लक्ष्मण गाम्नागे: शिक्षकदेखि सिस्नुपानीका नेतासम्म
श्रावण २, २०७८

उहाँको माताको र उहाँको नाममा एउटै शब्द अतिरक्ति छ, त्यो हो प्रसाद । सायद त्यही कारण हो वा अरू, उहाँलाई उक्त नाम त्यति प्रिय लागेन । 

उहाँ यसमा केही परिमार्जन चाहनुहुन्थ्यो । त्यसमा जोडिएर आयो लक्ष्मण अनि आफ्नै पुख्र्यौली थातथलो जोडेर गाम्नागे । 

तर, यो ‘गाम्नागे’सम्मको यात्राका लागि उहाँले भूटानका पहाडदेखि झापाका समथर मैदान अनि काठमाडौंको कोलाहलसम्म आफ्ना पैताला खियाउनुभएको छ, जसबाट बनेको नाम हो– लक्ष्मण गाम्नागे । 

पारिवारिक अवस्था

उहाँका बुवाआमा अझै पनि सक्रिय हुनुहुन्छ पुख्र्यौली थलो झापाको गौरादहमा । बुबाको मुख्य पेसा खेती किसानी नै हो । तर, यसका अतिरिक्त पुराण वाचन गर्ने पण्डित पनि हो उहाँका बुबा । 

उहाँको बुबाका सात दाजुभाइ र तीन दिदीबहिनी । उहाँको बुबा भने कान्छो । बुबाका पनि दश सन्तान, चार छोरा र छ जना छोरी । 

परिवार धान्न आर्थिक रूपले अप्ठ्यारो भएपछि उहाँका बुबा भूटानको देन्छुखातर्फ लाग्नुभयो, जहाँ उहाँको माइलो दाजु हुनुहुन्थ्यो । भूटानमा उहाँका बुबा पण्डित्याइँका सिलसिलामा धेरै ठाउँ पुग्नुहुन्थ्यो । घरमा बास नै पनि कम हुन्थ्यो बुबाको । 

परिवार पाल्न नै हैरानी खेप्नुपरेकोले आफ्नो परिवारलाई निम्न मध्यम परिवार भन्न रुचाउनुहुन्छ उहाँ । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०२१ सालमा भूटानमा भएको हो । नागरिकतामा पनि यही नै छ उहाँको जन्म मिति । उहाँका चार दाजुभाइ तथा छ दिदी बहिनी । उहाँ भने साहिँलो । 

उहाँको बाल्यकालका करिब १२ वर्ष भूटानमा बिते । त्यस हिसाबले उहाँको सिंगो बाल्यकाल नै भूटानमा बित्यो । केराको सुतलीमा चिप्लेटी खेल्ने, लुकामारी खेल्ने, झुम्रोको बल खेल्ने गरेर बित्यो उहाँको बाल्यकाल । 

भूटानमा त्यसबेला गुच्चा हुँदैनथ्यो । आमनेपालीको बालापनमा हुने गुच्चाको कहानीको पाटो भने रिक्त रह्यो उहाँको जीवनमा । तर, धनुकाँण भिरेर शिकार खेल्न जाने अनि दुम्सी नभेटे पनि दुम्सीको सिकार गर्न जाने भन्ने रह्यो । 

घरहरू टाढा भएकाले पनि धेरै साथीहरू रहेनन् र त्यति धेरै साथीहरूसँग खेलेको पनि सम्झना छैन उहाँलाई । तर, आफ्ना भाइबहिनीहरू धेरै भएकाले उनीहरूसँग खेल्ने र झगडा गर्ने भने खुब भयो । 

प्रारम्भिक शिक्षा

उहाँका दाजु तथा प्रसिद्ध साहित्यकार डा. गोविन्दराज भट्टराइले उहाँलाई कखरा चिनाउनुभएको हो । उहाँले २०२७ सालमा भूटान गएका बेला स्कूल नगएका केटालाई जम्मा गरेर स्याउलाले बारेको अस्थायी स्कूलमा सबैलाई पढाउनुभएको थियो । त्यही ‘ब्याच’को कखरा हो उहाँको । 

उहाँले सुरुमा पढ्नुभएको चाहिँ देन्छुखा प्राथमिक स्कूल हो, जहाँ उहाँले दुई कक्षासम्म पढ्नुभयो । 

