संविधान र लोकतन्त्रको धज्जी : सामान्य ‘कर्टेसी’मा चुकेका राष्ट्रपति भण्डारी र केपी ओली

संविधान र लोकतन्त्रको धज्जी : सामान्य ‘कर्टेसी’मा चुकेका राष्ट्रपति भण्डारी र केपी ओली

अनुरोध शर्मा  |  दृष्टिकोण  |  असार ३१, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा झण्डै ३ वर्षे दोस्रो इनिङबाट खेल पूरा नगरीकन मैदानबाट बाहिरिनुभएको छ । आफ्नै टिमको ‘बदमासी’ वा अन्तर्घातका कारण ओलीले झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारलाई स्थिर राख्न र पूरा अवधि कायम राख्न सक्नुभएन ।

गत आमचुनावमा फरकफरक पार्टीका रुपमा रहेका तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन गरेरै चुनाव लडेका र झण्डै दुई तिहाइको जनविश्वास प्राप्त गरेका थिए । त्यसपछि एकता प्रक्रियामा गएका यी २ दल एकता प्रक्रिया नटुंगिँदै विभाजनको रेखा कोर्न थाले । अन्ततः विगतको एमालेभित्रै विभिन्न धार देखापरे । यही किचलो बढ्दै गएर नेकपा नबन्दै छुट्टियो । 

केपी ओली शक्तिशाली पार्टी अध्यक्ष त हुनुहुन्थ्यो नै, शक्तिशाली प्रधानमन्त्री पनि । तर, जब आफैँभित्र लफडा सुरु भएर त्यसलाई बेलैमा समाधान गर्नतिर सोचिँदैन वा ह्याकुलाले मिचेर जान सक्छु भन्ने दम्भ र घमण्ड नेतृत्वमा पलाउँछ, तब जतिसुकै शक्तिशाली देखिने पनि अन्ततः निरीह भएर सकिन्छ भन्ने उदाहरण पनि यही ३ वर्षमा बन्नुभयो ओली ।

दुई तिहाइको बहुमतलाई टिकाउन नसक्ने, संसद छलेर, असमयमै भंग गरेर अध्यादेशबाट शासन चलाउँछु भनेर, आफ्नै लामो समयका सहयात्री र सहकर्मीमाथि तुच्छ गाली गलोज, अपहेलना, क्षुद्र अभिव्यक्ति दिएर पाखा लगाएर पार्टी सत्ता र राज्य सत्तामा ढलिमली गरिरहन चाहने केपी ओली र उहाँका फन्टुस सल्लाहकार, सहयोगीहरूका कारण पार्टीभित्र त ओली ‘बिचरा’ बनिरहनुभएकै छ, उहाँको दम्भको सर्वोच्च अदालतले सतचूर्ण हुनेगरी अवसान गराइदिएपछि निरीह बनेर बालुवाटारबाट बाहिरिनुभएको छ ।

केही ओलीका ‘अरिङ्गाल’ र ‘छोराछोरी’बाहेक धेरै उहाँकै मान्छेलाई ओलीका पछिल्ला अभिव्यक्ति, गतिविधि मनपरेका थिएनन् । मुलुक र मुलुकबासीका लागि पछिल्लो समय ओली अभिसाप साबित हुँदै जानुभएको थियो । ‘विधि र विधान’लाई पटक पटक रटान लगाउने केपी ओलीले आफैँले चाहिँ कहिल्यै विधि र विधान नमानेको बाहिरबाट त देखिन्छ नै, पार्टी र सरकारभित्रैकाहरू पनि यस्तै गुनासो गरिरहेका छन् ।

स्वाभाविक हो कि लोकतन्त्रलाई मान्छु भन्नेले विधिको शासन पनि मान्नुपर्छ, यस्तो दल वा व्यक्ति सत्तामा हुँदा उसले पनि देशको संविधान, कानुन, विधि, पार्टीका विधानको पालना गर्नुपर्छ । मुखले संविधान र विधि मान्छु, त्यहीअनुसार गर्छु भनेर हिजोका ज्ञानेन्द्र शाहको शैली अपनाउन थालेपछि अबका जनताले मान्दैनन् । आजका जनता रैतीभन्दा माथि उठिसकेका छन् ।

