प्रह्लाद पोखरेल : प्रशासन, प्राध्यापन र लेखनमा जमेको नाम

प्रह्लाद पोखरेल : प्रशासन, प्राध्यापन र लेखनमा जमेको नाम

आशिष पौडेल  |  अन्तर्मन्थन  |  असार २६, २०७८

पारिवारिक पृष्ठभूमिले उहाँलाई कवि बनायो । जीवन निर्वाहले प्रशासक बनायो । अनि बौद्धिक व्यक्तित्व निर्माणका खातिर प्राध्यापक बनायो । 

प्रशासक, प्राध्यापक तथा कवि उहाँलाई केवल पृष्ठभूमि, शिक्षा र वातावरणले मात्र बनाएको होइन । इमानदार छवि, केही उत्कृष्ट गर्ने हुटहुटी तथा आफू जन्मेको देश अनि समाजमा आफ्नो केही दायित्व पनि रहन्छ भन्ने एउटा परिष्कृत सोचले उहाँलाई उत्कृष्ट बनाएको हो । 

उत्कृष्ट अनि सर्वोत्कृष्ट बन्ने होड भन्दा पनि एउटा असल मानवका रुपमा आफ्नो परिचय स्थापित होस भन्नेमा दृढ देखिनुहुन्छ कवि प्रल्हाद पोखरेल  । 

पारिवारिक अवस्था

उहाँको बुवा हुलाकको जागिरे । जागिरको सिलसिलामा धनकुटा तेह्रथुमतिर धेरै गइरहनु हुन्थ्यो उहाँ । यसै सिलसिलामा उहाँको बसाइ पनि तेह्रथुमको वसन्तपुर तिर नै भयो । अनि उहाँले त्यहाँ सानो किराना पसलको व्यवसाय समेत सुरु गर्नुभएको थियो । उहाँका अनुसार उहाँका बुवा लगायत अन्य प्रौढहरुको भेलाले त्यस बेलाको बिब्ल्याँटे भञ्ज्याङलाइ वसन्तपुर नामकरण समेत गर्नुभएको हो । 

बुवा मूलतः कृषि पेसा नै अवलम्बन गर्ने बताउनुहुन्छ उहाँ । तर, साथमा जोडिएर जागिर तथा व्यापार पनि आएको हो । यी सबै हेर्दा मध्यम वर्गीय परिवार रहेको उहाँले बताउनु भयो । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०१४ सालमा खोटाङको कुभिण्डे गाउँमा भएको हो । हाल भने उहाँको जन्मस्थान कुभिण्डे रावावेसी गाउँपालिकाको एक नम्बर वडा अन्तर्गत पर्छ । 

उहाँको दुई आमाका तर्फबाट तीन छोरा र पाँच जना छोरी । त्यसमध्ये उहाँ जेठो । उहाँको घरबाट स्कूल टाढा थियो । टाढा स्कुल अनि हजुरबा, हजुरआमा तथा बुवाको नातिलाई पढाउने इच्छाका कारण उहाँ सुरुदेखि नै खोटाङ नबसेर भोजपुर गएर बस्नुभयो । जहाँ उहाँको ठूली फुपूको घर थियो । 

कवि दैवज्ञराज न्यौपानेको आमा नै उहाँको ठूली फुपू हुनुहुन्छ । उहाँको फुपाजु गणेश न्यौपाने त्यस बेलाको नामुद पण्डित तथा पुराण वाचक हुनुहुन्थ्यो । त्यसैले घरमा धार्मिक, आध्यात्मिक एवं अनुशासित वातावरण थियो । अनि बारीमा फलफूल पनि प्रशस्त थिए । त्यस कारण अन्त गएर चोर्नु पर्ने, बिज्याँइ गर्ने र चकचक गर्ने बचपनको वातावरण नै बनेन । 

तर, यसको अर्थ बालापनका केही बदमासी नै भएन भन्ने होइन । काँक्रो चोरेर खाएको अनि दही चोरेको राम्रै अनुभव छ उहाँको । 

प्रारम्भिक शिक्षा

अक्षर चिन्ने र सामान्य चण्डी तथा संस्कृत पढ्ने काम भने उहाँले घरमा नै सम्पन्न गर्नुभएको हो । तर, स्कूलको औपचारिक शुरुवात भने भोजपुर गाेगनेको विद्येश्र्वर संस्कृत पाठशालाबाट भयो । चण्डी घरमै पढेकोले उहाँको नाम दुई कक्षामा लेखियो । उहाँले दुई कक्षादेखि छ कक्षासम्म उक्त पाठशालामा पढ्नु भएको हो । 

