इटालीका गोलरक्षक डोनारुम्मा युरोकपको सर्वोत्कृष्ट खेलाडी घोषित

इटालीका गोलरक्षक डोनारुम्मा युरोकपको सर्वोत्कृष्ट खेलाडी घोषित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २८, २०७८

काठमाडौं । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा युरोपेली च्याम्पियनसिप २०२० को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली इंग्ल्यान्डलाई इटालीलाई युरोकप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गोलरक्षक डोनारुम्मालाई यूईएफए युरो २०२० को प्राविधिक समितिले सर्वोत्कृष्ट खेलाडी घोषित गरेको हो । 

निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा भएको पेनाल्टी सुटआउटमा डोनारुम्माले उत्कृष्ट प्रदर्शन गरे । इंग्ल्यान्डका जाडोन सान्चो र साका बाकुयोको प्रहार डोनारुम्माले रोक्दा ३-२ को जितसहित इटालीले ५३ वर्षपछि उपाधि उचालेको थियो । यस्तै, प्रतियोगिताको सेमिफाइनलमा स्पेनविरुद्ध पनि पेनाल्टी सुटआउटमा जित हात पार्दा डोनारुम्बाले शानदार प्रदर्शन गरेका थिए । उनले स्पेनका अल्भारो मोराटाका पेनाल्टी बचाएका थिए ।

युरो कपको ७ खेलमा ७ सय १९ मिनेट खेलेका उनले ३ क्लिनसिट राख्दै ४ गोल मात्र खाएका थिए । उनले ९ बचाउ समेत गरेका थिए ।