बस्नलाई त्यसबेला काठका फल्याक हुन्थे । पढाइ एकदमै राम्रो थियो । अंग्रेजीलगायत नेपालीका पनि दुई विषय थिए । प्रधानाध्यापक हुनुहुन्थ्यो आचुगेले । उहाँले बडो कडाइका साथ ह्रस्व, दीर्घ हेरेर नेपाली पढाउनुहुन्थ्यो । 

पछि उक्त स्कूल गुरुङ डाँडामा सर्‍यो । त्यहाँ उहाँले तीन कक्षा पढ्नुभयो । अब अगाडि पढ्न भने चार घण्टाको पैदल दूरी दोर्खामा जानुपर्ने भएकाले उहाँले फेरि देन्छुखामै तीन कक्षा दोहोर्‍याएर पढ्नुभयो । बुबाको नेपाल बसाइँ सर्ने मनस्थिति भएका कारण पनि उहाँले कक्षा दोहोर्‍याउनुभएको हो । 

हुनत सिस्नुपानीले अरू संस्थाहरूसँग मिलेर जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको छ । तर, नेपालीहरूको महान् चाड तिहारमा एक पटक गर्ने देउसी कार्यक्रमले भने सिस्नुपानीलाई चिनाएको छ । उक्त देउसी कार्यक्रम अत्यन्तै चर्चित हुनुका साथै राजनीतिक र सामाजिक विकृतिका विरुद्धमा तीखो प्रहार गर्ने कारणले पनि अत्यन्त लोकप्रियसमेत छ । 

कक्षामा करिब १०–१२ जना विद्यार्थी हुन्थे । छात्राहरू भने दुई–तीन जना मात्र हुन्थे । शिक्षा पूर्ण रूपमा निःशुल्क थियो । कपी, किताब पनि निःशुल्क नै उपलब्ध हुन्थ्यो । 

उहाँले सुरुमा काठको पाटीमा धुलो छरेर सिन्काले क, ख लेख्न सिक्नुभएको हो । पछि टिनको कालोपाटीमा खरीले लेखेर पढ्नुभयो । स्कूलमा भने कापी तथा सिसाकलम हुन्थ्यो लेख्नलाई । 

राजाको लुगा

एक पटक साम्चीमा भूटानका राजा जिग्मे सिग्मे वाङ्चुकको भ्रमण हुने भयो । विशेष गरी गरिब र बिपन्न, जो राजाको दर्शन गर्न इच्छुक छन्, उनीहरूलाई आउनू भन्ने उर्दी जारी भयो । 

उहाँका बुबा, माहिलो दाजु र उहाँ साम्ची आउनुभयो । बसाइ ठूलो बुबाकहाँ भयो । ठूलो बुबाको घरभन्दा माथि पिच रोड थियो, जहाँ गाडी दौडन्थ्यो । 

त्यो देखेर उहाँलाई घोर आश्चर्य लाग्यो । त्यहाँ स्विच अन–अफ गरेर बत्ती बलेको देख्दा यो कसरी सम्भव भयो होला भनेर बलेको बत्तीलाई घण्टौँसम्म हेरेको उहाँलाई अहिले पनि सम्झना छ । 

उहाँ साम्चीमा मण्डलको नेतृत्वमा आउनुभएको थियो । मण्डल भनेको गाउँ पंचायतको प्रधानपंच भनेजस्तै हो त्यसबेला । मण्डलले धनी र गरिब छुट्टिएर बस्न भने । त्यसरी छुट्टिएर बस्नुको कारण भने गरिबलाई राजाले केही दिन्छन् भन्ने रहेछ । 

अनि उहाँहरू गरिबको लाइनमा लामबद्ध हुनुभयो । सबैको काँधमा राजाले थपकथपक लुगा राखिदिँदै गए । उहाँ त्यसबेला करिब १०–११ वर्षको हुनुहुन्थ्यो । 

केही बुझ्ने उमेरको भए पनि धनी र गरिब भनेर त्यसरी छुट्याएर लाइन लगाउँदा पनि कुनै किसिमको त्यस्तो ग्लानी भने भएन उहाँमा । अहिले सम्झँदा त ओहो भन्ने लाग्छ उहाँलाई । तर, त्यो लाइनमा त्यसबेला भूटानमा सायद धनी भन्ने नै नभएका कारण पनि त्यस्तो किसिमको अप्ठ्यारो महसुस नभएको हो कि भन्ने लाग्छ उहाँलाई । 

त्यो राजाले दिएको कपडा भने स्कूलको पोसाक थियो । पछि त्यसलाई सिलाएर स्कूल जाँदा लगाएको पनि याद छ उहाँलाई । 