त्यसबेला पाठशालामा डेस्क बेन्च थिएन । सुकुलमै बसेर पढ्नु पथ्र्यो । कक्षामा पन्ध्र/बिस जना हुन्थे । शायद संस्कृत पाठशाला भएका कारण महिलाहरूको सहभागिता शून्य नै थियो । 

यस पछाडिको कारणबारे प्रस्ट्याउँदै उहाँ भन्नुहुन्छ, ‘जागिर मेरो गुजारा तथा निर्वाहको कारण हो । तर, लेखन मेरो मूल उद्देश्य थियो ।’  यसका पछाडि पनि कारण रहेको उहाँ बताउनुहुन्छ । कारण उहाँको भान्दाइ कवि तथा साहित्य सृजनामा नाम कमाइसकेको तथा प्राध्यापनतर्फ रहेका कारण पनि उहाँको मन सृजना तथा प्राध्यापन दुवैतर्फ लहसिएको थियो । 

त्यसबेला पाठशालामा महिनाको दुई दिन पठन पाठन नगरी अतिरिक्त क्रियाकलाप गर्ने प्रचलन थियो । गुरुहरूले उक्त दुई दिन साहित्य साधना वा भनौँ केही न केही लेखेर समूह वा भनौँ गोष्ठी जस्तो गरेर प्रस्तुत गर्न लगाउनु हुन्थ्यो । 

अनि रचना प्रस्तुत गरिसकेपछि कपि अथवा अन्य पाठ्य सामग्री पुरस्कार स्वरूप दिने प्रचलन समेत थियो । जसले साहित्य साधना गर्न वा रचना गर्न हौसला प्रदान गर्थ्यो । 

उहाँ भन्नुहुन्छ लेख्न सिकेको वा लेख्ने आधार भनेको नै त्यही हो । 

अर्को कुरा उहाँको दाजु दैवज्ञराज न्यौपानेको त्यस बेलासम्म समाजमा वा साहित्यिक वृत्तमा नाम चलिसकेको थियो । जसका कारण पनि साहित्य सृजना भनेको राम्रो कुरा रहेछ भन्ने उहाँको मस्तिष्कमा परेको थियो । 

भोजपुर पछि उहाँको पढाइ धरानको पिण्डेश्वर संस्कृत महाविद्यालयमा भयो, जहाँ उहाँले आठ कक्षादेखि प्रवेशिकासम्मको अध्ययन गर्नुभयो ।  उक्त महाविद्यालयमा पनि संस्कृत पठनपाठन हुने भएकोले महिलाहरूको सहभागिता भने थिएन । कक्षामा झण्डै पन्ध्र, बीसजना विद्यार्थी हुन्थे । 

उहाँ तीक्ष्ण विद्यार्थी पनि होइन न त लन्ठू नै । उहाँ तीन, चार जना भित्र पर्नुहुन्थ्यो । उहाँले २०३० सालमा प्रवेशिका परीक्षा पास गर्नुभएको हो । त्यसबेला पूरानो शिक्षा अन्तर्गत ‘ख’ वर्गमा रहेर अङ्ग्रेजी पढ्न पाइन्थ्यो । 

उहाँले अङ्ग्रेजी विषय लिएर द्वितीय श्रेणीमा प्रवेशिका उर्तिण गर्नुभएको हो । एसएलसीमा अङ्ग्रेजी सहितको पूर्व मध्यमा गरेका कारण उहाँ उत्तर मध्यमा,  आचार्य नगरी आइए, बिए पढ्न तिर लाग्नुभयो । 

तर, प्रवेशिका पछिका दुई वर्ष उहाँका विना लेखपढ बिते । कारण थियो बुवाको व्यापार । जो उहाँले अर्को एक जना मानिससँग मिलेर साझेदारीमा गर्नुभएको थियो ।  पछि साझेदारले छोड्ने भएपछि हेर्ने मान्छे चाहियो । बुवाको जागिर यथावत् नै थियो । त्यसैले जेठो छोरो भएका नाताले पनि त्यो जिम्मेवारीबाट उहाँ टाढिन सक्नु भएन । तर, अन्तर हृदयमा पढाइको भोक छँदै नै थियो ।  