अन्ततः सर्वोच्च अदालतले केपी ओलीलाई कानुनी रुपमै ‘घोक्रेठ्याक’ त लगायो नै, राष्ट्रपतिका यसबिचका कदमलाई समेत असंवैधानिक र पदीय मर्यादाबाहिरका भनिदियो । अब नैतिकता बाँकी छ भने राष्ट्रपतिले पनि उक्त कुर्सीमा बसिरहनुको माने छैन । तर, नेपाली राजनीतिको परम्पराले ‘लिच्चड नैतिकता’लाई सदैव प्रोत्साहन गरेकाले राष्ट्रपतिबाट यस्तो अपेक्षा गर्नु बेकार हुनेछ ।

केपी ओलीले आफू पार्टी अध्यक्ष भएयता आफ्नो पार्टीभित्रका असन्तुष्ट खेमालाई सधैँ अपहेलना गरिरहनुभयो, छिछि र दूरदूर गरिरहनुभयो, जसका कारण उहाँप्रति एउटा ठूलो समूह नकारात्मक बन्दै गयो । ‘कोठा थुनेर बिरालो चुट्ने’ प्रवृत्तिले आखिर ओलीलाई ‘बुमर्‍याङ’ गरिदियो र अन्ततः राज्य सत्ताको कुर्सीबाट शर्मनाक ढंगले बिदाई गरिदियो भने अब पार्टीको दशौँ महाधिवेशनमा ओलीको अवस्था के होला भनेर अनुमान गर्न पनि सहज बनाइदिएको छ ।

नेपालको राजनीतिक इतिहास बुझ्ने, देख्ने र भोग्नेहरू भन्छन्, ‘राजा महेन्द्र गलत थिएनन् तर उनका सल्लाहकार र आसेपासेले गलत बाटोमा हिँडाए ।’

आज केपी ओलीका सन्दर्भमा पनि कतिपयको विश्लेषण यस्तै देखिन्छ, सुनिन्छ । तथापि, राजा महेन्द्रसँग केपी ओलीको तुलनै हुन सक्दैन ।

ओलीले पनि गतिला सल्लाहकार र सहयोगी छान्न नसकेको (कि नपाएको?) तथ्य जस्तै लाग्छ । विगतमा लामो समय अमूक पार्टीका कार्यकर्ता रहेर अवसरवादको भरपूर उपयोग गर्न खप्पिस सूर्य थापा जस्ता व्यक्तिलाई सल्लाहकार बनाएर आफू बदनाम हुन तयार हुने केपी ओलीले अनियमितता गर्न माहिर विष्णु रिमालहरूलाई प्रमुख सल्लाहकार बनाउनु उहाँको बदनामी र लफडाको कारक हुन् भन्छन् भन्नेहरू ।

कतिपय राजनीतिक नियुक्तिमा केपी ओलीको अपरिपक्वता प्रस्ट देखिन्छ । उनी ‘राइट म्यान इन राइट प्लेस’को मान्यतालाई चुनौती दिएर ‘रङ म्यान इन राइट प्लेस’तर्फ अघि बढ्नुभयो अपरिपक्व र क्षुद्रहरूलाई ‘केपी बा हाईहाई’ भनेर फेसबुक र ट्विटरमा लेखिदिएकै भरमा राजनीतिक नियुक्ति खान ‘योग्य’ ठानिदिनुभयो । गुरु भट्टराई, बालकृष्ण बस्नेतलगायतका नियुक्तिलाई यही रूपमा बुझेका छन् बुझ्नेहरूले ।

यसबीचमा केपी ओलीले समृद्धि र विकासका नाममा देखाएका सपना अन्यथा होइनन् तर ती सपनालाई जीवन्त बनाउने क्षमता, कौशल र दृढता भने केपी ओलीमा फिटिक्कै देखिएन । योजना, आयोजना पूरा नहुँदै रिबन काट्न र उद्घाटन गर्न हतारिने ओली प्रवृत्तिले अन्ततः उहाँलाई आलोचित मात्र बनायो । 

ठूलाठूला अपराध, भ्रष्टाचार र अनियमितताका काण्डहरूलाई किनारा लगाउन ओली अक्षम बनिरहनुभयो । फन्टुस जस्ता लाग्ने टुक्के अभिव्यक्तिलाई आमजनले मनोरञ्जनका रूपमा लिँदालिँदै पछिल्लो समय जनताको प्रेसर बढाउने चिजका रूपमा उहाँका टुक्के अभिव्यक्ति रूपान्तर भए । कुनै पनि कामलाई दिगो गरी सम्पन्न गर्न नसक्ने, आन्तरिक पार्टी लफडालाई आफैँले मलजल गर्दै सरकारमा त्यसको प्रत्यक्ष असर गराएर राज्य संयन्त्रलाई पनि र पार्टीलाई पनि ‘प्यारालाइज्ड’ गर्ने ओली षड्यन्त्रले देश र जनतालाई लामो तनावमा पारिरह्यो ।

