आज बालुवाटारबाट बाहिरिँदै ओली, बालकोटसम्म हजारौँ बाइक र गाडीले स्कर्टिङ गरिने

आज बालुवाटारबाट बाहिरिँदै ओली, बालकोटसम्म हजारौँ बाइक र गाडीले स्कर्टिङ गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७८

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छाड्दैछन् । 

सर्वोच्च अदालतले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरी विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि  ओली बुधबार निजी निवास बालकोट सर्न लागेका हुन् । बालकोट जाने क्रममा ओलीलाई एमालेको भातृ संगठन युवासंघका कार्यकर्ताले स्कटिङ गर्ने तयारी गरेका छन् । 

एमालेका युवा संघ ईञ्चार्ज महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई नेता कार्यकर्ताको दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कटिङ र स्वागत गर्दै बालुवाटारदेखि बालकोटसम्म लगिनेछ । बालुवाटारमा ११ बजे भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् । ‘बालुवाटार प्रधानमन्त्री कार्यालय देखि नेकपा एमालेका श्रध्देय अध्यक्ष क. केपी शर्मा ओलीलाई हजारौँ बाइक,गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटार देखि बालकोट निवास सम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं।’ नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । 

ओली २०७४ फागुन ४ गते प्रधानमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरेका थिए। १२ सय ५२ दिनसम्म प्रधानमन्त्री बनेका ओली अदालतकाे फैसलाले सोमबारबाट पदमुक्त भएका हुन् ।