मोक्ष प्रतिपादक साम वेद भित्रको 'बृह साम' :आत्म साक्षात्कार स्थिर र चिरस्थायी हुने अवस्था

मोक्ष प्रतिपादक साम वेद भित्रको 'बृह साम' :आत्म साक्षात्कार स्थिर र चिरस्थायी हुने अवस्था

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार २६, २०७८

मृत्युः सर्वहरश्चाहमुद्भवश्च भविष्यताम् ।
कीर्तिः श्रीर्वाक् च नारीणां स्मृतिर्मेधा धृतिःक्षमा ।। ३४ ।।

अन्वय र अर्थ – सर्वहरः = सर्वसंहारक, मृत्युः = मृत्यु, च = पनि, अहं = म हुँ, भविष्यतां = भाविकल्पनाका प्राणीहरूको, उद्भवः च = उत्पत्तिको कारण पनि, (अहं = म हुँ), नारीणां = नारीहरूमध्ये, कीर्तिः = कीर्ति, श्रीः = श्री, वाक् = वाणी, स्मृतिः = स्मृति, मेधा = बुद्धि (स्मरण शक्ति), धृतिः = धारण गर्ने शक्ति, क्षमा = क्षमा, च = पनि, (अहं एव = म नै हुँ) ।

भावार्थ – सर्वहर मृत्यु पनि म हुँ, भाविकल्पका प्राणीहरूको उत्पत्तिको कारण पनि म हुँ । नारीहरूमध्ये कीर्ति, श्री, वाक्, स्मृति, मेधा, धृति र क्षमा पनि म हुँ ।

विशिष्टार्थ –'मृत्युः सर्वहरश्चाहं'-ब्रम्हा देखि लिएर स्थावरान्त पर्यन्त जे जति छन् ती सबैलाई 'सर्व' भन्दछन् । जुन महाशक्तिको प्रभावले यस सर्वको हरण हुन्छ अर्थात् रूपान्तर, अवस्थान्तर वा स्थानान्तर हुन्छ त्यसैलाई मृत्यु भन्दछन् । यस मृत्युको हातबाट कोही पनि मुक्त छैन, भुवनकोषका समस्त पदार्थ नै यसको आयत्तमा छन्, यसैको वशमा परा र अपरा प्रकृतिद्वयको संयोग निरन्तर हरण (विच्छिन्न) हुन्छ । प्रलयकालमा यो संहरण क्रिया प्रबल बनेर समुदयलाई एक कालमा (समयमा) संहार गर्दछ । त्यसकारण मृत्यु सर्वहर वा सर्वसंहारक हो । यही भगवान्को नाशिनी शक्ति-तमोगुणको क्रिया हो, अतएव यो भगवत् विभूति हो । त्यसैले भगवान् भन्नुहुन्छ सर्वहर मृत्यु म हुँ ।

'उद्भवश्च भविष्यताम्'-त्यस सर्वहर नाशिनी शक्तिद्वारा प्रलयकालमा सर्वसंहार भएपछि फेरि जुन महाशक्तिद्वारा सृष्टि क्रिया प्रारम्भ हुन्छ त्यही महाशक्तिको नाम उम्द्भवकारिणी वा सृष्टिकारिणी शक्ति- रजोगुणको क्रिया हो । यसकारण यो भगवत् विभूति हो । अतः प्रलय पश्चात् जीवको भावी उद्भव पनि  'म' हुँ ।

चार वेदहरुमध्ये साम एक वेद हो । वेद अन्तर्गत गानको नाम साम हो । यो गीत प्रधान छ । प्रत्येक वेदमा तीन तीन अंश हुन्छन्– कर्म, भक्ति र ज्ञान । सामवेद भित्र मोक्ष प्रतिपादक जुन अंश छ त्यसैको नाम बृह साम हो । म नै मोक्ष स्वरूप हुँ । मेरो नै प्रतिपादन हेतु बृहत् साम 'म' हुँ ।

'कीर्तिः श्रीर्वाक्चेति– भगवान्को यो जुन सृष्टि र संहाररूप क्रिया हो, यसभित्र प्रभुको एक स्थिति सम्पादनकारिणी शक्ति विद्यमान छ, त्यही नै भगवान्को पालिनी शक्ति– सत्वगुणको क्रिया हो । उहाँको यो पालिनी शक्तिले सात सत्वगुणाधिष्ठात्री महाशक्तिरूपले विश्व जगत्को पालना गर्दछ । ती सात शक्ति भनेका कीर्ति, श्री, वाक्, स्मृति, मेधा, धृति र क्षमा हुन् ।

'कीर्ति'–मृत व्यक्तिको ख्यातिलाई भन्दछन् । स्वाधिष्ठान भन्दा तल कामपुरदेखि मूलाधारसम्म यस महाशक्तिको अधिकार छ । संसारमा जे जति कामनाहरू छन्, यो शक्तिले तिनै समुदयको पालन गर्दछ । मनुष्यले कामनाको वशमा रहेर जे जस्तो असल वा खराब काम गर्दछ, शरीरान्तमा त्यो सबै रहन्छ (जस्तो वंश परम्पारमा वंश रक्षा); त्यसैलाई कीर्ति भन्दछन् ।