यी सबै विषय यो ३ वर्षे ओलीकालमा भए । यीभन्दा धेरै अरू कुरा पनि भए यसबीचमा तर यी कुरालाई मात्र हेर्दा पनि ओलीको ‘लोकतान्त्रिक’ चरित्र उदाङ्गो बन्छ । 

यति हुँदा पनि ओली सत्ता छाड्न तयार हुनुभएन । ‘मैले कुर्सी छाड्नुपर्ने भए कुर्सी नै भाँचिदिन्छु’ भनेर अहं देखाउने ओलीले २ पटक कुर्सी भाँच्ने (प्रतिनिधिसभा विघटन) असफल प्रयत्न गर्नुभएकै हो । राष्ट्रपतिलाई कुसुलेले ‘पपेट’ नचाएजसरी नै हत्केलामा राखेर नराम्ररी नचाउनुभयो ओलीले । आफ्नो मर्यादा र संवैधानिक दायित्वलाई कुनै परवाह नगरी केपी ओलीको कुर्सी जोगाइदिएर मैमत्त शासकका रूपमा स्थापित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं अघि सर्नुभयो । यसको दुर्भाग्य, आज देश र जनताको हालत त भयो नै, स्वयं केपी ओली आफ्नो अनुहारमा कालो दाग प्रस्ट देखिने गरी लगाएर कुर्सीबाट बेस्वादले पछारिए ।

र, अन्ततः सर्वोच्च अदालतले केपी ओलीलाई कानुनी रूपमै ‘घोक्रेठ्याक’ त लगायो नै, राष्ट्रपतिका यसबीचका कदमलाई समेत असंवैधानिक र पदीय मर्यादाबाहिरका भनिदियो । अब नैतिकता बाँकी छ भने राष्ट्रपतिले पनि उक्त कुर्सीमा बसिरहनुको माने छैन । तर, नेपाली राजनीतिको परम्पराले ‘लिच्चड नैतिकता’लाई सदैव प्रोत्साहन गरेकाले राष्ट्रपतिबाट यस्तो अपेक्षा गर्नु बेकार हुनेछ ।

लोकतन्त्र र विधि अनि पद्धतिका गफ दिन पूर्व निरङ्कुश राजा ज्ञानेन्द्रभन्दा माहिर खड्गप्रसाद ओलीले बालुवाटारबाट बाहिरिनुभन्दा केही समयअघिसम्म सार्वजनिक रूपमा त्यही आफूले कहिल्यै पालना नगरेको विधि र पद्धतिकै ठूला गफ गरिरहनुभएको सुनिन्थ्यो । 

अझ हाँस्यास्पद कुरा त के भने नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपतिले शपथ गराइरहँदा पूर्वप्रधानमन्त्रीहरु उपस्थित हुने सामान्य विधि र लोकतान्त्रिक मर्यादाको समेत केपी ओलीलाई हेक्का राख्नुभएन । उहाँ उक्त कार्यक्रममा जान चाहेनुभएन । यो केपी ओलीको संस्कारहीन कर्म हो, अलोकतान्त्रिक र अमर्यादित कार्य हो, यदि लोकतन्त्रमा विश्वास गर्नुहुन्थ्यो उहाँ भने । यही क्रममा नवनियुक्त प्रधानमन्त्री देउवालाई शपथ गराइसकेर ‘बधाई’ दिने सामान्य ‘कर्टेसी’ समेत पूरा गर्न सक्नुभएन ष्ट्रपति विद्यादेवी भण्डारीले । यसबाट निवर्तमान प्रधानमन्त्री ओली र समग्र देशकै अभिभावक, संविधानका संरक्षक राष्ट्रपतिसमेत कति विक्षिप्त बनेका रहेछन् ओली सत्ताच्यूत भएर देउवा प्रधानमन्त्री बन्दा भन्ने प्रस्ट हुन्छ ।

अनि सँगसँगै अब राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रका हिमायती, विधि र विधानका पालनकर्ता भनेर भन्ने नैतिक साहस गुमाइसक्नुभएको छ ।