नर्वेस्थित ओस्लोको बुङ्गा पार्क : नाङ्गा मूर्तिको श्रीमती, छोरी र नातिनीसँगै साक्षात्कार !

फर्कलान् र ती दिनहरु

नर्वेस्थित ओस्लोको बुङ्गा पार्क : नाङ्गा मूर्तिको श्रीमती, छोरी र नातिनीसँगै साक्षात्कार !

हरिविनोद अधिकारी  |  साहित्य  |  श्रावण १, २०७८

समय कसरी बित्दोरहेछ भने एकछिनअघिको समय पनि तत्कालै पुरानो भइहाल्छ । त्यो मात्र जेहेनमा मूर्त तस्बीर लिएर बस्दोरहेछ । समय अन्तरालमा बिस्तारैबिस्तारै त्यो पनि धमिलो हुने, समय बिर्सने, पात्रहरू बिर्सने र त्यसपछिका घटनाले पहिलेको तस्बीर पनि बिस्तारैबिस्तारै मेटिने पनि हुन्छ । 

मानव मनोविज्ञानले के कुरा भन्दोरहेछ भने, सबै कुरा सम्झन पनि सकिँदैन, सम्झनलायक पनि हुँदैनन् र शरीरको प्रविधि नै यस्तो हुन्छ कि सबै कुरा सम्झने हो भने उसले धान्न पनि सक्दैन । अझ भन्ने गरिन्छ, आफूलाई मन नपरेका कुराहरू बिर्सन थाल्छ मस्तिष्कले तर कतिपय कुरा यस्ता पनि हुन्छन्, जो जति बिर्सन खोजे पनि झनै सम्झनामा ताजा हुने ।   

पहिलेपहिले, जुन बेलामा क्यामेराले फोटो खिच्ने प्रविधि थिएन, त्यो बेलाका कुरा सम्झने मात्र हो । सम्झनाका लागि कुनै त्यस्तो ठोस प्रमाणहरू के पो हुन्थे र ? मेरा घरमा नै हजुरबा चन्द्रकान्त अधिकारी र हजुरआमा अयोध्या अधिकारीको सायदै कुनै फोटो होला, जसले गर्दा अहिले हामीले उहाँहरूलाई ठ्याक्कै अनुहारले चिन्न सकियोस् । ठुली हजुरआमा र ठुल्दिदीको फोटो गणेश दाइले खिचेको याद छ तर अझै त्यो फोटो उपलब्ध छ कि छैन, भन्न सकिँदैन । कान्छाबाको पनि फोटो छ जस्तो लाग्दैन । 

मेरा स्वर्गीय ठुलीआमा र ठुलो कान्छीआमाको पनि फोटो देख्दिनँ किनभने उहाँहरूको पनि २००४ सालमा नै निधन भएको रहेछ । खोज्दै पस्दा धेरै पुराना मानिसहरू, जसको अकालमा नै असामयिक मृत्यु पहिले नै भएको हो, उहाँहरूको फोटो नभएकाले जसले देखेका थिए, तिनले सम्झनामा भन्ने हो, ‘फलानो जस्तो हुनुहुन्थ्यो’ भनेर । स्वर्गीय व्यक्तिका भाइबहिनी, छोराछोरीको अनुहारसँग मिलान गर्ने हो ।  जस्तो कि मेरा ठुलीआमाका सन्तान ६ वटी दिदीहरू र २ वटा दाजुहरू अहिले कोही पनि हुनुहुन्न, जसलाई मैले देखिनँ । अब कसरी अनुहारको अनुमान लगाउनु र ? 

मेरो सानो छोरो पुलकित विनोदले भन्यो, ‘बाबा, ओस्लो शहरको मध्यभागमा एउटा बुङ्गा पार्क छ रे, तपाईँले युरोपको त्यो कलालाई राम्रोसँग अवलोकन गर्नुहोला ।’ मैले पनि आफू पुगेदेखि नै सानी छोरी अर्चनालाई भनेँ, ‘बुनु, त्यो बुङ्गा पार्कमा मलाई र तिम्री आमालाई कहिले लैजान्छ्यौ ?’ उसले हाँसेर मलाई जिस्क्याउँदै भनी, ‘त्यहाँ त नाङ्गा मूर्तिहरू पो छन् त बाबा !’ 