पढाइको भोकले उहाँलाई २०३३ सालमा काठमाडौँसम्म डोर्‍यायो । तर पनि त्यसयताका सात वर्ष अर्थात् २०४० सम्म औपचारिक पढाइ भने भएन । 

विवाह

उहाँको मागी विवाह । २०३२ सालमा । त्यसबेला उहाँको उमेर केवल १९ वर्षको थियो । उहाँको दुई सन्तान । दुवै छोरी । जेठी छोरी क्यानडामा अध्यापन गर्दै हुनुहुन्छ । कान्छी छोरी भने बिएस्सी नर्सिङ गरेर पढाउँदै हुनुहुन्थ्यो । तर, हाल भने एमएस्सी नर्सिङ पढ्दै हुनुहुन्छ । 

काठमाडौँ यात्रा

उहाँ काठमाडौँका लागि धरानबाट कमलासम्म गाडीमा आउनु भयो । कमला नदीमा त्यस बेलामा पुल थिएन । असारको समय भएका कारण नदीमा बाढी आएको थियो । 

असारको भेलमा फेरीले गाडी तार्न सक्ने अवस्था नभएपछि उहाँहरू राजविराजतर्फ फर्कनुभयो । त्यसपछि राजविराजबाट भारत छिरेर रक्सौल पुगेर रेलबाट वीरगन्ज हुँदै काठमाडौँ आउनु भएको हो । 

काठमाडौँमा गाडी सुनधारामा रोकियो । उहाँको दाइ बबरमहलमा बस्नु भएको थियो । गाडिबाट झरेर भद्रकाली हुँदै सिंहदरबारको त्यस बेलाको आलिशान ‘शान’ले उहाँलाई तीन छक नपारेको होइन । यद्यपि काठमाडौँका बारे पढेको, सुनेको तथा दाइहरूसँगको पत्राचारले काठमाडौँ एक प्रकारले परिचित नै थियो । 

उहाँ भान्दाइ अर्थात् कवि दैवज्ञराज न्यौपानेको कोठामा करिब तीन/ चार महिना बस्नुभयो । अनि त्यसपछि उहाँको डेरा सराइ भयो डिल्लीबजारमा । त्यहाँ उहाँ एउटै डेरामा छ वर्ष बस्नुभयो । 

डेरा भाडा थियो महिनाको असी रुपैयाँ । कोठा ठूलो तथा लामो थियो । तीन/चार जना साथीको बसाइ थियो डेरामा । एक जनाको भागशान्ति बीस रुपैयाँ हुन आउँथ्यो भाडा । तर, पैसाको कष्टकर भएको त्यो समय बिस रुपैयाँ जुटाउन पनि सजिलो थिएन, उहाँ भन्नुहुन्छ । 

त्यसपछि उहाँको बसाइ सराइ भयो गौशालामा । बागबजारबाट डिल्लीबजार नै टाढा लाग्ने उक्त समयमा गौशाला त महाभारत नै भैगो । अब अहिले हेर्दा काठमाडौँका कुन ठाउँ टाढा र कुन नजिक खुट्ट्याउन गाह्रो हुने समय पनि आयो, उहाँ भन्नुहुन्छ । 

पढाइको हुटहुटी

बुवाको व्यापारका कारण दुई/तीन वर्ष छुटेको पढाइ छिटै सक्ने एक प्रकारको हुटहुटी थियो उहाँमा । त्यसैले उहाँ काठमाडौँ आउनु अघि नै आइएको प्राइभेट फर्म भरिसक्नु भएको थियो । उहाँलाई क्याम्पस जाउँ जस्तो नलागेको भने होइन । तर, क्याम्पस जानु अगावै यता प्राइभेट परीक्षाको नतिजा आइसक्ने हुनाले अर्को तहको लागि हतारो भइसक्थ्यो । त्यस कारण पनि उहाँलाई क्याम्पसको मोह रहँदा रहँदै पनि क्याम्पस र उहाँका बीच ३६ को आँकडा रह्यो । परस्पर विपरीत ।  उहाँले २०४० सालमा नेपाली विषयमा एमए गर्नुभयो । 

