प्रतिनिधिसभा विघटन: संवैधानिक इजलास बस्दै, आजै फैसला आउन सक्ने

प्रतिनिधिसभा विघटन: संवैधानिक इजलास बस्दै, आजै फैसला आउन सक्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २८, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको इजलासमा पक्ष विपक्षको बहस, एमिकस क्युरीको रायलगायतका प्रक्रिया २१ असारमा सकिएपछि संसद विघटन मुद्दाको संवैधानिक इजलास आज बस्दै छ । सुनुवाइको सबै प्रक्रिया सकिएकाले आज फैसला आउन सक्ने बताइएको छ ।

प्रतिनिधिसभाका १४६ सांसदहरूले प्रतिनिधिसभा विघटन बदर गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दैै सर्वोच्चमा रिट दायर गरेका थिए ।

गत ७ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी २६ कात्तिक र ३ मंसिरमा मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । उक्त कदम असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरूमाथि ९ असारदेखि निरन्तर बहस हुँदै आएको छ ।

रिटमा सुनुवाइका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।