मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुँदै

मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँट हुँदै

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २७, २०७८

मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निश्कासन गरेको आईपीओ २८ असार बिहान बाँडफाँट हुने लघुवित्तको शेयर निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

लघुवित्तले १७ असारदेखि २१ असारसम्म बिक्रीमा ल्याएको आईपीओमा ७३ गुणा आवेदन परेको थियो । २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता शेयर खरिदका लागि आवेदन परेको बताइएको छ ।

लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निश्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार बाँडफाँट हुनेछ । निर्देशिकाअनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँट गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्र लघुवित्तको शेयर पाउनेछन् ।

यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता अर्थात् जारी पूँजीको ०.५ प्रतिशत शेयर कर्मचारीहरूका लागि र कुल निश्कासनको ५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता मात्र सर्वसाधारणलाई वितरण हुनेछ ।