पानीमुनि परमाणु परीक्षण

पानीमुनि परमाणु परीक्षण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

काठमाडौं, एजेन्सी 

पानी भित्र गर्न सक्ने परमाणु हमलामा आफूलाई सक्षम बनाउनका लागि चीनले  गोप्य तयारी शुरु गरेको छ । यसको संकेतका रुपमा उसले आउने दिनमा समुद्रभित्र परमाणु परीक्षण गर्ने तयारी गरिरहेको छ ।

जमीनमा रहेको आफ्नो परमाणु भण्डारमा हमला भएको स्थितिमा उसले पानीमुनि भएको परमाणु शक्तिको उपयोग गर्ने लक्ष्यका साथ यस्तो तयारी गर्न लागेको हो ।  उसको यस गोप्य तयारीको चित्र भू–उपग्रह मार्फत प्राप्त भएपछि यो रहस्य बाहिर आएको हो । 

चीन फरक फरक विकल्पबाट आफूलाई परमाणु हतियारमा अब्बल बनाउन चाहन्छ । चीनले जमीनबाट प्रहार गर्ने ब्यालेस्टिक मिसाइलका साथ पानीमुनि रहेका पनडुब्बी मार्फत पनि ब्यालेस्टिक मिसाइल  क्षमता विकसित गर्ने उद्देश्यले यस्तो तयारी गर्न लागेको हो । यसका लागि चीनले छिटै नै  पानी मुनि  परमाणु परिक्षण गर्ने संकेत प्राप्त भएका छन् । 

भू–उपग्रह मार्फत प्राप्त तस्वीरबाट चीनको दक्षिणमा रहेको सैन्य अखाडामा यो तयारी चलिरहेको पाइएको हो । यहाँको सैन्य भण्डारबाट नजिकको समुद्री तटमा ब्यालेस्टिक मिसाइल ओसारिंदै गरेका दृष्य प्राप्त भएका छन् । चीन पानीमुनि हुने परमाणु युद्ध क्षमताको विकास गरी अमेरीका तथा रुसको प्रतिस्पर्धी बन्न चाहन्छ । 

पानीमुनि परमाणु युद्ध क्षमताको  विकास गरेर  चिनीयाँ राष्ट्रपति सी जिनपिंग एशिया महाद्वीपमा रहेको अमेरिकी सैन्य  उपस्थितिलाई चुनौती दिन चाहन्छन् । यसका लागि चीन नौसैनिक क्षमता वृद्धि गर्न लागिपरेको छ ।   

परमाणु हतियारजडित पनडुब्बी विकास गर्ने चीनको छ दशक लामो सपना अब छिटै साकार हुने संकेत देखिएको छ ।