नबिल बैंकको ३७ औँ वार्षिकोत्सव: वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

नबिल बैंकको ३७ औँ वार्षिकोत्सव: वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार २८, २०७८

काठमाडौँ ।नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको जनाएको छ ।

नबिल बैंक लिमिटेडका  संस्थागत सञ्चार विभाग प्रमुख  कृष्ण सुवेदीका अनुसार असार २८ गते सोमवार आफ्नो ३७ औँ वार्षिकोत्सवका  अवसरमा एक औपचारिक कार्यक्रमका  बिच उक्त प्लान्ट हस्तान्तरण गरिएको हो  ।

नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवको दिन पारेर वीर अस्पताललाई हस्तान्तरण गर्न सफल भएको र  प्लान्ट स्थापनाका लागि बैंक र अस्पताल बिच गत जेठ ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी अनुसार नबिल बैंकले ५० क्युबिक लिटर/प्रतिघण्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गरेको छ भने अस्पतालले आवश्यक स्थान उपलब्ध गराएको छ । 

कोभिड १९ दोस्रो लहरको अन्त्य सँगै अहिले विश्वको अन्य मुलुकहरूमा तेस्रो लहर फैलिँदै गर्दा, नबिलको यो अक्सिजन प्लान्टले तेस्रो चरणको जोखिमको प्रतिकार्य र बिरामीहरूको जीवन रक्षा हुने अक्सिजन आपूर्ति गरी सहयोग हुने विश्वास बैंकले लिएको छ ।  

नबिल बैंक पछिल्लो केही समयदेखि मानव कल्याणमा निकै आक्रमण रूपले लागि परेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९को महामारी सुरु भएदेखि नै सरकारलाई सहयोग गर्दै आएको छ । गत वर्ष कोभिड १९ को प्रतिकार्यका लागि बैंकले नेपाल सरकारलाई  ६ करोड नगद सहयोग गरेको समेत जानकारी दिएको छ ।  

त्यसैगरी नबिल बैंकले सरकारी निकाय तथा मानवीय क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग समेत साझेदारी गरी विपद्को पूर्व तयारी र क्षमता विकासका लागि काम गर्दै आएको छ । यस अन्तर्गत गत वर्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा सातै वटा प्रदेशमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य आपत्कालीन पूर्व तयारी सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । यो अभिमुखीकरणमा सरकारी, गैरसरकारी र मानवीय कार्यमा संलग्न विभिन्न संस्थाका ३ सय ३० जना स्वास्थ्य कर्मीहरूले सहभागिता जनाएको पनि  प्रमुख  सुवेदीले जानकारी गराउनु भएको छ । 

नबिल बैंकले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा बहुपक्षीय साझेदारीको आवश्यकतालाई मध्यनजर गरी यसमा निजी क्षेत्र पनि एक महत्त्वपूर्ण हिस्सेदार बन्न सक्छ उदाहरण प्रस्तुत गर्दै सरकारसँग यस किसिमको साझेदारी गर्दै आएको छ । आगामी दिनमा नबिलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकको स्वास्थ्य प्रणाली सुधारका लागि लगानी गर्ने बताएको छ । हाम्रो जस्तो वहुविपद्को जोखिमयुक्त देशमा निजी क्षेत्रसहित सम्बन्धित पक्षहरूको निरन्तरको क्रियाशीलताले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँछ भन्नेमा बैंकको विश्वास छ । यही विश्वास अन्तर्गत कोभिड १९ को प्रतिकार्यका लागि बैंकले यस किसिमका सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तरता दिने समेत बैंकले जनाएको छ ।