सिर्कनाका कथा 

भूटानमा त्यसबेला पढाइमा निकै कडा अनुशासन थियो । एक जना जोङ्खा पढाउने भूटानी गुरु हुनुहुन्थ्यो । उहाँ त्यति नेपाली नबुझ्ने । गुरुको नाक अलिक लामो थियो । 

एक दिन कक्षामा पढाउँदै गर्दा सायद उहाँ साथीसँग कुरा गर्दै गरेको धमिलो सम्झना गर्नुहन्छ, सरले एक चड्कन दिनुभयो । उहाँले पनि रिसाएर ‘चुच्चे’ भन्नुभयो । 

गुरुले नेपाली नबुझेर यसले के भन्यो भनेर अरू साथीलाई सोध्नुभयो । धेरै साथीले बताएनन् । एक जनालाई सिर्कनो लगाएपछि उनले ‘सरको नाक लामो भएका कारण चुच्चे भनेको’ भनेर अथ्र्याए । 

गुरुले फेरि दुई–चार सिर्कना र झापड थप गर्नुभयो । उहाँ भने रुन थाल्नुभयो । त्यसपछि गुरु निस्केर जानुभयो कक्षा कोठाबाट । 

त्यो कुटाइपछि उहाँ दुई–तीन दिन त स्कूल नै जानुभएन । पछि बुबाले गएर कुरा मिलाएपछि उहाँ स्कूल त जानुभयो तर सरसँगको आग्रह भने मरेको थिएन ।

उहाँको बुबा स्कूलको संचालक समितिको सदस्य पनि हुनुहुन्थ्यो । त्यस हिसाबले पनि गुरुहरूको आउजाउ घरमा भइरहन्थ्यो । 

एक दिन जोङ्खा पढाउने उनै गुरु बख्खु लगाएर घर आउँदै हुनुहुन्थ्यो । बर्खाको समय भएकाले आँगन चिप्लो थियो । गुरु चिप्लिएर नमज्जासँग लड्नुभयो । त्यसपछि भने गुरुसँगको उहाँको रिस मर्‍यो । नत्र त गुरु र उहाँको संवाद नै बन्द थियो । 

अर्को एउटा प्रसंग पनि छ यस्तै । एक पटक उहाँ बुबासँग आफन्तकहाँ स्कूल लाग्ने दिनमा पहुँठाप जानुभएको थियो पूजामा । पूजामा नाचगान, खानपिन सबै रमाइलो भयो । तर, भोलिपल्ट स्कूल जाँदा बंगाली गुरु एसएस डेले ‘हिजो किन स्कूल नआएको ?’ भनेर सोध्नुभयो । 

उहाँले पहुँठाप गएको जबाफ दिएपछि गुरुले ‘कसलाई सोधेर गएको ?’ भनेर थप प्रश्न गर्नुभयो । अब उहाँसँग जबाफ थिएन । कारण, कसैलाई सोधिएको पनि थिएन र जानकारी पनि थिएन । गुरुले ‘हाफपाइन्ट खोल’ भनेर पछाडि तीन सिर्कना लगाउनुभयो । 

ती गुरुको उहाँकहाँ आउजाउ राम्रै थियो । माया पनि गर्नुहुन्थ्यो तर अनुशासनको सवालमा भने साह्रै कडा । 

एक पटक कक्षामा गुरु नआएका बेला उहाँहरू ढर्रर ढम्म ढर्रर ढम्म बज्न थाल्यो । त्यहाँ ‘राजा’ कविता कराएर पढ्दै हुनुुहुन्थ्यो । सँगै अर्को कक्षा थियो । बीचमा बारेको थिएन । उताको कक्षामा उहाँका गोविन्द दाइले अंग्रेजी पढाउँदै हुनुहुन्थ्यो । 

उहाँले एक–दुई पटक ‘हल्ला नगर’ पनि भन्नुभयो कि कुन्नि, उहाँहरू आफ्नै तालमा भएकाले थाहा भएन । गोविन्द दाइले पछाडिबाट सबैलाई टाउकोमा लौरोले ट्वाकट्वाक हान्दै आउनुभएछ । 

उहाँलाई पनि लौरोले हानेर जानुभयो । साथीहरूले ‘तँलाई त दाइले पिट्नुहुन्न कि भनेको, तँलाई पनि पिट्नुभयो’ भनेर जिस्क्याए । 

एक दिन कक्षामा गणित विषय पढाउने झा गुरुले एउटा प्रश्न गर्नुभयो । उहाँले त्यसको उत्तर दिन सक्नुभएन अनि गुरुले उहाँलाई एक सिर्कनो दिनुभयो । 

