परिस्थितिजन्य अपुतालीः धेरै उत्साहित नबन, देउवा पनि ‘टेस्टेड’ नै हुन्

परिस्थितिजन्य अपुतालीः धेरै उत्साहित नबन, देउवा पनि ‘टेस्टेड’ नै हुन्

विभूति शर्मा  |  दृष्टिकोण  |  श्रावण १, २०७८

केही दिनअघि सर्वोच्च अदालतले प्रस्ट बहुमतको कम्युनिस्ट नेतृत्वको सरकारलाई परमादेशद्वारा बिदाई गरिदिएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । ५ वर्षको स्थिर र शक्तिशाली सरकारका लागि पाएको जनमत र जनविश्वासमाथि ‘तातोपानी खन्याएर’ आपसी द्वन्द्व र खिचातानीमा अल्झिएर आफ्नै पार्टीको सरकार ढालेर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीबाट लघार्ने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको खेमाप्रति देउवा कृतकृत्य बन्नुभएको हुनुपर्छ ।

देउवासँगै कांग्रेसको संस्थापन खेमा निकै उत्साहित बनेको छ यतिबेला । तर, यो परिस्थितिजन्य र एमालेभित्रकै घात, प्रतिघातका कारण पाएको सत्ता हो देउवालाई । एक प्रकारको परिस्थितिजन्य अपुताली देउवाले व्यहोर्नुभएको मात्र हो । यसमा देउवा र कांग्रेसीजनको कुनै भूमिका छैन । 

जनताले त कांग्रेसलाई ५ वर्ष संगठन बिस्तार र सुदृढीकरण गरेर बस भनेर थन्क्याइदिएका हुन् प्रतिपक्षमा । साँच्चै भन्ने हो भने यो अपवादको परिस्थितिबाहेक कांग्रेस कुनै पनि हालत र हैसियतमा सत्ताको दाबेदार हुने अवस्था थिएन ।

तर, भाग्यमा विश्वास गर्ने हो भने देउवाको भाग्य र एमाले अनि ओलीको दुर्भाग्यले यो अवस्था आएको हो । यसबाट देउवा र कांग्रसीजन फुर्किनु जरुरी छैन । बरु अब देउवा र कांग्रेसलाई चुनौतीको ओइरो लागेको छ । यी चुनौतीलाई चिर्न नसकेमा देउवा मात्र होइन, समग्र कांग्रेस नै बदनाम बन्छ र मुखैमा आएको नसोचेको अवसर यसै खेर जानेछ ।

अहिले देउवा र कांग्रेसलाई निकै थोरै मात्र अवसर छ र धेरै चुनौती । अवसरको कुरा गर्दा, वैश्विक महामारी कोरोनाबाट शिथिल बनेको अर्थतन्त्रदेखि सामाजिक, शैक्षिक जीवनका यावत् पक्षलाई उठाउने कार्य अवसर हो । रोकिएका विकासको गतिलाई चलायमान बनाउने पनि कांग्रेस सरकारका लागि अवसर हो । 

अघिल्लो सरकारका दीर्घकालीन र राष्ट्रिय महत्त्वका योजना र आयोजनालाई समयमै पूरा गरेर आमजनको विश्वास आर्जन गर्ने पनि कांग्रेसका निम्ति अवसर नै हो । अवसर किनभने, यी कामहरू सहज ढंगले समयमै सम्पन्न गर्न सकेमा, कोरोना महामारीको प्रभावकारी नियन्त्रण गर्न सकेमा कांग्रेसप्रति आमजनको विश्वास र भरोसा बढ्नेछ, जसको प्रत्यक्ष लाभ आगामी निर्वाचनमा कांग्रेसले लिन सक्नेछ ।

अनियमितता र भ्रष्टाचारलाई संस्थागत गर्न, राज्य स्रोत दोहन गर्न र गराउन सुरुवात गर्नमा गिरिजाप्रसाद कोइरालापछि देउवाकै नाम अगाडि आउँछ । आफन्त, सालासाली, भाइभतिजा, सुदूरपश्चिमेलीका नाममा राज्य स्रोतको बाँडफाँटमा नामुद हुनुहुन्छ देउवा

तर, माथि भनिएका अवसर अवसर मात्र नभएर कांग्रेसका लागि फलामका चिउरा पनि हुन् । कोरोनाका कारण देशको अर्थतन्त्र डामाडोल भएको, ऋणैऋणको भारले थला परेको, पटक पटक लकडाउनको चपेटाले शिथिल बनेको देशलाई एक्कासि छोटो समयमै उकास्न सजिलो भने छैन । यसका निम्ति सत्ता साझेदार दलहरूबीच कठोर जडान, तीब्र गतिमा नीति र योजनाको कार्यान्वयन, आगामी आवधिक निर्वाचन अवधिसम्मको स्थिर सरकार, सत्तारुढ दलहरूमै आन्तरिक मेल र समझदारी जस्ता कुराहरूमा ध्यान दिनु आवश्यक छ ।

