नेतान्याहु १२ बर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित

नेतान्याहु १२ बर्षपछि प्रधानमन्त्री निवासबाट बहिर्गमित

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २७, २०७८

एजेन्सी ।  इजरायलका निवर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले झण्डै १२ बर्षपछि प्रधानमन्त्रीको सरकारी निवास छोड्नु भएको छ । इजरायलको राजधानी जेरुसेलमको बाल्फोर सडकमा रहेको प्रधानमन्त्री निवास उहाँले सपरिवार खाली गरिदिनु भएको हो । 

प्रधानमन्त्री निवासबाट नेतान्याहुको सपरिवार बहिर्गमनको विषयलाई स्थानीय सञ्चार माध्यमहरुले आइतबार खुवै महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । प्रधानमन्त्री निवासबाट केही सामानहरुसहित ट्रकहरु बाहिरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ती ट्रकहरु शनिबार बेलुकादेखि नै बाहिरिएको देखिएको थियो । 

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अहिले उहाँ देशको प्रमुख विपक्षी दलको नेता बन्नु भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री निवासबाट निस्केपछि उहाँ शाब्बातमा रहेको उहाँकै आफ्नै घरमा बस्न लाग्नु भएको छ । 

प्रधानमन्त्री पदबाट मुक्त भएको झण्डै एक महिनापछि उहाँ प्रधानमन्त्री बस्ने सरकारी निवासबाट बाहिरिनु भएको हो । 

विषेश एक सम्झौतापछि उहाँको सट्टामा इजरायलमा अहिले नाफ्ताली बेन्नेट प्रधानमन्त्री बन्नु भएको छ । उहाँले यही जुन १३ मा प्रधानमन्त्रीको जिम्मेबारी सम्हाल्नु भएको थियो ।