सरकारको नीति तथा कार्यक्रम : सस्तो लोकप्रियताको पुलिन्दा

सरकारको नीति तथा कार्यक्रम : सस्तो लोकप्रियताको पुलिन्दा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७६

काठमाडौं । सरकारले मुलुकको सामाजिक र आर्थिक क्षेत्रमा विकास गर्न खोजेको देखाउने गरी कार्यान्वयनमा जानै नसक्ने कार्यक्रम समेटेर आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०७६÷०७७ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका नाममा दैनिकजसो गर्ने भाषण र उनको सरकारले ल्याएको यो कार्यक्रमबाट सबै कुरा गर्न खोजेको भन्ने देखाउन खोजिएको छ। उपलब्ध स्रोत, साधन र क्षमताले गर्न नसक्ने कार्यक्रम समेटेर सरकार लोकप्रिय बन्न खोजेको नीति तथा कार्यक्रमबाट देखिन्छ।

सरकारले हावादारी कार्यक्रम ल्याएको छ भन्ने एउटा उदाहरण हवाईजहाज अवतरण गर्नेखालका राजमार्ग बनाउने भन्ने कार्यक्रम हेरे मात्र पुग्छ। सरकारले राजधानी काठमाडौंका सडकका खाल्डा पुर्न, धुलो सफा गर्न र वर्षौदेखि कालोपत्रे गर्न सकेको छैन। तर नीति तथा कार्यक्रममा राजमार्गहरुलाई आपतकालीन रुपमा हवाईजहाज अवतरण गर्ने किसिमका बनाउने उल्लेख छ। यो ‘सपना नदेखी अगाडि बढ्न सकिन्न’ भन्ने ओली सरकारको सस्तो लोकप्रियता मात्र हो।

नीति तथा कार्यक्रममा अनेकौं लोकप्रिय कार्यक्रम राखिएका छन्। पहाडी सडकमा सुरुङ मार्ग बनाएर लम्बाइ कम गर्ने, सुरुङ बनाएर सिँचाइ सुविधा पु¥याउने, चीन र भारतसँग जोडने गरी रेल सेवा सञ्चालन गर्नेजस्ता अहिलेको मुलुकको साधन, स्रोत र क्षमताले धान्न नसक्ने कार्यक्रम नीति तथा कार्यक्रममा राखेर सरकार लोकप्रिय बन्न खोजेको छ। यो सामग्री आजको नागरिक दैनिकमा छ ।