जागिरको सिलसिला

घरमा भनेको भए उहाँको काठमाडौँको खर्च नजुट्ने होइन यद्यपि उहाँले काठमाडौँको बसाइमा कहिले पनि घरबाट खर्च मगाउनु भएन । यसको पछाडि सानैदेखि आत्मनिर्भर हुनुपर्छ भन्ने सोचको विकास होला उहाँ भन्नुहुन्छ । 

अर्कोतिर बुवाको व्यवसाय छोडेर पढ्नका लागि एक प्रकारको विद्रोह नै गरेर आएका कारण पनि उहाँले हात फैलाउनु उचित ठान्नु भएन । उहाँको पहिलो आधिकारिक जागिर भने त्यसबेला सिंहदरबार भित्र रहेको राष्ट्रिय कम्प्युटर केन्द्रबाट भएको हो । त्यहाँ उहाँले करिब छ वर्ष काम गर्नुभयो । 

त्यसबेला उहाँको तलब थियो दुई सय नब्बे रुपैयाँ । यो २०३४ सालको कुरा हो । त्यसबेला उक्त रकमको महत्त्व बेग्लै थियो । उहाँको जीवनको पहिलो आधिकारिक कमाइ भने त्यसबेला बसाइका लागि चाहिने आवश्यक सर जाम जोड्दैमा सकिए । 

करिब छ वर्ष उहाँले राष्ट्रिय कम्प्युटर केन्द्रमा काम गर्नुभयो ।  बिए पास भइसकेपछि नै उहाँले लोकसेवाको परीक्षा दिन थाल्नुभएको हो । एमए सक्दा नसक्दै लोकसेवामा उहाँको नाम निस्कियो अधिकृतमा । 

अधिकृतका रुपमा उहाँको सेवा प्रवेश सूचना तथा सञ्चार मन्त्रालयमा भएको थियो । शाखा अधिकृतको पुरै अवधि तथा उप–सचिवको पनि तीन वर्षको अवधि गरी करिब उन्नाइस वर्ष उहाँले सूचना तथा सञ्चार मन्त्रालयमा बिताउनु भयो । 

लामो समय एउटै मन्त्रालयमा हुनुको पछाडि भने उहाँ आफूमा असन्तुष्ट स्वभाव नभएका कारण हो भन्नुहुन्छ । जे जस्तो वातावरण छ त्यसलाई आफ्नो बनाउने भन्ने सोचले पनि काम गरेको हुनसक्ने उहाँको बुझाइ छ । 

जागिरमा स्वाभाविक रूपले हुने सरुवा बाहेक उहाँले कहिले कतै पनि सरुवा माग्नु भएन । र, प्रतिकुल परिस्थितिमा भएका सरुवामा पनि कहिल्यै असन्तुष्टि अथवा अनिच्छा जाहेर गर्नुभएन उहाँले । 

यस पछाडिको कारणबारे प्रस्ट्याउँदै उहाँ भन्नुहुन्छ, ‘जागिर मेरो गुजारा तथा निर्वाहको कारण हो । तर, लेखन मेरो मूल उद्देश्य थियो ।’  यसका पछाडि पनि कारण रहेको उहाँ बताउनुहुन्छ । कारण उहाँको भान्दाइ कवि तथा साहित्य सृजनामा नाम कमाइसकेको तथा प्राध्यापनतर्फ रहेका कारण पनि उहाँको मन सृजना तथा प्राध्यापन दुवैतर्फ लहसिएको थियो । 

यसै मेसोमा उहाँले पच्चीस वर्ष बानेश्वर क्याम्पसमा प्राध्यापन पनि गर्नुभयो । अनि सरुवा नमाग्नुको अर्को कारण यो पनि रहेको उहाँले खुलाउनु भयो । 

जागिर, प्राध्यापन तथा लेखन

लेखन उहाँको पहिलो प्राथमिकतामा परे पनि व्यवहारिक कठिनाइका कारण यो कहिले पनि पहिलो प्राथमिकतामा भने परेन । केवल उब्रेको समयमा लेख्ने जस्तो भयो, उहाँ भन्नुहुन्छ । 

जागिरमा एउटै अफिसमा उन्नाइस वर्ष गुजार्नुका पछाडि लेखन तथा प्राध्यापनको मोह त छँदै थियो । अनि एउटै अफिसमा निरन्तर यति लामो समय गुजार्दा पनि त्यसमा अविचलित नहुनुको पछाडि अर्काे बेग्लै कारण पनि थियो । 