पुरातन कालमा, मध्ययुगमा समेत र भारतवर्षमा राज्य गरेका मौर्य वंशहरूका बेलामा देशबाहिर जानेलाई राहदानी, देशमा आउने विदेशीहरूलाई प्रवेशाज्ञा अर्थात् भिसाको व्यवस्था हुन्थ्यो भन्ने इतिहासमा पढ्न पाइन्छ । त्यो बेलामा पनि त त्यही मानिस हो कि होइन भने पक्कै चिन्नुपथ्र्यो किनभने शत्रु पक्षको जासुस पनि हुन सक्थ्यो या शत्रु सेनाले घुसपैठ गरेको पनि हुन सक्थ्यो । खासगरी व्यापारीहरू एक देशबाट अर्को देशमा जान्थे आफ्ना देशका उत्पादन लिएर र आफ्नो देशमा नहुने सामान लिएर आउँथे । त्योे बेलामा स्वर्णमुद्रा, चाँदीका मुद्राको प्रयोग हुन्थ्यो भन्ने बुझिन्छ । बरु कागजी मुद्रा भने धेरै पछि मात्र आविष्कार भएको बुझ्न सकिन्छ । 

तस्बीर खिच्ने प्रविधि नभएकाले चित्र बनाएर राहदानीवाहकको परिचय दिइन्थ्यो, अनुहारको उस्तै स्वरूप देखिने गरी । हाम्रो नेपालमा चित्रकार भन्ने पेसागत जातिको समेत अझै अस्तित्व छ, जबकि अब चित्रकारले मात्र चित्र बनाउनुपर्छ भन्ने बाध्यता छैन । क्यामेराले खिच्ने काम हुन्थ्यो र अब त सामान्य मोबाइलले पनि फोटो खिचेर सञ्चय गर्न सकिन्छ अनि कम्प्युरबाट सिधै आफूलाई चाहिएको फोटो र फोटोका प्रतिहरू निकाल्न सकिन्छ । साँच्चै नै अहिले सूचना प्रविधिले धेरै विकास गरेको छ, अझै कति विकास गर्ने हो भन्ने अनुमानसमेत गर्न नसकिने अवस्था छ । 

अनि अहिले त फोटोले सम्झनका लागि र पुराना यादहरूलाई ताजा गराउने काम गरेकै छ । सुरुसुरुमा त श्यामस्वेत फोटोमा रङ लगाएर रङ्गीन गराउने पनि चलन थियो । अब त रिलबिना नै फोटो खिच्ने प्रविधि आएपछि सम्झनका लागि मोबाइल या त्यस्तै प्रविधि नै उपयोगी भएका छन् । यादहरूलाई सधैँ वर्तमान बनाउनका लागि तस्बीरहरूले ठूलो भूमिका निर्वाह गरेकै छन् । 

अनि तस्बीरहरूमा पनि घटनाको उल्लेख गरेको छ भने मात्र नभए समय भुल्न सकिन्छ र कुन बेलाको फोटो हो भनेर सोच्नुपर्ने हुन्छ । त्यसैले मानिसहरूले कुनै घटनाका बारेमा व्यक्तिगत टिपोट, दैनिक डायरी, तत्कालै त्यस दिनका कुराहरू टिप्ने बानी पनि देखिन्छ । कतिपय कुराहरू धेरै समयपछि सम्झँदा तलमाथि पर्न पनि सक्छ, मानिसहरूको नाम, घटना र प्रसङ्गसमेत । केही समयसम्म त ती घटना र स्थानका वारेमा सम्झना पनि हुन्छ तर बिस्तारैबिस्तारै अरू घटनाले ती पुराना घटनाहरूलाई छोप्न सक्छन् ।

