सरु दाइ ! 'चेतना र पदार्थको भेद नबुझेसम्म धर्मको सूक्ष्मता ज्ञान हुन सक्दैन'

सरु दाइ ! 'चेतना र पदार्थको भेद नबुझेसम्म धर्मको सूक्ष्मता ज्ञान हुन सक्दैन'

ज्ञानमित्र  |  दृष्टिकोण  |  असार २७, २०७८

सरु दाइ नमस्ते।  

मलाई विश्वास थियो, ढिलो-चाँडो यस विषयमा दाइसँग 'भर्चुअल' भए पनि संवाद अवश्य नै हुनेछ। केही दिन पहिला यस विषयमा लोकसंवादमा एउटा आर्टिकल लेखेको थिएँ।

हिन्दुका स्वनामधन्य गुरुकाे चेतनामै सन्देह : सन्दर्भ कालीगण्डकी डाइभर्सन

तर, नेपालमा परम्परा नै विचित्रको छ। नपढेर नै प्रतिक्रिया दिने बानी भइसक्यो नेपालीहरूको । ज्ञानमित्र जुन अच्युतम भट्टराई हुँदा २०५३/०५४ सालदेखि नै सरुभक्तको भ्रातातुल्य हुन सफल भएको थियो । उहाँका विज्ञान कथा पढेर विज्ञानप्रति आकृष्ट भएको थियो।

र, म यस मामलामा आफूलाई भाग्यशाली मान्छु कि कवि तथा पत्रकार अच्युतम भट्टराईलाई तपाईँले जुन स्नेह दिनुभएको थियो, त्यो जोगी ज्ञानमित्र हुँदा पनि कायम रह्यो । ज्ञानमित्रका कतिपय विज्ञान लेख पढेर तपाईँले हौसला प्रदान गरेको कसरी बिर्सन सकिन्छ ?

दाइ, कालीगण्डकीको डाइभर्सनको जुन कुरा छ, त्यसलाई सरकारले जसरी अघि सारेको छ, त्यसले नै स्पष्ट  पारेको छ कि सरकार नै डाइभर्सन बनाउन चाहँदैन। फगत कुरा उठाइदिएर जनमानसबाट भएको विरोध र सर्वोच्चमा रिट परेर त्यसलाई थन्क्याउन चाहन्छ नेपाल सरकार। सरकारको यो कार्य गर्ने मानसिकता भए दुवै प्रदेशका नागरिक-बुद्धिजीवी-नदीका उपभोक्तालाई समावेश गरी उचित निष्कर्षमा पुग्ने वातावरण बनाउनेतिर सक्रिय हुने थियो।

दाइ, मेरो आसय र उद्देश्य कालीगण्डकी नदीको 'डाइभर्सन'सँग सम्बन्धित होइन। यदि 'डाइभर्सन' लोकको कल्याणका लागि आवश्यक छ भने हुनुपर्छ। मेरो मूल आसय यति नै हो कि बढ्दो 'ग्लोबल वार्मिङ'ले नेपालका मात्र होइन, संसारका नदी पातलिने क्रम प्रारम्भ भइसकेको छ। कारण- संसारमा रहेका समस्त नदीका मूल स्रोत झन्डै २ लाख हिमनदीहरू साँघुरिँदै गइरहेका छन्। सन् १९७५ यता हिमालय क्षेत्रमा एक डिग्री सेन्टिग्रेड तापमान वृद्धि भइसकेको छ। अन्टार्कटिका  र आर्कटिक क्षेत्रको तापक्रम बढेर १८ डिग्री सेन्टिग्रेड पुगिसकेको छ। अन्टार्कटिका क्षेत्रका 'आइससिट'मुनि १२० भन्दा बढी 'लेक' भेटिएका छन्। वैज्ञानिक रिपोर्ट आइसकेको छ- सन् २१०० सम्म संसारका ८० प्रतिशत हिमनदी समाप्त हुन्छन् ।

नेपालका अधिकांश नदी पहिलो दर्जाका नदी अर्थात् हिमनदीबाट निस्कने नदी हुन्। हिमनदीमा हिउँ कम हुँदै गएपछि नदीको प्रवाह र पानीमा कमी आउने सर्वविदित नै छ।

पृथ्वीको वातावरणमा बढ्दै गइरहेको 'ग्रिन हाउस ग्यास'को मात्रा जति गीत गाए पनि कम हुँदैन। कार्बन उत्सर्जन मात्र समस्या होइन, त्यहाँ मिथेन पनि छ। धान खेती, उखु खेती, गाई-भैँसी पालनले मिथेन वृद्धि हुन्छ, यसलाई कम गर्ने के उपाय ?

