तहगत रूपमा भत्ता नपाएपछि स्वास्थ्यकर्मीले फिर्ता गरे तलब भत्ता

तहगत रूपमा भत्ता नपाएपछि स्वास्थ्यकर्मीले फिर्ता गरे तलब भत्ता

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  श्रावण १, २०७८

जाजरकोट । कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै ४० लाख रुपैयाँ उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो ।

२३ लाख रुपैयाँ प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलब भत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगत रूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलब भत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताउनुभयो ।

तलब भत्ता वितरण गर्दा न्याय समानताभन्दा पनि सबैको चित बुझाउने खालको भएका कारण आफूहरूले सो रकम फिर्ता गरेको एक स्वास्थ्यकर्मीले बताए । लामो समयदेखि तलबभत्ता नपाएका स्वास्थ्यकर्मीले धेरै संघर्षपछि पाएको रकममा समेत असमानता भएको भन्दै आक्रोश पोखेका हुन् । त्यस्तै, स्वास्थ्य सेवा कार्यालयका कर्मचारीबीचमा द्वन्द्वका कारण काम गर्न मुस्किल भएको कर्मचारी बताउँछन् ।