नेपाल-भारत सीमा नाका शनिबारदेखि बन्द

नेपाल-भारत सीमा नाका शनिबारदेखि बन्द

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७६

काठमाडौं । भारतमा हुने लोकसभा निर्वाचनका लागि शनिबार बेलुकी ६ बजेदेखि नेपाल-भारत सीमा नाका ४८ घण्टा बन्द हुने भएको छ । भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि यही वैशाख २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुनेछ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार सीमा नाका बन्द गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतको उत्तर प्रदेश राज्यको बहराइचमा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको जानकारी दिए । 

सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्नेबाहेक अन्य आवतजावत ठप्प हुने प्रजिअ भुजेलले बताए । 

निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिँदै आएको छ । लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । रासस