जसपा तत्काल सरकारमा सहभागी नहुने

जसपा तत्काल सरकारमा सहभागी नहुने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो ।

जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले जसपा तत्काल सरकारमा सहभागी नहुने बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोही गठबन्धनमा रहेको जसपा अध्यक्ष उपेन्द्र यादव समूह पनि सरकारमा सहभागी हुने बताइएको थियो । सरकारमा सहभागी हुनुअघि जसपाले पाउने मन्त्रालय र मन्त्रीको संख्या सम्बन्धमा समेत छलफल गर्न बाँकी रहेको स्रोतको दाबी छ ।

‘शेरबहादुरजीलाई हाम्रो समर्थन छ, हामी सरकारमा पनि जान्छाैँ तर अहिलेकै अवस्थामा जान सक्दैनौं,’ यादवले भने, ‘सरकारले कस्तो कार्यक्रम तय गर्छ, त्यसलाई पहिला हामी हेर्छाैँ । आफूहरूको मुद्दा सरकारले कसरी सम्बोधन गर्छ यी सबै विषयमा छलफल गरेर मात्र सरकारमा सहभागी हुने निर्णय हुन्छ ।’ 

राजधानी दैनिकबाट