'श्री'-जसलाई सबैले सेवा गर्दछन् । देवता, गुरु, गुरुस्थान, क्षेत्र, क्षेत्राधिदेवता, सिद्ध, सिद्धाधिकारभन्दा पहिले नै जसको स्थामन छ, त्यस्ती परमाराध्या देवीलाई श्री भन्दछन् । यी देवी  सत्वगुणकी सर्वश्रेष्ठ अधिष्ठात्री देवी हुन्, त्यसकारण सौन्दर्य वा दीप्तिलाई श्री भन्दछन् । सुषुम्ना संलग्न स्वधिष्ठान यिनको लीला भूमि हो, जहाँ रहन्छिन् ती सबैको बृद्धि गर्नु यिनको काम हो ।

'वाक्'- भावव्यञ्जक शब्द हो । शब्द विन्यास तेजको सहायताले उच्चरित हुन्छ । अतः यी श्ब्दाधिष्ठात्री वाग्देवी तेजः स्थान मणिपुर चक्रमा रहन्छिन् ।

'स्मृति'– पूर्वकृत् कर्मको  स्मरणलाई स्मृति भन्दछन् ।  यो महाशक्तिले चारै अन्तःकरण (मन, बुद्धि, अहंकार र चित्त) मा विहार गर्दछ । यसको लीला स्थान अनाहत चक्रको मनोमय कोष हो ।

'मेधा'–जसमा बहुश्रुत सङ्गसमूह विषय सदृश (शब्द, स्पर्श, रूप, रस, गन्ध) व्याप्त रहन्छ त्यसैलाई मेधा वा स्मरण शक्ति भन्दछन् । यसको कार्यको लागि प्रसस्त स्थानको प्रयोजन हेतु यो विशुद्ध  चक्र (आकाश स्थान) मा रहन्छ ।

'धृति' – धारणवतस्शक्ति । यसको स्थान आज्ञा चक्र हो ।

'क्षमा'–सहिष्णुता शक्ति । यसको स्थान सहस्रार हो । यी सात महाशक्तिहरू मातृकारूपले जीवको शरीरमा सामञ्जस्य रक्षा गर्दछन्, त्यसकारण यी सबै नारी संज्ञाभित्र महिमामयी छन् । महिमा ममा नै प्रतिष्ठत छ । अतएव यी सवै मेरो विभूति हुन्, त्यसकारण यी समस्त पनि  'म' हुँ ।

 बृहत्साम तथा साम्नां गायत्री छन्दसामहम् ।
  मासानां मार्गशीर्षोऽहमृतूनां कुसुमाकरः ३५ ।।

अन्वय र अर्त – अहं = म, साम्नां = सामवेदका प्रकणहरू मध्ये, बृकत् साम = बृहत् साम नामक प्रकरण हुँ, तथा = त्यस्तै, छन्दसां = छन्द विशिष्ट मन्त्रहरूमध्ये, गायत्री = गायत्रीमन्त्र हुँ, अहं = म, मासानां = महिनाहरूमध्ये, मार्गशीर्षः = मंसिर महिना हुँ, ऋतूनां = ऋतुहरूमध्ये, कुमुमाकरः = वसन्त ऋतु हुँ ।

भावार्थ – म सामवेदभित्र बृहत् साम हुँ, छन्दहरूमध्ये गायत्री छन्द, महिनाहरूमध्ये मंसिर र ऋतुहरुमध्ये वसन्त ऋतु हुँ ।

विशिष्टार्थ – चार वेदहरुमध्ये साम एक वेद हो । वेद अन्तर्गत गानको नाम साम हो । यो गीत प्रधान छ । प्रत्येक वेदमा तीन तीन अंश हुन्छन्– कर्म, भक्ति र ज्ञान । सामवेद भित्र मोक्ष प्रतिपादक जुन अंश छ त्यसैको नाम बृह साम हो । म नै मोक्ष स्वरूप हुँ । मेरो नै प्रतिपादन हेतु बृहत् साम 'म' हुँ ।

'गायत्री'-गायन्त्रं त्रायते इति गायत्री–जसको गान गर्नाले यस भवसागरमा आउने जाने क्रम छुट्छ । यो गायत्री चौवीस अक्षरहरूमा लघु गुरु वर्णहरूले सजिएको छ, त्यसकारण यसलाई छन्द भन्दछन् । जति प्रकारका छन्द छन् ती छन्दहरू मध्ये गायत्री प्रधान छ । यस छन्दको यस्तो प्रभाव छ कि गायत्रीमन्त्रको गान गर्नाले सर्ववेदविद् बनेर  ब्रम्हस्वरूप लाभ हुन्छ । अरू कुनै छन्द यस्तो छैन, त्यसकारण म गायत्री हुँ ।