उसो त भदौमा कांग्रेस महाधिवेशन तय गरिएको छ । वर्तमान सभापति तथा प्रधानमन्त्री देउवा स्वयं आगामी कार्यकालका निम्ति सभापतिका दाबेदार पनि हुनुहुन्छ । उहाँले सरकारको नेतृत्वमा रहँदा र पार्टीको जिम्मेवारीमा रहँदा गरेका कामकारबाही र व्यवहारलाई हेरेर पनि आगामी अधिवेशनमा उहाँको हैसियत प्रस्ट हुनेछ । देउवाको कार्य र कार्यशैलीले आगामी निर्वाचनमा कांग्रेसको स्थान पनि प्रस्ट पार्नेछ ।

यसर्थ पनि शेरबहादुर देउवालाई अहिले थपिएको प्रधानमन्त्रीको भार हलुको पक्कै छैन । देउवाको राजनीतिक जीवनमा अघिल्ला कार्यकालमा लागेका समग्र ‘दाग’लाई पखाल्ने र चोखिने यो अवसर पनि हो तर यसका लागि देउवाले केही विषयमा गम्भीर ध्यान दिनुपर्नेछ ।

देउवा विगतमा ‘अक्षम’ घोषित नेता हुनुहुन्छ । पूर्वपरीक्षित नेता हुनुका कारण उहाँप्रति आमजनका अपेक्षा लगभग छैनन् भने पनि हुन्छ । अनियमितता र भ्रष्टाचारलाई संस्थागत गर्न, राज्य स्रोत दोहन गर्न र गराउन सुरुवात गर्नमा गिरिजाप्रसाद कोइरालापछि देउवाकै नाम अगाडि आउँछ । आफन्त, सालासाली, भाइभतिजा, सुदूरपश्चिमेलीका नाममा राज्य स्रोतको बाँडफाँटमा नामुद हुनुहुन्छ देउवा । यस्ता कुकृत्यमै फेरि पनि उहाँको ध्यान गयो भने उहाँ त नेपाली राजनीतिमा डुङडुङ्ती गह्नाएरै अस्ताउनुहुनेछ, लामो इतिहास बोकेको कांग्रेस पार्टीलाई पनि कलङ्कको धब्बा लगाएर जानुहुनेछ ।

वास्तवमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो सुवर्ण अवसर प्राप्त थियो कि उहाँले आफूमा रहेको दम्भ, अहंकार र अराजकतालाई मात्र व्यवस्थापन गर्न सक्नुभएको भए नेपालको इतिहासमा पृथ्वीनारायण शाह, चन्द्रशम्शेर, महेन्द्र शाहपछिका सम्झिन लायक नेता ओली नै बन्नुहुने थियो । तर, उहाँकै दम्भ, अहंकार र अराजकताका कारण इतिहासले भुल्नुपर्ने नेता बनेर अत्यन्त दुखद् ढंगले सत्ताबाट बाहिरिनुभयो ओली । र, अब ओलीलाई आफूलाई सुधार्ने अवसर क्षीण छ ।

ओलीको सन्दर्भ किन पनि जोडिएको हो भने, देउवालाई उहाँले अघिल्ला कार्यकालमा राज्य र जनतामाथि गरेका अन्यायपूर्ण कार्यहरूलाई भुलाउन ‘केही गरेर देखाउने’ मौका प्राप्त भएको छ । यो मौकालाई पार्टीका आन्तरिक लफडाका कारण वा सत्ता साझेदारबीच बेमेलका कारण चुकाउनुपर्ने अवस्था नआओस् । यसका लागि देउवाले व्यक्तिगत स्वार्थभन्दा धेरै माथि उठ्नुपर्नेछ, अहं र दम्भलाई तिलाञ्जलि दिनुपर्नेछ, नातावाद, कृपावादलाई त्याग्नुपर्नेछ ।

देश र जनतालाई मात्र केन्द्रमा राखेर काम गर्ने र इतिहासमा स्वर्ण अक्षरले नाम लेखाउने यति सुन्दर अवसरलाई देउवाले पक्कै चुकाउनुहुनेछैन भन्ने आस मात्र गर्न सकिन्छ, विश्वास गर्न त उहाँको काम हेर्नै पर्छ ।