सरु दाइ, 

तपाईँलाई मैले भनिरहनु परेन- जल वाष्प पनि 'ग्रिन हाउस ग्यास'मै पर्छ। पृथ्वीको माथिल्लो वायुमण्डलमा वृद्धि भएको जल वाष्पले पनि 'ग्लोबल वार्मिङ' बढाइरहेको छ। विभिन्न 'क्लोरोफ्लोरो कार्बन'को कुरा त छँदै छ।

कुनै हिन्दुधर्मीले कलीयुगको उमेर ४ लाख ३२ हजार वर्ष छ र अहिले जम्मा ५ हजार वर्ष भएको छ भन्छ भने मैले ऊसँग तर्क गर्नु छैन। तर, विभिन्न वैज्ञानिकले चेतावनी दिइसकेका छन् कि ६ वटा प्रलय (मास एकस्टिङ्सन) भोगेको पृथ्वी बिस्तारै ७औँ प्रलयको पर्खाइमा छ।

कालीगण्डकीबारे लेख्नुको आसय यति नै हो- अब जुनसुकै देशले होस्, नदीको लामो मार्गमा विभिन्न स्थानमा ठुलठूला जलाशय बनाएर मात्र नदीको जीवन संरक्षण गर्न सक्छ। जलाशय निर्माणको अर्थ बर्खामा वृद्धि भएको पानीलाई खेर जान नदिएर सुखा याममा नदीको प्रवाह अविरल राख्नु हो।  

कल्पना गर्नुहोस्- कालीगण्डकी नदीमा कुनै उपयुक्त स्थानमा २-३ अर्ब घन मिटर पानी संचित गर्ने जलाशय बनाइयो। यसमा बर्खामा आएको सबै पानी संकलन गरी राखियो। ठाउँठाउँमा अन्य सानासाना जलाशय पनि बनाइयो। यी जलाशयमा बर्खामा आएको जम्मै पानी संकलन गरी राखियो र हिउँदमा नदीको मूल स्रोतबाट पानीको बहावमा आएको कमीलाई जलाशयबाट व्यवस्थित गरियो। के यस्तो सुझाव दिनु कुनै अपराध हो? ठूला बाँध बनाउने कुरा, जलाशय बनाउने कुरा गर्नेबित्तिकै यहाँको 'कम्युनिस्ट राष्ट्रवाद'  र 'मण्डले राष्ट्रवाद' आहत हुन पुग्छ।

कारण खोज्दै जाँदा, यदि नेपालले यो कार्य गर्‍यो भने भारतलाई जाने पानीमाथि नेपालको नियन्त्रण स्थापित हुन्छ। अब को राष्ट्रद्रोही र को राष्ट्रभक्त? भारतले नेपालमा बाँध बनाउने कुरा उठाएर जनस्तरबाटै त्यसको विरोध गर्न लाएर सधैँ नेपालको पानीमाथि आफ्नो परम्परागत हक अधिकार कायम राख्न चाहन्छ। र, ऊ यस कार्यमा सफल रहिआएको छ।    

हिन्दु धर्मगुरुले धार्मिक भावना भड्काउन खोजेको पनि देखियो। भनून् न ती धर्म गुरुहरूले- शास्त्रीय मान्यता एवं परम्पराअनुसार कालीगण्डकी नदी र शालिग्रामको उत्पत्ति कसरी भयो? थाहा छैन भने ब्रह्म्वैबर्त पुराण मैले उपलब्ध गराइदिउँला। शालिग्राम शिला क्षेत्र कहाँ छ, कहाँसम्म छ? वर्तमानमा नदीको कुन बिन्दुसम्म शालिग्राम पाइन्छ? मार्फा र लेतेको बीचमा कतै कुनै हाइड्रोपावर प्रोजेक्ट स्वीकृत भएर बन्ने वाला छ। यो बनेपछि के यसभन्दा तल आइपुग्छ शालिग्राम?

