खोपमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

खोपमा दुर्गम क्षेत्र र मजदूरलाई प्राथमिकता दिन माग

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २८, २०७८

काठमाडौँ । राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत उपलब्ध गराउन तथा कोभिड–१९ सङ्क्रमण रोकथामका लागि सबै नागरिकलाई यथाशीघ्र खोप सुनिश्चित गराउन सरकारसँग माग गर्नुभएको छ । 

राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा ९एमाले०की दीपा गुरुङले सबै नागरिकलाई यथाशीघ्र खोप उपलब्ध गराउन माग गर्नुभयो । उहाँले वर्षाका कारण मुलुकका विभिन्न भेगमा बाढीपहिराका घटनापछि हुने उद्धार, राहतका साथै सडक यातायात खुलाउन तीनै तहका सरकारको संयुक्त प्रयासको खाँचो औँल्याउनुभयो ।

सोही दलकी शारदादेवी भट्टले मुलुकको तराई भेगका अधिकांश क्षेत्र डुबानमा परेर बालीनालीको क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिलाउन माग गर्नुभयो । उहाँले कैलालीमा तीनवर्षीय विवेक विष्टका हत्यामा संलग्नलाई कानूनी कारवाही होस् भन्नुभयो । एमालेकै कविता बोगटीले सरकारले खोपको पहल गरेर सराहनीय काम गरेको बताउनुभयो । 

सोही दलकी विमला घिमिरेले राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने मजदूरलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न माग गर्नुभयो । एमालेकी नन्दा चपाईँले कोरोना रोगविरुद्धको खोप लगाउन दुर्गम क्षेत्रका नागरिकलाई प्राथमिकता दिन अनुरोध गर्नुभयो । सोही दलका नरपति लोहारले बाढीपीडित जनताका लागि तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गर्नुभयो ।
 
नेपाली कांग्रेसका प्रकाश पन्थले जनताले अपेक्षा गरेअनुरुप जनप्रतिनिधिले भूमिका निर्वाह गर्न नसकेकोे जनाउँदै राष्ट्रियसभाको कामकारवाही अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।   

नेकपा ९माओवादी केन्द्र०का जीवन बुढाले राष्ट्रियसभालाई कानून निर्माण तथा विचार निर्माण गर्ने थलो बनाउनुपर्ने बताउनुभयो । सोही दलका महेशकुमार महराले मुलुकमा शान्तिसुरक्षाको कमजोर व्यवस्थापनका कारण पछिल्लो समय हत्याहिंसा र बलात्कारका घट्ना बढेको भनी चिन्ता व्यक्त गर्नुभयो ।