त्यसैले होला, जाँगरिला र जोसिला लेखकहरूले या घुमन्तेहरूले तत्कालै डायरी पल्टाएर आफ्ना यात्रा वर्णन लेख्छन् र अचेल आफूसँग भएका फोटाहरूमार्फत् ती स्मरणलाई चिरस्थायी बनाउँछन् । यात्रा विवरण लेख्नेहरूले ती ठाउँहरू, त्यहाँ भेटिएका मानिसहरू र रोचक घटनाहरूको बेलिबिस्तार लगाउँछन् र लेखनलाई जीवन्त बनाउँछन्, रोचक बनाउँछन् अनि पाठकलाई त्यही बेलाको झझल्को दिलाउँछन् । संसार साँच्चै अनौठो छ किनभने कुनै पनि ठाउँ एक जस्तो हुँदैन र कुनै पनि मानिस एकसँग अर्को भिन्न हुन्छ र प्रत्येक ठाउँको संस्कार, संस्कृति र चालचलन फरकफरक पनि हुन्छ । 

मैले केही देशहरूको भ्रमणमा जाँदा सकेसम्म तस्बीर खिच्ने प्रयास त गरेको थिएँ तर कतिपय तस्बीरहरू अब उपलब्ध छैनन् मसँग । त्यसले गर्दा ती ठाउँको स्मरण अब बिस्तारै धमिलो हुँदै गएको छ । खोइ किन हो, या कसरी हो, तस्बीरहरू जगेर्ना गर्न पनि सकिएनछ र कतिपय पुराना रिलहरू कता छन्, तिनको पनि कुनै ठेगान छैन । अरूलाई दोष दिने ठाउँ नै छैन, आफ्नै कमजोरी मान्छु म । 

सन् २०१९ मा युरोपका केही देशहरूको भ्रमणमा खिचिएका तस्बीरहरू अझै छन् र कति त मोबाइल बिग्रिएर नखुलेकाले पनि कता परे होलान् । तर, एउटा सम्झनाको बारेमा भने यस पटक राख्ने विचार गरेको छु ।

नर्वेको राजधानी ओस्लोमा एउटा ठुलो पार्क रहेछ, जहाँ गुस्ताफ भिजेल्यान्ड भन्ने मूर्तिकारले करिब २५ वर्ष लगाएर एक्लै बनाएका २०० भन्दा बढी मूर्तिहरू सार्वजनिक रूपमा सजाएर राखेका रहेछन् । अहिले त उनको मृत्युसमेत भइसकेको रहेछ । उनको मृत्यु इस्वी सन् १९४३ मा भएको रहेछ । उनी भिजेल्यान्डका नामले प्रख्यात भएकाले त्यस पार्कको नाम भिजेल्यान्ड पार्क पनि भनिन्छ र खासमा फ्रोग्नर पार्कको रूपमा त्यो विश्व विख्यात रहेछ । भिजेल्यान्डको जन्म सन् १८६९ मा भएको रहेछ । 

जब म नर्वे जाने कुरा भयो र जाने व्यवस्था गरियो अनि मेरो सानो छोरो पुलकित विनोदले भन्यो, ‘बाबा, ओस्लो शहरको मध्यभागमा एउटा बुङ्गा पार्क छ रे, तपाईँले युरोपको त्यो कलालाई राम्रोसँग अवलोकन गर्नुहोला ।’ मैले पनि आफू पुगेदेखि नै सानी छोरी अर्चनालाई भनेँ, ‘बुनु, त्यो बुङ्गा पार्कमा मलाई र तिम्री आमालाई कहिले लैजान्छ्यौ ?’ उसले हाँसेर मलाई जिस्क्याउँदै भनी, ‘त्यहाँ त नाङ्गा मूर्तिहरू पो छन् त बाबा !’ 