सञ्चार मन्त्रालय आफैँमा विविधतायुक्त मन्त्रालय हो । जसमा प्राचीन हुलाक सेवा विभागदेखि दूरसञ्चार जस्तो अत्याधुनिक अफिस अनि चलचित्र निर्माण कम्पनी, रेडियो नेपाल, नेपाल टेलिभिजन आदि एकदमै फरक प्रवृत्तिका कर्म भएका कारण पनि सरुवा मागेर अन्त जाउन् जस्तो भएन उहाँ भन्नुहुन्छ । 

अर्को कुरा भनेको सुरु देखि नै नीति निर्माणका तहमा बसेर काम गरेकाले पनि फरक कुरा बुझ्दै जाने र नीति नियम बनाउने कारणले पनि काममा निरसपन कहिल्यै अनुभव गर्नुपरेन उहाँ भन्नुहुन्छ । 

२०६० सालमा भने उहाँको सरुवा स्थानीय विकास मन्त्रालयमा भयो । उक्त समयमा स्थानीय विकास अधिकारीका रुपमा उहाँ आफ्नै गृह जिल्ला खोटाङमा जानुभयो । 

तर, माओवादी विद्रोह उत्सर्गमा भएका कारण काठमाडौँबाट जाने कसरी, आउनु पर्दा आउने कसरी र दिनभर काम गरेपछि राति बास बस्न कहाँ जाने भन्ने सम्मको त्रासको वातावरण थियो । त्यसैले सोचे अनुरूप काम गर्न सकिँदैनथ्यो ।  तर, त्यसले उहाँको लेखनमा भने मद्दत गर्‍यो । र, उहाँले खोटाङ बसेकै बेला खोटाङ डायरी भन्ने पुस्तक समेत लेख्नुभयो । 

त्यसपछि उक्त विद्रोहको समयमा फेरि अरूले नचाहेको गृह मन्त्रालयमा उहाँको सरुवा भयो । कतिपयले सरुवा स्थगित पनि गराए । तर, उहाँ भने स्वाभाविक रुपमा नै सरुवा भए ठाउँमा जानुभयो । 

र, उहाँ सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा जनकपुर जानुभयो । तराइको अनुभव नभएको उहाँलाई यो अर्को अवसर भयो तराइ बुझ्ने । जनकपुर बस्दा उहाँलाई तराइका प्रचलन, संस्कृति अनि संस्कार बुझ्ने अवसर मिल्यो र त्यसले फेरि उहाँलाई लेखनमा ऊर्जा दियो । त्यहाँ बस्दा पनि उहाँको एउटा नयाँ लघुतम काव्य कृति निस्कियो जनकपुरधाम । 

त्यसपछि फेरि उहाँको सरुवा गृह मन्त्रालयमै भयो । उहाँ लामै समय बस्नुभयो गृहमा । गृह मन्त्रालयमा बस्दा स्वाभाविक रूपमै सबैको आँकाक्षी पद हो प्रमुख जिल्ला अधिकारी । तर, उहाँले कहिले पनि यसका लागि रुचि देखाउनु भएन, उहाँ भन्नुहुन्छ । 

पछि भने उहाँलाई गृहले प्रमुख जिल्ला अधिकारीका रुपमा दोलखामा पठायो । र, त्यहीँबाट सेवा निवृत्त भएर हाल उहाँ आफ्नो लेखन कर्ममा रमाइरहनु भएको छ । 

प्राध्यापकका रुपमा पनि लामो समय प्राध्यापन गर्नुभएको उहाँको अनुभवले प्राध्यापन भनेको विद्यार्थीका लागि पढ्ने एउटा उपयुक्त वातावरण बनाउनु र उत्प्रेरित गर्नु नै वास्तविक पढाइ हो । किनकि पाठ्य पुस्तकमा लेखिएका अक्षर त विद्यार्थीले पढ्न जानेकै हुन्छ । त्यसका विषयमा विद्यार्थीको रुचि बढाएर आफैँ उत्प्रेरित हुने वातावरण दिन सकियो भने त्यो नै पढाइ अनि सिकाइ हुने उहाँको बुझाइ रहेको छ । 