'मासानां मार्गशीर्षोऽहम्'– मृगशिरा नक्षत्रमा सूर्यको भोगकाललाई मार्गशीर्षमास भन्दछन् । जब लोक जगत्मा प्रथम कालको बोधक ज्योतिषको प्रकाश भयो अर्थात्  जब अतीत अनागतादि रूपले काल मनुष्यहरूको बोधगम्य भयो तब दिन, सप्ताह, पक्ष, मास, वर्ष  प्रभृति श्रेणीको विभाजन भयो । त्यसबेला प्रथम वर्ष जुन महिनाबाट गन्न शुरू गरिएको थियो त्यसैलाई अग्रहायण भन्दछन् । अग्र = प्रथम, हायन = वर्ष हो । म ज्ञान रूप हुँ, त्यही ज्ञान यस अग्रहायण वा मार्ग शीर्ष महिनाबाट पहिलो प्रकाश भएको थियो, त्यसकारण जति मास महिना छन् ती मध्ये म मार्गशीर्ष हुँ ।

'ऋतूनां कुसुमाकरः'– वृक्षको सूक्ष्मतम अंश कुसुम हो, वृक्षको तुलनामा मनुष्यको कुसुम ज्ञान हो । नातिशीत नाति उष्ण हुनाले वसन्त ऋतुमा वर्षा नभए तापनि माटो सरस हुनाले ती सबै वृक्षहरूमा सूक्ष्मांशको विकास हुन्छ, त्यसबाट उनीहरूको सौन्दर्य बृद्धि हुन्छ, प्रकृतिको पनि शोभा बढ्छ, फेरि मनुष्यहरूमा पनि शारीरिक स्फूर्ति बृद्धिका साथ ज्ञान कुसुमको विकास हुन्छ, अर्थात् यस समयमा मस्तिष्क स्वभावतः पुष्ट र स्निग्ध हुनाले अरू ऋतुहरूभन्दा साधनामा  अन्तर्लक्ष्य सुगम हुन्छ । त्यसकारण वसन्त ऋतुलाई कुसुमाकर र वसन्तलाई ऋतुराज भन्दछन् ।

पदार्थहरूको सूक्ष्मतम अंश नै आत्म–चैतन्यको अंश विकास वा विभूति हो । त्यही अंश विकास यस वसन्तऋतुमा प्रस्फुटित हुन्छ, त्यसकारण वसन्तऋतु नै भगवान्को विभूति हो । यो त भयो बाहिरको कुरा । अव भित्र साधनामा साधक जब प्राणायामको फलले कूटस्थमा स्थिरता लाभ गर्छन् तब अन्तर प्रदेशले मनोरम आकार धारण गर्दछ,  त्यस समयमा मन प्रफुल्लित भएर अव्यक्त आनन्दमा मस्त हुन्छ, यो नै साधकको साधनाको  वसन्त ऋतु हो, त्यसैबेला उनीहरूको आत्मज्ञानरूप कुसुमको विकास हुन्छ, त्यसै कुसुमबाट नै आत्म साक्षात्काररूप फलोत्पन्न हुन्छ । यो नै वसुदेवको पुत्रोत्पत्ति हो ।

जबसम्म ज्ञान पूर्ण विकसित हुँदैन तबसम्म आत्म साक्षात्कार अचिरस्थायी हुन्छ अर्थात् मायाको आकर्षणमा केही छिन पछि विनष्ट हुन्छ । यो नै वसुदेवका छ पुत्रहरू विनष्ट हुनुको तात्पर्य हो । यी सबै षट्चक्रभित्र साधनाको उन्नतिको क्रममा भङ्ग समाधिका क्रिया हुन् । पश्चात् षट्चक्र पार भएर सप्तम भूमि सहस्रारमा पुगेपछि ज्ञान पूर्ण विकसित हुनाले मायाले साधकलाई लक्ष्य भ्रष्ट गराउन सक्दिन, अतः आत्म साक्षात्कार स्थिर र चिरस्थायी हुन्छ । यो नै वसुदेवका सप्तम र अष्टम पुत्रको विनष्ट नहुनुको तात्पर्य हो । यी सबै कारणले नै भित्र बारिह वसन्त ऋतुको प्राधान्यता छ, त्यसैले भनिएको हो – ऋतुहरू मध्ये म कुसुमाकर वसन्त हुँ ।

    द्यूतं छलयतामस्मि तेजस्तेजस्विनामहम् ।
    जयोऽस्मि व्यवसायोऽस्मि सत्वं सत्ववतामहम् । ३६ ।।

क्रमश

याे पनि 

उच्चैः श्रवा अश्वहरू मध्ये प्रधान : विच्छैद नै मृत्यु र अविच्छेद अमृत !

कामधुक शब्दको अनुभूति : भोगेच्छामा जुन अविरोधी आत्मकम्पनकाे सम्झना

स्थूल शरीरको आश्रय: पञ्च कर्मेन्द्रिय,पञ्च ज्ञानेन्द्रिय र पञ्च प्राण लिएर मन बहिर्मुखी वृत्ति विषय भोगको अविनता !

शरीरको शास्ता वा शासक : आत्मा र परमात्माको रमणकार्यको मिलन रूप

वादको प्रवर्द्धन : सत्यको निर्धारण गरी जिज्ञासा शून्यताको चरण