पछि सँगै बसेको साथी, जो ‘फस्र्ट व्वाइ’ पनि थिए, उनले गुरुलाई उहाँ गोविन्द सरको भाइ भएको तथा भूटानबाट भर्खरै फर्किएकाले नेपाली त्यति नआउने बताए । त्यसपछि सरले ‘अघि नै भन्नुपर्दैन ?’ भनेर ती साथीलाई भने । 

सोधेको भने जम्मा कति सेमी र कति सेमी जोड्दा कति हुन्छ ? भनेर सोध्नुभएको रहेछ तर प्रश्न नै नबुझेकाले उहाँले सिर्कनो खानुभयो । सिर्कनाका यस्ता थुप्रै घटना घटेका छन् उहाँकोे भूटान तथा नेपाल बसाइको दौरानमा । 

काठमाडौं यात्रा

उहाँ आठ कक्षा पढ्न पहिलो पटक काठमाडौं आउनुभएको हो । त्यसबेला दमकबाट आएको गाडी हेटौँडामा आएर बास बस्थ्यो त्यसपछि बाइरोडको बाटोमा ट्रकमा फिलिली । 
पहिलो पटक काठमाडौं आउँदा उहाँलाई अब काठमाडौंमा कसले लिन जाने अनि राख्ने ? भन्ने समस्या परेपछि उहाँ धादिङको कानाकोटमा झर्नुभयो, जहाँ उहाँको जन्तरे हजुरबाको छोरा छविलाल दाइले पढाउनुहुन्थ्यो । भोलिपल्ट छवि दाइले उहाँलाई काठमाडौं ल्याएर गोविन्द दाइसँग भेट गराइदिनुभयो । कालीमाटीमा झरेर त्यहाँबाट हिँड्दै ब्रह्मटोलमा आएजस्तो लाग्छ उहाँलाई । 

काठमाडौंमा गल्ली अनि घरै घर । गाडी पनि त्यतिकै गुडेका छन् । उहाँलाई त यतै शहरमा हराइन्छ जस्तो पनि नलागेको होइन । 

उहाँ १० कक्षासम्म नै काठमाडौंमै पढ्न भनेर आउनुभएको हो । तर, गोविन्द दाइलाई पढाउन धनकुटा जानुपर्ने कारणले उहाँको त्यो इच्छा पूरा भएन । 

दाइ धनकुटा जाने भएपछि उहाँले पनि काठमाडौं छाड्नुभयो । कालीमाटीबाट एउटा ट्रकमा पथलैयासम्म त्यसपछि फेरि ट्रकबाट इटहरी पुगेर बास बस्दै घर पुग्नुभयो । 

बसाइँ सराइ अनि पढाइ

उहाँको २०३३ सालमा झापा बसाइँ सराइ भयो भूटानबाट । पहाडबाट तराई अनि चिसोबाट गर्मी ठाउँमा सर्दा हुने केही वातावरणीय अप्ठ्यारा भए पनि उमेर सानै भएकाले त्यसलाई उहाँले सहजै पचाउनुभयो । 

तर, पढाइका सिलसिलामा भने उहाँलाई निकै अप्ठ्यारो प¥यो । भूटानको पढाइ पनि राम्रो अनि तीन कक्षामा दोहो¥याएर पढेको हुनाले जनता मावि गौरादहमा पाँच कक्षामा भर्ना हुन खोज्नुभएको थियो । तर, त्यहाँका प्रधानाध्यापकले त्यो कुरालाई स्वीकार गर्नुभएन । 

यता, पाँच कक्षामा भर्ना नपाएपछि उहाँ राधिका मावि उर्लाबारीमा पाँच कक्षामा भर्ना हुनुभयो, जहाँ उहाँका दाइ पढाउनुहुन्थ्यो । जाँदाआउँदा दाजुभाइ सँगैसँगै हुनुहुन्थ्यो पनि । 

उहाँको पढाइ राम्रो थियो । भूटानबाट फर्कंदा करिब २०० जना विद्यार्थीमा उहाँ तेस्रो हुनुभएको थियो । उहाँको रोजाइ जहिले पनि पहिलो बेञ्च नै हुने गथ्र्यो । फेरि छ कक्षा पढ्न भने गौरादह नै फर्कनुभयो । सात कक्षासम्म पढाइ भयो त्यहाँ । 