अनि बल्ल मैले सम्झेँ कान्छो छोरोले किन बुङ्गा पार्क भनेको रहेछ । अर्थात् कुनै मूर्तिमा लुगा लगाएको बिम्ब छैन । त्यो पार्कमा रहेका सूचनादाताले दिएको जानकारीअनुसार वर्षमा करिब २० लाखसम्म पर्यटक र नर्वेका आन्तरिक पर्यटकहरू समेतले अवलोकन गर्दा रहेछन् । त्यहाँ सित्तैमा पार्कमा जान पाइन्छ र जतिबेरसम्म पनि घुम्न पाइन्छ गृष्ममा किनभने गृष्ममा त्यहाँ घाम डुब्दा रातको ११ बजेको हुन्छ । 

म त्यहाँ दुई पटक पुगेँ । एक पटक २०१९ को जुन २७ तारिखमा भने अर्को पटक पुगेँ जुलाईको ७ तारिखमा । जुनको २७ तारिखमा जाँदा म, मेरी श्रीमती, छोरी र नातिनी थियौँ भने ७ जुलाईमा जाँदा मेरो विद्यार्थी कमल खनाल र उनको छोरो, नातिसँगै थियौँ । त्यो पार्क चौबीसै घण्टा सधैँ खुला रहने रहेछ । १०० एकडभन्दा बढी जग्गा ओगटेको रहेछ । त्यो पार्क आफैँमा धेरै ठुलो ठाउँ ओगटेको र १५० थरिका १४ हजारभन्दा बढी गुलाबका फूलका बिरुवाहरू रहेछन् ।  गुलाबको पनि ठुलो संग्रह रहेछ । नजिकै घना जङ्गल पनि रहेछ । 

कति सफासँग सजाएको पार्क ! कतै दोष दिने ठाउँ छैन । सफा, घाँस एकदमैसँग काटेर मिलाएको, फूलहरूको स्याहार पनि उस्तै छ । मूर्तिहरूको पनि स्याहार गरेको पाइयो । नाङ्गा मूर्तिहरू त छन् तर त्यो कला अमर रहेछ । मानवीय भावनाका अनेक यौनिक भंगिमालाई मूर्तिमार्फत् देखाइएको रहेछ । त्यहाँका मूर्तिहरू हेर्दा कलाको प्रशंसा गरिन्छ, मानवीय संवेदनाको उत्तेजना पटक्कै आउँदैन किनभने बालक, युवा, युवती, वृद्धवृद्धाहरू एकएक गरेर मूर्तिलाई नियालिरहेका पाइन्थे । अद्भूत कला रहेछ । 

सँगै म्युजियम पनि रहेछ तर समयका कारणले त्यो त हेर्न भ्याइएन तर हजारौँ मानिसहरू त्यहाँ थिए हेरिरहेका । समयको कुनै बन्देज थिएन, थियो त मात्र त्यो भिजेल्यान्डको कल्पनाशीलताको निरीक्षण र अवलोकनको चाह ।

पहिलो दिनको भ्रमणमा हामी गएका थियौँ हिउँदे ओेलम्पिकको रंगशाला हेर्न । सायद यसबीच त्यहाँ हिउँदे ओलम्पिक धेरै पटक भएको थियो । त्यो रंगशालाको व्यवस्थापन र हेरचाह हेर्दा लाग्थ्यो, सायद आजैको खेलकुदका लागि तयारी हो । हुनत हिउँले करिब ६ महिना ढाकिने त्यस क्षेत्रमा गृष्म ऋतुमा त्यो कल्पना मात्र हुन्थ्यो । 

हामी त्यसपछि भिजेल्यान्ड आयौँ र होबेदाय टापुको भ्रमणमा गएका थियौँ । दोस्रो पटक म मेरो प्यारो विद्यार्थी कमल खनालसँग उनले एमफिल गरेको र अब विद्यावारिधि गर्न आँटेको ओस्लो विश्वविद्यालयमा गएको थिएँ । त्यहाँको राष्ट्रिय रेडियो र टेलिभिजन केन्द्रको अवलोकन गर्दै फर्केको थिएँ रातको १० बजेतिर । 

अरू तस्बीरहरू अर्को पल्ट ।  
क्रमशः