वडाको लापरवाहीले वडावासीको घर डुबानमा

वडाको लापरवाहीले वडावासीको घर डुबानमा

लोकसंवाद संवाददाता  |  समाज  |  असार २९, २०७८

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा नगरस्तरीय योजना अन्र्तगत निर्माण हुँदै गरेको जंगलादेवी पार्क निर्माणका क्रममा थुपारिएको माटो बर्षाको भेलले बगाउँदा चारवटा घरमा क्षति पुगेको छ । करिब ५० लाख बजेटको उक्त आयोजना निर्माणका क्रममा पर्खाल बनाउँदा निस्केको माटो बगेर उक्त क्षति भएको हो । 

वडा नं ११ का अध्यक्ष राजु अधिकारीका अनुसार, आयोजना निर्माणका क्रममा निस्किएको माटो अन्यत्र व्यवस्थापन गर्न नमिल्ने भएका कारण उक्त समस्या आएको हो । साथै अहिले राति भएका कारण के भएको हो एकिनका साथ भन्न नसकिने र भोलि बिहान निरीक्षण पश्चात के गर्न सकिन्छ आफूले गर्ने बताउनु भयो । 

जंंगलादेवी पार्क निर्माणका कारण हाल तिलक बहादुर कार्की, किशोर कुमार कटुवाल, जमुना गुरुङ, तथा उपमेयर रमा राइकाे बहिनीको घरमा क्षति पुगेको छ । 

प्रत्यक्षदर्शी तथा छिमेकीलाइ सहयाेग गरिरहेका  केशव भट्टराइका अनुसार, 'आज बेलुकी पाँच बजे परेको मुसलधारे पानीले पार्क निर्माणका क्रममा थुपारेर राखेको माटो बगेर आएर क्षति पुगेकाले सो को जिम्मा वडाले लिनुपर्ने र सम्बन्धित सबैमा वडाले उचित क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।' उहाँका अनुसार, 'करिव तीन फिट लेदो घरको तल्लो तलामा जमेका कारण तल तलामा रहेका फर्निचर लगायतका सामानमा क्षति पुग्नुका साथै सुत्ने ठाउँ समेत नहुँदा बुढाबुढी र केटाकेटीको झनै बिजोग भएको छ । भोलि बिहान सम्बन्धित वडा तथा वडाअध्यक्षसँग उचित क्षतिपूर्ति तथा अन्य विकल्पका लागि पीडितहरूले कुरा गर्ने, उहाँले बताउनु भयो ।'