'रनिङ रिभर'मा गरिने 'डाइभर्सन'को म पनि विरोधी हुँ तर यदि जलाशय बनाएर 'डाइभर्सन' गरिन्छ भने म जुनसुकै नदीको 'डाइभर्सन'को समर्थक हुँ। जलाशय बनाएर कालीगण्डकी 'डाइभर्सन' गर्ने हो भने राम्दीदेखि देवघाटसम्म पानीको कुनै अभाव नै हुँदैन बरु प्रवाहमा सन्तुलन कायम हुन्छ। नदीको  अविरलतामा बाधा आउने कुरा गर्ने धार्मिक गुरुहरूलाई गतिज (काइनेटिक) ऊर्जा-स्थितिज (पाेटेन्सियल) ऊर्जाको अध्ययन गर्न कुनै भौतिक विज्ञानको प्रोफेसरकहाँ पठाइदिए हुन्छ ।

शालिग्राम समस्त हिन्दुधर्मीको धार्मिक बिम्ब होइन। वैष्णव मतलाम्बीको आस्था र विश्वास हुन्छ शालिग्राममा। मैले कुनै शैवमार्गीले शालिग्राम पूजा गरेको देखेको छैन। शाक्त मतवलम्बीले शैव र वैष्णवका धेरै कुरा स्वीकार गरे पनि यिनीहरूमा पनि शालिग्रामप्रतिको अगाध निष्ठा र विश्वास पाइँदैन। शैव र वैष्णवका सङ्घर्ष गाथाले इतिहासका धेरै पाना रङ्गिएका छन्।  

पुराणकै कुरा गर्ने हो भने कागबेनीभन्दा माथि दामोदर कुण्डसम्मको क्षेत्रमा मात्र शालिग्राम पाइन्छ। कागबेनीभन्दा तल नदी वरिपरिको सम्पूर्ण क्षेत्रमा शालिग्राम शिला छैनन्। यी क्षेत्रमा पाइएका शालिग्राम कागबेनीबाट बगेर आएका हुन्। निश्चय पनि संसारको एक मात्र शालिग्राम पाउने हरिहर क्षेत्र महत्त्वपूर्ण पौराणिक नेपाली सम्पदा (हेरिटेज) हो। वैष्णव मतअनुसार शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ।

शालिग्राम पाइने हरिहर क्षेत्रमा विकाससम्बन्धी कुनै पनि योजना-परियोजना क्रियान्वयनमा ल्याउँदा यस क्षेत्रको महत्त्व र गरिमा एवं आध्यात्मिक 'लिगेसी'लाई अक्षुण्ण राख्ने प्राथमिकता हुनुपर्छ । धार्मिक गुरुहरूले पनि बुझ्नु आवश्यक छ कि हिन्दु धर्म जीवन पद्धति हो। कुनै बेला हिन्दु धर्ममा समुद्रपारिको यात्रा गर्नु नै निषिद्ध मानिन्थ्यो।  के अहिले पनि यस्तै हठधर्मिता गर्ने? सनातन हिन्दु मान्यतामा शरीर र आत्माको धर्म नै निर्दिष्ट गरिएको छ।

शरीरले धारण गर्ने धर्म, देश, काल, परिस्थितिअनुसार परिवर्तित र परिमार्जित हुन्छन्। आत्माले धारण गर्ने धर्म अपरिवर्तनीय हुन्छ भने शरीरले धारण गर्ने धर्म परिवर्तित भइरहन्छन् । परमात्मा, आत्मा र माया तीन तत्त्वमा परमात्मा र आत्मा अपरिवर्तनशील अविनाशी हुन्। माया तत्त्व सधैँ परिवर्तनशील हो। पञ्चतत्त्व आकाश-अग्नि-वायु-जल-पृथ्वी माया तत्त्वका बिस्तार हुन्, शरीर यिनै पञ्चतत्त्वले बनेको हो। चेतना र पदार्थको भेद नबुझेसम्म धर्मको सूक्ष्मता ज्ञान हुन सक्दैन।