बाढीले अवरुद्ध तल्लो मोदी ‘१’ को उत्पादन पुनःचालू

बाढीले अवरुद्ध तल्लो मोदी ‘१’ को उत्पादन पुनःचालू

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २८, २०७८

पर्वत । बाढीले क्षति पु¥याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरुआत भएको छ । नौ दशमलव पाँच मेगावाट क्षमता भएको सो आयोजनामा यही असार २२ गते राति आएको बाढीले क्षति पु¥याएको थियो । आइतबार साँझदेखि आयोजना सञ्चालनमा आएको  युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो । 

उहाँका अनुसार कुश्मा नगरपालिका– ८ दोबिल्लास्थित सुन्दरेखोलामा आएको बाढीले आयोजनाको मुहान र झण्डै ३०० मिटर नहरमा क्षति पु¥याएको थियो । आयोजनाका कर्मचारी र अन्य कामदार गरी दैनिक ५०  परिचालन गरी मर्मत गरिएको थियो । 

बाढीका कारण आयोजनामा झण्डै साढे चारदेखि पाँच करोडसम्मको क्षति भएको अनुमान गरिएको छ । मोदीखोलाको बहाव उच्च रहेकाले मुहानमा भएको क्षतिको विवरण अझै यकिन हुन नसकेको उहाँको भनाइ छ । आयोजनाको उत्पादन गृहमा भने कुनै क्षति भएको थिएन । 

सोही दिनको बाढीले मध्यपहाडी लोकमार्ग आयोजनाको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका साइट इञ्जिनीयर राजाराम आचार्य र चालक इन्द्र थारु सवार गाडीसमेत बगाएको थियो । बगाएको गाडी फेला परे पनि आचार्य र थारुको अवस्था भने अझै पत्ता लाग्न सकेको छैन । बाढीले क्षति पु¥याएको मध्यपहाडी लोकमार्ग एकतर्फीरुपमा सञ्चालन भएको छ ।