नेप्सेले गर्‍यो विनियमावली संशोधन, यस्ता छन् प्रावधान

नेप्सेले गर्‍यो विनियमावली संशोधन, यस्ता छन् प्रावधान

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १, २०७८

नेपाल स्टक एक्स्चेन्जले आइतबारदेखि लागू हुने गरी धितोपत्र कारोबार संचालन विनियमावली, २०७५ संशोधन गरेको छ । संशोधित विनियमावलीअनुसार अब आइतबार प्री ओपन सेसनमा कुनै पनि कम्पनीको मूल्य २ प्रतिशतसम्म मात्र घटबढ हुने भएको छ ।

नेप्सेले विनियमावलीको विनियम (१२) को उपविनियम (१०)मा संशोधन गरी खरिद/बिक्री मूल्य निर्धारण सीमा कायम गरेको हो । यसअघि प्री ओपन सेसनमा ५ प्रतिशतसम्म मूल्य घटाएर वा बढाएर खरिदमा राख्न सक्ने व्यवस्था थियो ।

प्री ओपन सेसनमा उतारचढाव तीव्र देखिएपछि यसअघि नै नेपाल धितोपत्र बोर्डले प्री ओपन सेसनमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएर २ प्रतिशत कायम गर्न निर्देशन दिएको थियो । नेप्सेले सोहीअनुसार विनियमावलीमा संशोधन गरेको हो ।

बोर्डले प्रारम्भिक सत्रमा धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकोले उक्त सत्रमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएको उल्लेख गरेको छ । 

नियमित कारोबार सत्रमा हुने न्यूनतम मूल्य परिवर्तनको सीमालाई समेत घटाएर १० पैसा कायम गरेको छ । यसअघि यो सीमा १ रुपैयाँ रहेको थियो ।