मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २८, २०७८

वाग्मती । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारीदिनुभयो । 
    
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

आगामी बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । नेपालमा मनसुन शुरु हुने औसत मिति जुन १३ मानिएपनि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै शुरु भएको थियो । 
मनाङ । निरन्तरको वर्षाले मर्स्याङदी  नदीको बहाब कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन  आग्रह गरिएको छ  । जिल्ला प्रशासन कार्यालयले आज यहाँ सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो । 

सूचनामा भनिएको छ, “यस वर्षको मनसुन अवधि कायमै रहेको हुँदा जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सचेत र सतर्क रहनु हुन जिल्ला विपद् व्यवस्थापन समितिबाट सूचीत तथा अनुरोध गरिन्छ ।” 

चामे गाउँपालिकाको– ४, ५ र नासो गाउँपालिकाको– १ को तालगाउँ  नदीकै किनारमा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको हो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भन्नुभयो, “नासो १ तालगाउँ मर्स्याङदी नदी किनारमै छ । यहाँ विशेष सावधानी अपनाउनु पर्छ । सिरान क्षेत्रमा भीषण वर्षा भएकाले खोलाको बहावको जोखिम रहेकाले तटीय क्षेत्रको तालगाउँका बासिन्दालाई सचेत हुन आग्रह गर्दछु ।” 

जिल्लामा गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिराले सयौँ घरपरिवार विस्थापित भएका छन् । यहाँका सार्वजनिक र निजी संरचनामा बाढीपहिराले ठूलो क्षति पु¥याएको छ । जिल्ला अहिले सडक सञ्जालदेखि विद्युत् र इन्टरनेट सेवालगायतबाट वञ्चित भएका छन् ।