देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०७८

काठमाडौं । सोमबारको सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् ।

देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यता देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी पनि गरेका छन् । उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका हुन् । संविधानको धारा ७६ (५) अन्तर्गत बनेका प्रधानमन्त्रीले प्रतिनिधि सभामा ३० दिनभित्र विश्‍वासको मत लिनुपर्ने प्रावधान छ । 

अदालतको धारा ७६ (५) अन्तर्गत बनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने व्याख्या गरेको छ।  यता एमाले एकता भएमा माधवकुमार नेपाल समूहलाई विश्वासको मत दिन नैतिक सङ्कट पर्ने देखिन्छ । 

विश्वासको मत नपाए सरकार अल्पमतमा पर्न सक्छ । यस्तो भएमा संविधानअनुसार नै प्रतिनिधि सभा विघटन भएर ६ महिनाभित्र चुनाव गर्नुपर्ने प्रावधान छ ।