आठ कक्षा पढ्न भने उहाँ काठमाडौं आउनुभयो । कारण थियो, उहाँका दाजु गोविन्द भट्टराई त्यसबेला काठमाडौंमा नै हुनुहुन्थ्यो । उहाँ पढाइका सिलसिलामा दाजु गोविन्दका पछि धेरै नै लाग्नुभयो । त्यसो त उहाँको बुबा पनि गोविन्द दाइलाई अति सम्मान गर्ने कारण पनि त्यसो भएको रहेछ । 

उहाँ काठमाडौंको दरबार हाईस्कूलमा कक्षा आठमा भर्ना हुनुभयो तर दाइले पढाउन धनकुटा जाने भएपछि उहाँको काठमाडौंमा थप अध्ययनको चाहना पूरा भएन । 

उहाँ फर्केर गौरादह नै जानुभयो, जहाँ उहाँले नौ र १० कक्षा पढ्नुभयो । विद्यार्थी धेरै नै थिए त्यसबखत, तीनवटा सेक्सन गरेर झण्डै २०० । महिलाहरू पनि करिब १५ देखि २० प्रतिशत । 

केटीहरूसँग बोल्ने र जिस्क्याउने भन्ने त्यति भएन । ‘यसो नहुनुमा पहिलो त आफ्नो अन्तर्मुखी स्वभाव अनि अर्को भनेको अलिक सानो भएकाले पनि होला’, उहाँ भन्नुहुन्छ ।  

स्कूल पढ्दा केटीहरूप्रति आकर्षित नहुनुभएको पनि होइन उहाँ तर उनीहरूसँग बोल्ने र प्रस्ताव राख्ने आँट नै आएन । बरु मन नपराएकासँग भने गफगाफ भयो उहाँको । ‘कापी साटासाट र पढाइका कुरा पनि भए । तर, राम्रा लागेकासँग भने बोल्नै सकिएन’, उहाँ भन्नुहुन्छ । 

पढाइ भने उहाँको राम्रो थियो । उर्लाबारीमा उहाँ तेस्रो हुनुभएको थियो भने गौरादह आउँदा उहाँ प्रथम । पछि काठमाडौंबाट गौरादह नै फर्किएपछि भने उहाँलाई साथीहरूले  ‘अब तँ प्रथम हुन सक्दैनस्’ भने । नभन्दै एक जना पढालु साथी आएका रहेछन्, त्यसैले उहाँ प्रथम हुन सक्नुभएन, दोस्रो हुनुभयो । 

उहाँले गौरादहबाट नै स्कूले जीवनको बिट मार्नुभएको हो । उहाँ २०३९ सालको ब्याच हो एसएलसीको । त्यसबेला एसएलसी दिने करिब सय जना थिए होलान् । तीमध्ये ३० जना पास भए । ३० जनामध्ये ‘फस्र्ट व्वाइ’ एक जना फस्र्ट डिभिजनमा पास भए । अरू १० जना सेकेण्ड डिभिजन भने बाँकी थर्ड डिभिजनमा । 

एसएलसीपछि

त्यसबेला एसएलसीपछि तीन–चार महिनाको समय लाग्थ्यो रिजल्ट निस्कन । आर्थिक अवस्थाका कारण रिजल्ट कुरेर त्यसपछि कलेज पढ्ने अवस्था थिएन । 
उहाँको दाइ हुनुहुन्थ्यो एक जना रसुवामा । उहाँले ‘बिस्तारित खोप आयोजनामा जागिर खान आइज’ भनेपछि उहाँ लाग्नुभयो रसुवातिर । 

सात दिनको तालिम अनि चिसो रहिरहने खोप बोक्ने भाँडोसहित उहाँको जागिर पक्का भयो । उहाँ दाइसँगै धुन्चेमा बस्नुभयो त्यसबेला । खोप लगाउँदै टिमुरे थुम्मनलगायत रसुवाका सीमासम्म पुगेर छ महिना काम गर्नुभयो । त्यसपछि परियोजनाको काम र उहाँको जागिर दुवै सकियो । 

उहाँको तलब त्यसबेला झण्डै ३५० रूपैयाँजति थियो । तर, टीए÷डीए भने राम्रै आउँथ्यो किनकि दैनिक हिँडेर खोप लगाउन जानुपथ्र्यो । 

टीए/डीएको पैसा लिन काठमाडौं आउनुपथ्र्याे । त्यो काम एक जना हाकिम सा’बले गर्नुहुन्थ्यो । त्यसबेला उहाँले काठमाडौं आउनेजाने उहाँको खर्च कटाएर उक्त रकम दिने गर्नुहुन्थ्यो । 

