भाग्य उसको भो र पो ऊ ईश्वर,
दु:खको चन्दन हुनेको बात अर्कै हुन्छ !

फूल रोपूँला नभन्नुस् शुष्क दिलमा फेरि,
आँसुको लेपन हुनेको बात अर्कै हुन्छ !

हो सदिच्छा स्थिर बनून् सब जिन्दगीमा आफ्नो,
मन स्वयम् ‘फनफन’ हुनेको बात अर्कै हुन्छ !

भो नसोध्नुस् खान्छ मनको बाघले किन जिउँदै?
आफ्नो मनमा बन हुनेको बात अर्कै हुन्छ ! 

हूँ म पत्थर, मात्र पत्थर, फुट्नुपर्ने पत्थर,
चोटमा ‘मन्थन’ हुनेको बात अर्कै हुन्छ !

दु:खमा हूँ या खुसीमा छेउ आई जहिल्यै,
हर समय ‘भन् भन्’ हुनेको बात अर्कै हुन्छ !

रै’छ चर्चित हर शहरमा दु:ख उनको ऐले,
चोट ‘प्रायोजन’ हुनेको बात अर्कै हुन्छ ! 

पाइला सर्दैन अघि, सर्दैन पछि पनि कैले,
मन हजुर दोमन हुनेको बात अर्कै हुन्छ !

बज्नसाथै गीत मनको घुम्छ पाउजु आफैँ,
पाउमा ‘कम्पन’ हुनेको बात अर्कै हुन्छ !

भोकले हेर्दैन चोखो या जुठो खाना हो,
पातमै भोजन हुनेको बात अर्कै हुन्छ !

फूल काँडामा फरक देख्दैन दुनियाँ ऐले,
दृष्टिमा ढक्कन हुनेको बात अर्कै हुन्छ !

ऐनकानुन, नीति, बेगर भेदभावs जैले,
देशमा पालन हुनेको बात अर्कै हुन्छ !

जिन्दगी त्यो दर्दका बिच ज्यूनु पर्दा हाँस्दै,
आस नै साधन हुनेको बात अर्कै हुन्छ !

हाँस्नू भन्ने किन अचानोलाई हरदम तिम्ले ?
त्रासमै गर्दन हुनेको बात अर्कै हुन्छ !

द्रौपदी हुन् वा अरू क्वै के फरक होला खै,
‘खाल’मा ‘जीवन’ हुनेको बात अर्कै हुन्छ !

जे दिऊँ सल्लाह मैले भन्छ भो बेठिक ऊ,
ओठमै खण्डन हुनेको बात अर्कै हुन्छ !

हरसमय नै काम भन्दै दल्लिँदै छन् मान्छे,
‘रात’ चाहिन्नन् हुनेको बात अर्कै हुन्छ !

खै मिठो मुस्कान भन्दै भो नसोध्नू कैले,
त्रास आलिङ्गन हुनेको बात अर्कै हुन्छ !

सुक्ने रै’छन् बाहिरी सब आँसु मौका पाए,
तर ‘प्रेमिल’ रोदन हुनेको बात अर्कै हुन्छ !

चुम्छु अम्बर हुन्छ भन्दै मात्र आकाङ़्क्षाले,
पाइला अड्चन हुनेको बात अर्कै हुन्छ !

फूल-काँडामा फरक के देख्दैन कैले उसले,
के ‘रहर’मै उल्झन हुनेको बात अर्कै हुन्छ ?

दम्भको के हुन्न सीमा सोध्छु, आमा भन्छिन्,
हातमा चन्दन हुनेको बात अर्कै हुन्छ !

किन खुसी नै रुन्छ हरपल, सोच्छ मेरै मनले,
दु:खको ‘पल्टन’ हुनेको बात अर्कै हुन्छ !

कुट्नु भन्छन् दु:खका पलपल ढिकी जाँतोले,
जिन्दगी दलहन हुनेको बात अर्कै हुन्छ !

किन बनूँ कन्जुस म आफू छैन भन्दै माग्दा,
हर पटक मुण्डन हुनेको बात अर्कै हुन्छ !

चोट केले, पर्छ कसमा हुन्न क्यै सोचाइ,
व्यङ्ग्य अनुमोदन हुनेको बात अर्कै हुन्छ !

हेर्नु भन्दैनन् कसैले प्रिय नजरले जिउमा,
टाँस्सिने पहिरन हुनेको बात अर्कै हुन्छ !

छन् मुसामै चढ्न तत्पर कृष्ण प्यारे हरपल,
के त हर ‘बाहन’ हुनेको बात अर्कै हुन्छ !

छन् सबै जनता निरीहs दीन दु:खी ऐले,
स्वर्गमा आसन हुनेको बात अर्कै हुन्छ !

छेउमै किन चाहियो खै पार्न दिल यो वसमा,
दृष्टिमै ‘गोमन’ हुनेको बात अर्कै हुन्छ ! 

जोसुकैले हुन्छ छिर्दा छन् खुलै हरढोका,
रोज मन ‘पावन’ हुनेको बात अर्कै हुन्छ !

हुन् सबै मान्छे कटेरा वा महलमा बस्ने,
के ठुलो आँगन हुनेको बात अर्कै हुन्छ ?

प्रेमबस जैले मलाई भन्न पुग्छिन् आमा,
काममा ‘मनतन’ हुनेको बात अर्कै हुन्छ !

जोड्नलाई हातमुख धौ धौ छ श्रम गर्नेको, 
‘कालो धन’ आर्जन हुनेको बात अर्कै हुन्छ !

दु:ख के हुन् पाठ बुझ्ने पाठशाला हुन्, ती?
काँधमा ‘खर्पन’ हुनेको बात अर्कै हुन्छ !

प्रिय, अचम्मित भो नबन्नू भीड देखे सामु,
हर तरफ ‘बासन’ हुनेको बात अर्कै हुन्छ !

सुक्ने रै’छन् बाहिरी सब आँसु मौका पाए,
तर ‘प्रेमिल’ रोदन हुनेको बात अर्कै हुन्छ !

किन मरुस्थल निम्तिँदो हो जिन्दगीमा तिम्रो ?
बुझ, चिसो ‘हनहन’ हुनेको बात अर्कै हुन्छ !

हरबखत निहुँ खोज्छ व्यर्थै बैँसले खै मेरो,
हार ‘अनुबन्धन’ हुनेको बात अर्कै हुन्छ !

रुन्छ कैले हात हेर्दै, बस्छ कैले हाँस्दै,
गाउँमा परिजन हुनेको बात अर्कै हुन्छ !

मूर्ख हुन् या बुद्धिमानी के फरक पो पर्ला ?
नाम ‘द्वैपायन’ हुनेको बात अर्कै हुन्छ !

बहरे रमल मुसम्मन अवतर

नोट: द्वैपायन- वाल्मीकिको नाम