सेतो व्हेलको रहस्य

सेतो व्हेलको रहस्य

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६



काठमाडौं, एजेन्सी

नर्वेको समुद्री किनारामा भेटिएको सेतो व्हेल अहिले चर्चाको शिखरमा छ । नर्वेमा फेला परेको यो सेतो व्हेलका कारण धेरै देश चनाखो भएका छन् । 
नर्वेका विशेषज्ञका अनुसार यो रुसी व्हेल हुनसक्छ । यसको शरीरमा एक प्रकारको पट्टी भेटिएको छ । यस व्हेललाई रुसले जासूसी प्रयोगका लागि प्रशिक्षित गरेको हुनसक्ने अनुमान नर्वेका विशेषज्ञहरुले गरेका छन् ।  

सेतो व्हेल विशेष गरी आर्कटिक क्षेत्रमा पाइन्छ । यो सेतो व्हेल आर्कटिक द्वीप इंगोयामा नर्वेको नजिक कैयौं पटक देखिएको थियो ।  आर्कटिक द्वीपको ४१५ किमि को दूरीमा  रुसको ठूलो नौसैनिक अखाडा छ । यसकारण पनि यो रुसको जासूसी व्हेल हुनसक्ने अनुमान गरिएको हो । 

नर्वेले व्हेलको शरीरमा रहेको पट्टी निकाल्दै गरेको भिडियो सार्वजनिक गरेको थियो । यो गोप्रो क्यामरा होल्डर हो तर यसमा क्यामरा भने थिएन । व्हेलको शरीरको माथिल्लो भागमा एउटा लेबल राखिएको थियो जसको इशारा सेंट पिटर्सबर्गतर्फ थियो । नर्वेका एक माझीले धेरै मेहनत गरेर पट्टी निकालेका थिए ।  

यो व्हेल रुसले जासूसीका लागि छोडिएको हुनसक्ने नर्वेको दावी छ । यस दावीबारे रुसका एक पूर्व सैनिक अधिकारीले केही नभने पनि इन्कार  गरेनन् । अर्का रुसी सैनिकका अनुसार रुसले युद्ध सम्बन्धी जासूसीका लागि डल्फिनको प्रयोग गर्ने गर्छ, व्हेलको होइन् ।

उनले जासूसी कार्यका लागि जीवको उपयोग गर्ने कुरालाई इन्कार गरेनन् । साथै नौसैनिक अखाडामा डल्फिनको प्रयोग हुने बताए । रुसको क्रिमियामा सैन्य डल्फिन केन्द्रनै रहेको छ । डल्फिनको प्रयोग विदेशी गोताखोर पत्ता लगाउने तथा विदेशी जहाजमा विस्फोटक सामग्री हाल्ने गोप्य कामका लागि समेत उपयोग गरिन्छ ।