उहाँलाई त्यो पहिलो तलबले के गरेँ भन्ने कुराको ठ्याक्कै स्मरण नभए पनि आर्थिक अवस्था कमजोर भएका कारण पक्कै पनि पढ्नका लागि राखेको हुनुपर्ने उहाँको ठम्याइ छ । 

उहाँ त्यहाँ जागिरे हुँदै एसएलसीको रिजल्ट भएको थियो । उहाँ दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभयो । यसपछि उहाँ झापा फर्किएर पढ्नका लागि धनकुटामा फर्म भर्नुभयो । फर्म साइन्स तथा कमर्स दुवै विषयका लागि थियो । साइन्समा नाम निस्केन भने पढ्नका लागि सजिलो हुन्छ भनेर त्यसो गरिएको थियो । 

नभन्दै उहाँको साइन्समा नाम निस्केन अनि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आईकम पढ्न थाल्नुभयो । त्यसै क्रममा धादिङको छत्रेदेउरालीमा रहेका उहाँका फुपूका छोराहरूले एक जना शिक्षकको पद खाली रहेकाले ‘जागिर खाने भए आइज’ भनेर पत्र पठाए । 

अब बुबालाई गाह्रो बनाईबनाई मुस्किलले पढ्नुभन्दा जागिर खान जान्छु भनेर उहाँ जागिर खानका लागि छत्रेदेउराली आइपुग्नुभयो । काठमाडौंदेखि नजिक भएकाले पछि काठमाडौं सर्न सकिन्छ भन्ने लागेर पनि उहाँ छत्रेदेउराली आउनुभएको थियो । यो २०४१ सालको कुरा हो । 

उहाँले प्राथमिक तहमा अंग्रेजी पढाउनुहुन्थ्यो त्यसबेला । तलब भने ४४० रूपैयाँ थियो । उहाँहरूले त्यहाँ सिंगै घर भाडामा लिनुभएको थियो । फुपूका छोराहरू तथा भाउजूहरू पनि सँगै हुनुहुन्थ्यो । सबै सँगै भएपछि एक किसिमको रमाइलो पारिवारिक वातावरणसमेत बनेको थियो । 

उहाँले त्यहाँ करिब एक वर्ष काम गर्नुभयो । उहाँले आईए प्राइभेट दिएर पूरा गर्नुभएको थियो । यता, गोविन्द दाइले धनकुटाबाट भए पनि पढ्नका लागि घचघच्याइरहनुहुन्थ्यो । 

यसैबीचमा उहाँले मुखियामा नाम निकाल्नुभयो लोकसेवाको परीक्षामा । शिक्षक आयोगमा पनि नाम निस्केको थियो तर रोजाइमा भने बबरमहलको कृषि विभाग प¥यो । 
विभागको कृषि सूचना शाखामा उहाँको काम सुरु भयो । त्यसबेला मदनदास श्रेष्ठले भने भर्खर काम छोड्नुभएको थियो भने मदनकृष्ण श्रेष्ठ भने काम गर्दै हुनुहुन्थ्यो । जेटीए र बुढी आमैको बुढी आमै पनि काम गर्नुहुन्थ्यो । 

उहाँ पहिलेदेखि हास्यव्यंग्य कविता लेख्ने गर्नुहुन्थ्यो । यहाँ पनि उहाँ कार्यक्रममा भाग पनि लिने तथा लेख्ने पनि गर्न थाल्नुभयो । त्यहाँ पनि उहाँले करिब डेढ वर्ष काम गर्नुभयो । 

फेरि खरिदारमा नाम निकालेर उहाँले दूरसञ्चार संस्थानमा काम सुरु गर्नुभयो । उहाँले २०४४ सालमा सुरु गर्नुभएको थियो दूरसञ्चारमा काम गर्न । करिब २८ वर्ष काम गरेपछि २०७२ सालमा आठौं तहबाट उहाँले स्वैच्छिक अवकाश प्राप्त गर्नुभएको हो । 

पढाइको हकमा भने उहाँले रत्नराज्य लक्ष्मी क्याम्पसबाट बीए तथा एमए भने प्राइभेटबाट पूरा गर्नुभएको हो । 

विवाह 

उहाँको विवाह २०४७ सालमा भएको हो । त्यसबेला उहाँ दूरसञ्चारमा काम गर्नुहुन्थ्यो । उहाँकी जीवनसंगिनी भने दमक क्याम्पसमा पढ्दै हुनुहुन्थ्यो । दुवै जनाको घर भने हालको गौरादह नगरपालिका । 

