पूरा हुँदै थुम्कावासीकाे खानेपानी सपना

पूरा हुँदै थुम्कावासीकाे खानेपानी सपना

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०७८

बागलुङ । एक समय थियो तिर्खा मेट्न थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे । अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका–२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना अब पूरा हुँदैछ । गाउँलेको दैनिकी बदलिँदै छ । ‘एक घर, एक धारा’ को लक्ष्यसहित चार वर्षअघि शुरु भएको ‘जसपुर–घामपानी–मसरा’ खानेपानी तथा सरसफाइ आयोजनाले नरेठाँटीको खानेपानी समस्या सँधैँका लागि अन्त्य गर्ने भएको हो ।

घरघरै खानेपानी आएपछि सुविस्ता भएको थुम्काकी दुर्गादेवी भण्डारीले बताउनुभयो । “पानीको साह्रै दुःख थियो, अहिले त धेरै सहज भएको छ”, उहाँले भन्नुभयो । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, बेनी, म्याग्दीअन्तर्गत रु २१ करोड ५२ लाखको लागतमा उक्त आयोजनाको काम भइरहेको छ । 

आयोजना कार्यालयका इञ्जिनीयर प्रदीप रेग्मीले आउदो आवभित्र काम सक्ने लक्ष्य लिइएको बताउनुभयो । “आयोजनाको भौतिक प्रगति राम्रो छ, सरासर काम भए एक वर्षमा सबै घरधुरीमा खानेपानी पुग्छ”, उहाँले भन्नुभयो । ट्याङ्की निर्माणको काम लगभग सकिएकाले अहिले पाइप विच्छ्याउने र खानेपानी वितरणमा आयोजनाको काम केन्द्रित छ ।

आयोजनाका सुपरभाइजर मणि कँडेलले ठूलासाना गरी २६ वटा ट्याङ्की निर्माण भइसकेको जानकारी दिनुभयो । १० देखि ५० घनमिटरसम्मका ट्याङ्की बनाएर खानेपानी वितरणको प्रबन्ध मिलाइएको छ । नरेठाँटी बजार र आकाशे पानीमा ५० घनमिटरको ट्याङ्की निर्माण गरिएको छ ।

भूगोल र जनसङ्ख्याको अवस्थिति हेरेर ट्याङ्की निर्माण गरिएको हो । आयोजनाबाट लाभ पाउने ६५० घरधुरीमध्ये दुई सय बढीमा खानेपानी वितरण भइसकेको सुपरभाइजर कँडेलले बताउनुभयो । “अब पाँच÷सातवटा ट्याङ्की निर्माण गर्न बाँकी छ, अहिले मुख्य रुपमा पाइप विछ््याउने र खानेपानी वितरणको काम भइरहेको छ”, उहाँले भन्नुभयो ।

उपभोक्ताले मिटर प्रणालीबाट खानेपानीको उपभोग गरिहेको आयोजनाले जनाएको छ । छिट्टै ठाना, बहेली र घरघरमा खानेपानी वितरणको काम शुरु हुँदैछ । यसअघि नरेठाँटी बजार, पैँयूडाँडा, थुम्का, जस्कुरलगायतका बस्तीमा खानेपानी पुगिसकेको छ । हालसम्म झण्डै दश करोड बराबरको काम सकिएको उपभोक्ता समितिले जनाएको छ । समितिमार्फत बाँस्तोला निर्माण सेवाले कामको जिम्मा लिएको छ ।

सिङ्गो वडाभरि रहेका मुहानलाई केन्द्रित गरी आयोजनामार्फत घरघरमा खानेपानी वितरण गर्न लागिएको समितिका अध्यक्ष रुमबहादुर कुँवरले बताउनुभयो । खानेपानीको सहज सुविधाका लागि यति ठूलो लगानीको आयोजना गलकोटकै पहिलो रहेको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताउनुभयो । 

“आयोजनाबाट सिङ्गै वडाभरिका घरधुरीमा धारा पुग्छ, यसबाट स्थानीयवासीलाई ठूलो सुविधा हुनेछ”, उहाँले भन्नुभयो, “सङ्घीय सरकारको बहुवर्षीय योजना रहेकाले निर्धारित समयमै आयोजनाको काम सकिने विश्वास छ ।”आयोजना कार्यालयका अनुसार चालू आर्थिक वर्षको खर्चको बजेट आउन बाँकी छ । यो वर्षदेखि केन्द्रीय खानेपानी शीर्षकमा बजेट छुट्टिने भएकाले स्रोत व्यवस्थापनमा कमी नहुने इञ्जिनीयर रेग्मीले बताउनुभयो ।