उहाँले विद्यार्थीका लागि कक्षामा केही समय अनौपचारिक रुपमा पनि राख्ने गर्नुहुन्थ्यो । हप्तामा एक दिन उहाँले अतिरिक्त क्रियाकलाप गराउनुहुन्थ्यो जसले गर्दा विद्यार्थीलाई विषयप्रति चासो बढोस् र पढेका कुरा भन्न लगाउँदा अरु विद्यार्थी पनि उत्प्रेरित भएर पढेका कुरा भन्न उत्साहित हुन्छन् यो नै वास्तविक सिकाइ हो जस्तो लाग्छ उहाँलाई । 

प्रशासक, प्राध्यापक अनि लेखकका यी विविध पाटो हुँदा कुनै एउटा पाटोले अर्को पाटोलाई अवरोध पुर्‍याएको अनुभव भने उहाँले कहिल्यै गर्नुपरेन । बरु यी सबै एक अर्काका सहयोगीका रुपमा रहे उहाँ भन्नुहुन्छ । साहित्य साधना, सरकारी सेवा र प्राध्यापनलाई उहाँ ओदानका तीन वटा चम्काका उपमा दिन रुचाउनु हुन्छ । 

एउटा कठोर प्रशासकका रुपमा चिनिने सिडिओ र नम्र, भलादमी तथा कवि प्रह्लाद पोखरेलबिच सामञ्जस्य कतै नमिलेको सन्दर्भमा उहाँ प्रस्ट हुनुहुन्छ कानुन कार्यान्वयनमा नरम भएर चल्दैन तर अन्य व्यवहार भने देखिए जस्तै आफ्नो व्यक्तित्व रहेको पनि उहाँले प्रस्ट पार्नुभयो । 

प्रकाशन

उहाँले कविताका तीन वटा विधा गद्य, छन्दोबद्ध र गीति संरचनामा कलम चलाउनु भएको छ । र, तीनै वटा विधामा उहाँका कृति प्रकाशित छन् । 

उहाँको पहिलो प्रकाशित कृति ‘आजको आकाश’ संयुक्त कविता सङ्ग्रह हो । जसमा पाँच जना कविहरू क्रमशः आरके धर्मस्थली, रवीन्द्र आशिष् शैली, जीवराज घिमिरे, राजेन्द्र प्रसाद अधिकारी तथा उहाँ स्वयंको कविता रहेको छ । उहाँहरूको संयुक्त लेखनको त्यो प्रयास अहिले पनि निरन्तर नै छ । आजको आकाश, २०६३ मा निस्केपछि फेरि २०७८ मा पनि प्रकाशनमा रहेको छ । 

गीति–यात्रा नामक गीति कविता सङ्ग्रह, जीवन्त यात्रा गद्य कविता सङ्ग्रह, गोसाईंकुण्ड यात्रा काव्य, सारथि छन्दोबद्ध कविता सङ्ग्रह, खोटाङ डायरी लगायत थुप्रै कविता सङ्ग्रह प्रकाशित भएका छन् । 

पुरस्कार र सम्मान :

१. भूपालमानसिंह कार्की युवा साहित्य पुरस्कार, (नइ प्रकाशन, काठमाडौँ),२०५३
२. शिवप्रसाद उन्नयन पुरस्कार, (उन्नयन प्रकाशन, काठमाडौँ),२०५४
३. गेरु-अम्बिका कोइराला वाणी सम्मान, (वाणी प्रकाशन, विराटनगर),२०६१
४. गङ्गालक्ष्मी साहित्यिक पुरस्कार, (जनकपुरधाम, धनुषा),२०६१
५. महाकवि देवकोटा शताब्दी काव्य सम्मान, (काठमाडौँ),२०६६
६. गणेश(खिलकुमारी जनमत सम्मान, (जनमत प्रकाशन, बनेपा, काभ्रेपलान्चोक),२०६७
७. शिरोमणि सम्मान (शिरोमणि पुस्तकालय, विराटनगर, मोरङ),२०६९
८. नेपाल सांस्कृतिक सङ्घ पुरस्कार, डिल्लीबजार, काठमाडौँ,२०६९
९. महाकवि देवकोटा पुरस्कार, नित्य राज पाण्डे प्रज्ञा प्रतिष्ठान, काठमाडौँ,२०७२
१०. हरिकला-गुणाकर दायित्व रचना पुरस्कार, दायित्व वाङ्मय प्रकाशन, काठमाडौँ,२०७२
११. व्यथित काव्य वनिता पुरस्कार, वनिता प्रकाशन, काठमाडौँ,२०७३
१२. भानुभक्त सम्मान, नेपाली जनकल्याण समिति, कोलकता, पश्चिम बङ्गाल, भारत,२०७३
१३. रमेश विकल सृजनशील साहित्य पुरस्कार, रमेश विकल साहित्य प्रतिष्ठान, काठमाडौँ,२०७४
१४. नरेन्द्र वाङ्मयनिधि सम्मान, २०७५, नरेन्द्र वाङ्मयनिधि तथा नुवाकोट साहित्य प्रतिष्ठान,२०७६
१५. सुन्दर प्रसाद शाह 'दु:खी' स्मृति पुरस्कार, २०७५
१६. बिपी-भूपी मञ्जुश्री साहित्यिक पुरस्कार,  (मञ्जुश्री साहित्यिक प्रतिष्ठान, काठमाडौँ),२०७७

