छोडिदेऊ लगाउन अभिशापहरू

छोडिदेऊ लगाउन अभिशापहरू

निरञ्जना चन्द  |  साहित्य  |  श्रावण २, २०७८

ओइरिदै छन् बिस्तारै बिस्तारै घामका झुल्काहरु
पोखिदै छन् बिस्तारै बिस्तारै जूनका तरङ्गहरु
मौसम ताराहरुको छ जूनहरुको छ 
एउटा निलो आकाश 
कहाँ सजिन्छ र चम्किला ताराहरूबिना
अटल रहन्छ र कहाँ धरा नै नरहेपछि 

फेरि धर्तीले बोक्ला र कसरी धैर्यताको पहाड 
रक्तिम क्षितिज नउदाएसम्म 
धरा मुस्कुराउला कसरी 
दिवाकर आई नछोएसम्म 
दिवाकर मुस्कुराउला कसरी 
घुँगुरा नबजेसम्म
चुरा नबजेसम्म 
सिमल कहाँ सिमल रहला ?
हाँगाहाँगामा फुल नफुलेसम्म 

तर आमा 
तिमी मात्रै बजाउँछ्यौ किन जुठेल्नामा चुराहरू ?
के चुरा नबज्ने हातहरुले अगेनोको दाउरा ठोसिदैन ?
भुइँको कसिङ्गर र दलिनको जालोको लागि पनि
बज्नैपर्छ र चुराहरू ?
भुराका नाकको सिंगान 
र आँखाका कचेरा पुछ्न बज्नैपर्छ र चुराहरु ?
गोठकी बाख्री र ठुम्रा भैंसी 
के अघाउँदिनन् चुराबिनाका हातले काटेको घाँस खुवाई ?

हेरन आमा 
आज मैले माझेँ कालो कसौंडी 
कसौंडीसङ्गै उज्यालो भयो आमाको मुहार 
सखारै कुचोले पायो चुराबिनाको हात
उस्तै गरि सगसगाउँदो भयो दैलो र भुइँ 
दैलो र भुइँसङ्गै बढारियो आमाको मन 
बारीको छेउमा लाग्यो 
एउटा ठुलो दाउराको खलियो
छोरोकोजस्तै भयो उनको पनि बलियो छाती
गोठमा आज बजेनन चुराहरू 
काली बाख्री र ठुम्रा उग्रआइरहेकी छिन् उस्तै गरि 
भुराका कुरा र जुठेल्नामा कुखुरा 
उस्तै गरि उन्मुक्त छन् आज पनि 

त्यसैले त आमा
तिमी मात्रै नबजाउन अब चुराहरू 
आऊ चुराबिनाका बाका हातसँगै
समानान्तर हुनुपर्छ अब 
जुठेल्ना , दलिन , चुलोचौकाहरूमा
हरेकहरेक अवसर र मौकाहरूमा
अब बज्नुपर्छ छमछमी उमंगका चाँपहरू
खत चुराकै लाग्छ भने
छोडिदेऊ लगाउन ती अभिशापहरू
तोडिदेऊ दुखदिला ती अभिशापहरू ।

बर्दिया