स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २७, २०७८

जुम्ला । जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ । 

चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७५ जेठ महिनादेखि डा रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४सै घण्टा प्रवाह हुने गरेको छ । स्वास्थ्य केन्द्रको उन्नति र प्रगतिका लागि सबै कर्मचारीको साथ सहयोग रहेको भण्डारीले बताउनुभयो । 
    
सिनियर अनमी मेनुका देवकोटाले दुई वर्षदेखि सुरक्षित गर्भपतन सेवा प्रवाह नभएको बताउनुभयो । गर्भपतन गराउने आएपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गर्ने गरिएको देवकोटाले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष ८४ सुत्केरीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । यस वर्ष ७८ ले सेवा लिएका छन् । यहाँ एक दिनमा १५ देखि २५ को हाराहारीमा बिरामी सेवा लिन आउँछन् । सबैभन्दा बढी झाडापखाला, सामान्य रुघाखोकीका बिरामी छन् । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा ११ कर्मचारी छन् । 

पूर्वाधार अभाव

हिमा– ६ महाबैपातर खोलामा रहेको स्वास्थ्य चौकीमा खानेपानीको अभाव रहेको छ । उक्त स्वास्थ्य चाकीमा बिजुली र इन्टरनेट सेवाको समेत अभाव छ । स्वास्थ्य चौकी इञ्चार्ज टेकबहादुर बुढाले दुर्गमका स्वास्थ्य चौकीमा पूर्वाधार अभावले सेवा दिन कठिनाइ हुने गरेको बताउनुभयो ।

स्वास्थ्य चौकीमा ओपिडी सेवा, गर्भजाँच र बर्थिङ सेन्टरको सेवा दिइरहेका बुढाले जानकारी दिनुभयो । स्थानीयले पाउने सेवा सरल, सहज बनाइएको छ । यहाँ औषधि अभाव हुन दिइएको छैन । स्वास्थ्य चौकीमा पूर्वाधार अभावका कारण सोचेअनुसारको सेवा उपलब्ध गराउन सकिएको छैन ।    

विद्युत् नहुँदा सुत्केरी गराउने बेला मोबाइलको टर्च बालेर सेवा दिनुपर्ने अवस्था रहेको सिनियर अनमी जयलक्ष्मी रावतले बताउनुभयो ।