‘मेरो सरकार’ मा राजतन्त्रकै झल्को

‘मेरो सरकार’ मा राजतन्त्रकै झल्को

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७६

काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिक हुन् राष्ट्रपति। राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन्। तर, पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छिन्। दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइदिँदाको आसनदेखि विलासीपूर्ण सवारीसाधन खरिदले राष्ट्रिपतिको गरिमा मात्र घटाएको छैन लोकतान्त्रिक गणतन्त्रप्रति नै जनतामा वितृष्णा जगाउने काम गरेको छ।

दुई सय ४० वर्षे राजतन्त्र अन्त्यका लागि सक्रिय दलका नेताहरुले मुलुकको उच्च ओहोदामा पुगे पनि पुरानै संस्कारलाई निरन्तरता दिएका छन्। त्यसको पछिल्लो उदाहरण हो– शुक्रबार संघीय संसद्मा पेस भएको सरकारको नीति तथा कार्यक्रम। विगतमा जस्तै शुक्रबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसद्मा नीति तथा कार्यक्रम पेस गरिन्। तर, उनले मुलुकमा राजतन्त्र भएका बेला राजाले तत्कालीन प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरेकै शैलीमा आफूलाई प्रस्तुत गरिन्। दुई सय १८ बुँदे सरकारको नीति तथा कार्यक्रम नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उनले राजाले जस्तै पटकपटक ‘मेरो सरकार’ पदावली प्रयोग गरिन्। आजको नागरिक दैनिकमा खबर छ ।