एक जना भाइले चिनापर्ची गराइदिएपछि सम्बन्ध विकसित भएको हो । कुराकानी र सम्बन्ध बाक्लिएपछि प्रेम भयो । र, प्रेम विवाहमा परिणत भयो । 

उहाँका एक छोरा तथा एक छोरी हुनुहुन्छ । छोरीको पढाइ भने थिएटर । मुम्बईमा पोस्ट ग्र्याजुएट गर्दै हुनुहुन्थ्यो छोरी । कोभिडले बाधा पु¥याएपछि भने हाल फर्केर शिल्पी थिएटरमा एउटा प्रोजेक्टमा काम गर्दै हुनुहुन्छ । छोरा भने आईटी पढ्दै हुनुहुन्छ । 

पहिलो पटक गाडी चढ्दाको अनुभव     

भूटानको साम्चीमा गाडी देख्दा उहाँलाई साँच्चै अनौठो लागेको थियो । दिदीको विवाहका लागि झापा आउन साम्चीबाट गाडी चढ्नुभयो । गाडीमा बुबालगायत अन्य आफन्त पनि हुनुहुन्थ्यो । 

गाडीमा चढ्दा कस्तो हुन्छ भन्ने अचम्म र उदेक लाग्दै थियो उहाँलाई । गाडी स्टार्ट भएर गुड्न थाल्यो । उहाँ गाडीको झ्यालबाट बाहिर हेर्दै हुनुहुन्थ्यो । 

हेर्दा हेर्दै रुखहरू कुद्न थाले । बाटो, घर सबैसबै नै कुद्न थाले । गाडी अलिक भिडभिड थियो । अब सबै कुद्न थालेपछि बुबा कता पुग्नुभयो, आफू कता भनेर उहाँलाई एकदमै डर लाग्यो । उहाँ आत्तिएर यताउति गर्न थाल्नुभयो । तर, बुबा त त्यहीँ सिटमा बसिरहनुभएको थियो । सबै कुदेपछि पनि सबै त्यहीँ देखेको कुरा उहाँ कहिल्यै पनि बिर्सनुहुन्न ।

भट्टराईबाट गाम्नागे  

उहाँको आमाको नाम लक्ष्मी भट्टराई । उहाँको पनि लक्ष्मीप्रसाद भट्टराई । के कारणले हो, यो नाम उहाँलाई कहिल्यै प्रिय लागेन । लामो पनि । 

उहाँले आफ्नो सम्पादनमा ‘रकेट’ नामक पत्रिका सुरु गर्नुभयो, जसलाई उहाँका दाजु गोविन्दराज भट्टराईलगायतको साथ र सहयोग थियो । 

पहिलेदेखि नाम प्रिय नलागेकाले उहाँले पत्रिकामा लक्ष्मण भट्टराई लेख्न थाल्नुभयो । पंचायतकालको समय अनि सरकार तथा मन्त्रीहरूका बारेमा व्यंग्य लेख्ने हुँदा अफिसका साथीहरूले अरू नै नाम राख्न सल्लाह दिए । 

लक्ष्मण त उहाँले सुरु गरी नै सक्नुभएको थियो । अब पालो थियो भट्टराई परिवर्तनको । उहाँले त्यसको साटो गाम्नागे लेख्न थाल्नुभयो । 

उहाँहरूको पुख्र्यौली थलो ओखलढुंगाको गाम्नााङटार । गाम्नाङटार छाडेर हिँडेका भट्टराईहरूले आफूलाई आन्तरिक रूपमा गाम्नागे भन्छन् । पूर्वतिर ‘तपाईं कुन भट्टराई’ भन्यो भने ‘गाम्नागे, चिसुंखे, चालिसे’ आदि भन्ने गर्छन् रे ! 

गाम्नागे भन्नलाई पनि मानिसहरूलाई धेरै अप्ठ्यारो लागेकाले फेरौँ भन्ने पनि लागेको थियो उहाँलाई तर अब स्थापित भइसकेको नाम किन फेर्नु भन्ने पनि लाग्यो । 

उहाँको हास्यव्यंग्यतर्फको झुकाव भने दाजु कवि गोविन्दका कारण नै भयो जस्तो लाग्छ उहाँलाई किनकि उहाँ आँसुकवि जस्तै जे देखे पनि तुरुन्तै कविता बनाउन सक्ने अनि सुरुका उहाँका कविता हास्यव्यंग्य चेतका हुने गर्थे । 