विभूषण, मानपदवी, अलङ्कार, पदक
तेस्रो सार्क शिखर सम्मेलन पदक,२०४४
गोरखा दक्षिण बाहु चौथा,२०४९
गद्दी आरोहणको रजत महोत्सव ९२०२८-२०५३०,२०५३
जानपद सेवा पदक,२०५५
दैवी प्रकोप पीडितोद्धार पदक, २०६१
प्रबल जनसेवाश्री,२०६९

कविताका बारे 

गद्य र गीति कवितामा प्रायः सबैले कलम चलाउने र पद्य कवितामा छन्दको अनुशासनमा रहेर कलम चलाउन जो कोहीलाई गाह्रो हुने हुँदा २०५० साल पछि भने उहाँ छन्दोबद्ध कवितामा बढी नै सक्रिय हुनुहुन्छ । 

र, यसका लागि उहाँहरूले कवि रमेश खकुरेलको अध्यक्षतामा ०५३ साल असार २२ गत कोठे कवि गोष्ठी अर्थात् कोक गोष्ठी भनेर सुरु गर्नु भएको छ । 

कोक गोष्ठीमा विभिन्न कविका घरमा जम्मा भएर चिया बिस्कुट खाँदै कविता वाचनको कार्यक्रम गर्ने गरेको छ । यसले कविता वाचन मात्र नभएर राम्रो भए तत्काल वाहवाही अनि नमिलेका खण्डमा यहाँ यहाँ त्रुटि भयो भनेर सुझाव दिने काम समेत गर्नुहुन्छ जसका कारण लेख्न सिक्ने तथा उत्प्रेरणाको काम पनि एकै पटक हुने गरेको उहाँको भनाइ छ । 

पहिले पहिले छन्दोबद्ध कविता लेख्नेलाई उडाएर ‘छन्दे’ भन्ने गरिएकामा हाल सङ्ख्या ठूलो नभए पनि छन्दप्रति आकर्षण बढेको राम्रा कविहरूको जन्म हुँदै गरेको पनि उहाँले बताउनुभयो । 

गद्य, पद्य वा गीति जुनसुकै विधा भए पनि शब्द थोपरेका भरमा कविता नहुने उहाँ बताउनुहुन्छ । छन्दमै पनि छन्द मिलेर मात्र कविता नहुने बरु त्यसका शब्दले बोक्ने भाव, बहाव र माधुर्यले मात्र कविता बन्ने उहाँको ठम्याइ छ । 

अर्थात् कवित्व नभएका कुनै पनि कविता भनेका प्राण विनाका शरीर मात्र हुन । प्राण नभएको शरीरलाई बाहिरबाट जतिसुकै सुन्दर पहिरन दिए पनि त्यो जीवन्त र सजीव नलागे जस्तै हो कवित्व नभएका कविता उहाँ भन्नुहुन्छ । 

कविताका सन्दर्भमा लाग्दा नेपाली शिक्षा परिषद्, दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान, साहित्य सदन नेपाल, डा.राजेन्द्र विमल प्रतिष्ठान, रमेश विकल साहित्य प्रतिष्ठान, भानु प्रतिष्ठान, बानेश्वर सर्जक समाज लगायत विभिन्न संघसंस्थाहरुमा समेत संलग्नता रहेको छ, एक सफल प्रशासक, प्राध्यापक तथा सर्जक प्रल्हाद  पोखरेलको ।