कोलकाताद्वारा पञ्जाव पराजित

कोलकाताद्वारा पञ्जाव पराजित
जितपछि किंग्स इलेभन पञ्जावका खेलाडीसँग हात मिलाउँदै कोलकाता नाइट राइडर्सका कप्तान दिनेश कार्तिक (बीच) ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख २१, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जावलाई ७ विकेटले पराजित गरेको छ ।

कोलकाताले पञ्जावले दिएको १८४ रनको लक्ष्य १२ बल अगावै पूरा गर्यो । कोलकाताको जितमा शुभमान गिल नायक बने । प्लेअर अफ द म्याच गिलले ४९ बलमा ५ चौका र २ छक्काको सहायताले अभिजित ६५ रनको योगदान दिए । यस्तै, क्रिस लिनले २२ बलमा ४६ रन र आन्द्रे रसलले १४ बलमा २४ रन जोडे । कप्तान दिनेश कार्तिकले ९ बलमा २१ रनको आक्रामक पारी खेले ।

पञ्जावका मोहम्मद सामी, रविचन्द्र अश्विन र एन्ड्रु टाईले समान १ विकेट लिए । सामीबाहेक अन्य सबै बलरले कसिलो ब्याटिङ गर्न सकेनन् । सामीले तीन ओभरमा १५ रन मात्रै खर्चिए । अन्यले प्रतिओभर ९.५० रनभन्दा बढी खर्चिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको किंग्स इलेभन पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रन जोड्यो ।

पञ्जावले सुरुवात राम्रो हुन सकेन । मध्यक्रमले राम्रो प्रदर्शन गरेपछि उसले सम्मानजनक स्कोर बनाएको थियो । पञ्जावका सैम कुरानले २४ बलमा ५५ रन अभिजित पारी खेले । यस्तै, निकोरस पुरनले २७ बलमा ४८, मयंक अग्रवालले २६ बलमा ३६ रन र मन्दीप सिंहले १७ बलमा २५ रनको योगदान दिए ।

कोलकाताका तर्फबाट सन्दीप वारियरले दुई तथा हेरी गुनी, आन्द्रे रसल र नितिश रानाले समान एक विकेट लिए ।

हारसँग पञ्जावको प्लेअफ पुग्ने सम्भावना एकदमै न्यून बनेको छ ।

अंकतालिकामा पाँचौं

जितसँगै कोलकाता एक स्थान सुधार गर्दै अंकतालिकाको पाँचौं स्थानमा पुगेको छ । उसले चौथो स्थानको सनराइजर्स हैदरावादसँग समान १२ अंक बनाएको छ ।
यसअघि अंकतालिकामा पाँचौं स्थानमा रहेको राजस्थान छैठौं स्थानमा झरेको छ ।

यसरी पुग्नेछ कोलकाता प्लेअफमा

कोलकातालाई प्लेअफ पुग्न मुम्बई विरुद्धको अन्तिम खेल जित्नुपर्नेछ भने सनराइजर्स हैदरावाद रोयल च्यालेन्जर्स बैंग्लोरसँग पराजित हुनुपर्नेछ ।