पछि काठमाडौंबाट फर्केपछि स्कूलमा गुरुहरूले साहित्यिक कार्यक्रमको अगुवाइ गर्ने जिम्मा दिनुभयो उहाँलाई । सुरुसुरुमा भने उहाँ क्रान्तिकारी कविता लेख्नुहुन्थ्यो । 

पुस्तकालयमा भैरव अर्यालका किताब पढेपछि त्यसमा रुचि बढ्दै र बस्दै गयो अनि व्यंग्यका कविता स्कूलमा सुनाउँदा सबैले रुचाएपछि ‘यो रहेछ तरिका’ भन्ने लाग्यो उहाँलाई । यसपछि अरू सबै छाडेर उहाँ हास्यव्यंग्यतर्फ लाग्नुभयो । 

पछि त प्रायजसो सबै पत्रिकाले व्यंग्यको स्तम्भ राख्न थाले । उहाँले पनि हिमालय टाइम्समा स्तम्भ लेख्न थाल्नुभयो । पछि अन्नपूर्ण पोस्टमा अनि नेपाल पत्रिकामा उहाँले २०६३ सालदेखि लगातार १५ वर्ष लेख्नुभयो । 

१५ वर्ष लगातार लेखेपछि दिइने स्वतन्त्र पत्रकारको परिचयपत्र पनि उहाँले यही नेपालमा लेखेको स्तम्भमार्फत हालै सूचना विभागबाट प्राप्त गर्नुभएको छ । 

प्रकाशन तथा पुरस्कार

उहाँको पहिलो प्रकाशन ‘घिटिकघिटिक बाँचेर शहरमा’ भन्ने हास्यव्यंग्य कवितासंग्रह हो, जुन २०५० सालमा प्रकाशन भएको थियो । 

उहाँका हास्यव्यंग्य कविताका तीनवटा तथा निबन्धका चारवटा पुस्तक प्रकाशन भएका छन् । एउटा उपन्यास तथा बालसाहित्यका दुईवटा गरी १० वटा पुस्तक प्रकाशित छन् उहाँका । एउटा चिठीपत्रहरूको संकलन रहेको पुस्तक पनि आउँदै छ उहाँको । 

पुरस्कारका हकमा भने पन्त स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिएको ५० हजार रूपैयाँ राशिको पन्त स्मृति पुरस्कार, भैरव पुरस्कार गुठीले प्रदान गरेको भैरव पुरस्कारलगायत सम्मान तथा पुरस्कार प्राप्त गर्नुभएको छ उहाँले । 

संघसंस्थामा संलग्नता

उहाँ हाल संगीत नाट्य प्रतिष्ठानको प्राज्ञ सभा सदस्यका रूपमा हुनुहुन्छ । २०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालको अध्यक्ष पनि हुनुहुन्छ उहाँ साथै भैरव पुरस्कार गुठीको कार्यसमितिमा समेत हुनुहुन्छ । 

सिस्नुपानी नेपाल

कसैलाई पनि चिनाउने भनेको उसको कामले हो । लक्ष्मण गाम्नागेलाई पनि उहाँको काम तथा सिस्नुपानी नेपालले नै चिनाएको हो । 

हुनत सिस्नुपानीले अरू संस्थाहरूसँग मिलेर जनचेतनामूलक कार्यक्रम पनि गर्दै आइरहेको छ । तर, नेपालीहरूको महान् चाड तिहारमा एक पटक गर्ने देउसी कार्यक्रमले भने सिस्नुपानीलाई चिनाएको छ । उक्त देउसी कार्यक्रम अत्यन्तै चर्चित हुनुका साथै राजनीतिक र सामाजिक विकृतिका विरुद्धमा तीखो प्रहार गर्ने कारणले पनि अत्यन्त लोकप्रियसमेत छ । 

देउसी कार्यक्रमका उपस्थित हुनका लागि उहाँहरू बकाइदा निम्तो लिएर नेताहरूको घरमा जानुहुन्छ । अघिल्लो वर्षको कार्यक्रमका कारण पछिल्लो वर्षको निम्तो मान्न नआउने नेता पनि छन् अनि अनौपचारिक भेटघाटमा ‘के आउनु तपाईंकोमा ?’ भन्नेहरू पनि नभएका होइनन् । 

सिस्नुपानीको देउसी कार्यक्रममा हालसम्म नआउनुभएको भने हालै प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवा हुनुहुन्छ । यस पटक भने देउवालाई जसरी पनि ल्याउने अभियानमा हुनुहुन्छ उहाँहरू ।