दोस्रो तहको हैसियतमाथि प्रश्न: भूमिका निमिट्यान्न र इज्जतको हुर्मत लिँदै एमाले एकताको र्‍याइँर्‍याइँ !

लोकसंवाद टिप्पणी

दोस्रो तहको हैसियतमाथि प्रश्न: भूमिका निमिट्यान्न र इज्जतको हुर्मत लिँदै एमाले एकताको र्‍याइँर्‍याइँ !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीहरुभित्र एउटा अनौठो रोग छ, त्यो हो पार्टी विभाजित अवस्थामा हुँदा एकताको रटान र एक भएपछि विभाजनको ध्याउन्न । देशमा एउटै शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउने भन्दै २०७४ सालदेखि एकता अभियान थालेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ, २०७५ मा एकता भयो र २३ फागुन, २०७७ मा सर्वोच्चको आदेशसँगै विभाजित भयो । पार्टी एकता गरेर निर्वाचन आयोगमा पहिले नै दर्ता भइरहेको ऋषि कट्टेलको नेकपालाई बेवास्ता गर्दै नेपाल कम्युनिस्ट पार्टीका पछि ‘(नेकपा)’ राखेर दर्ता गरिएपछि सर्वोच्चले कट्टेलको मुद्दाको फैसला गर्दै नेकपा खारेज गरिदिएकाे थियो । 

नेकपा खारेज भएसँगै कम्युनिस्ट पार्टीबीच एकता र ध्रुवीकरणको आवाज उठिरहेकै छन् । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेको माधवकुमार नेपाल समूहले बृहत कम्युनिस्ट एकताको पक्षमा बेलाबेला आवाज उठाउँदै आएका छन् । तर तिनै नेताहरु एकीकरण भइसकेको पार्टीलाई एक ढिक्का राख्न, विचार र राजनीतिक एजेन्डा, सरकार र पार्टीका कामलाई व्यवस्थित राख्न भने असफल सावित भइसेकका छन् । 

यद्यपि पछिल्लो समयमा फेरि केपी शर्मा ओली बाहेकको कम्युनिस्ट ध्रुवीकरणको आवाज उठिरहेको छ । हालै माधवकुमार नेपाल, प्रचण्ड, मोहन वैद्यलगायतका नेतासँग नेत्रविक्रम चन्द विप्लवले अलग अलग भेट गरेका छन् । माधव नेपाल र प्रचण्डसँग त विप्लवले सामूहिक भेट गरेपछि कम्युनिस्ट एकताको चर्चालाई थप मजबुत बनाउन थालिएको छ । तर एकताको आवाज उठाउन सजिलो भए पनि व्यवहारिक रुपमा एकता सहज देखिएको छैन । 

एमालेमा दोस्रो तहका नेताहरुको सक्रियता

३ फागुनमा सर्वोच्चको आदेशबाट ब्युँतिएको एमालेभित्रको आन्तरिक किचलो अझै समाधान हुन सकेको छैन । एमालेमा एउटा रमाइलो परिघटना देखिन्छ । एमालेका शीर्ष नेताहरूबिच यति बेला मिलन छैन । पार्टी अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालको पार्टीभित्रको भूमिकालाई निमिट्यान्न पार्न र इज्जतको हुर्मत लिन लागिपरेका छन्। उता दोस्रो तहका नेता पनि नेतृत्वसँग हस्तक्षेपकारी भूमिका नखेल्ने केबल माग राख्ने हैसियत मात्र राख्ने हुँदा समय गुजार्ने बाहेक केही नहुने पक्का पक्की छ । विघटित कार्यदलको र्‍याइँर्‍याइँ नेता तथा कार्यकर्तालाई भूल्याउने बाहेक केही हुने देखिँदैन । जबसम्म  पार्टी अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल बिच एकता गर्ने इच्छाशक्ति नहुन्जेल दोस्रो तहका नेताको हैसियत माग राख्ने भन्दा माथि देखिएको छैन । 

एमाले र माओवादीभित्रको ठूलो पंक्ति तत्कालीन नेकपा खारेज हुनुमा पार्टीभित्रको आन्तरिक संघर्ष र त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्ने प्रमुख नेताका रुपमा केपी शर्मा ओलीले खेलेको भूमिका प्रमुख दोषी रहेको ठान्छन्। त्यसैले केपी ओलीबाहेकका शक्तिबीच ध्रुवीकरणको आवाज पनि उठ्ने गरेको छ । एउटै कम्युनिस्ट केन्द्र बन्न सक्छ या सक्दैन त्यो भविष्यको कुरा हो ।

तत्कालीन नेकपाभित्रको विवादलाई रोकेर एमालेलाई सदृढ बनाउन भन्दै माधवकुमार नेपाल २३ फागुनको फैसलापछि प्रचण्ड समूह छाडेर एमालेभित्रै बसेर गतिविधि गर्ने निर्णयसहित फर्किएपछि ओलीले नेपालमाथि अनेकौं लान्छना लगाउने र पेल्ने रणनीति लिए । जसको परिणामस्वरुप यतिबेला केपी ओली सत्ताबाटठ हट्न बाध्य भएका छन् । तर सरकारबाट बाहिरिनुपर्दाको पीढा नेता नेपालमाथि पोखिरहेका छन् । बालुवाटारबाट बालकोट फर्किनुपर्दा विक्षिप्त बनेका ओलीले नेपालमाथि ‘गद्दार’ को संज्ञा दिँदै पार्टीभित्र स्थान नभएको बताएपछि एमालेभित्र सहमतिका लागि भन्दै तयार पारिएको १० बुँदे प्रस्तावको भविष्य नै अन्योलमा परेको छ । 

पार्टीभित्रको विवाद थप बल्झिने देखेपछि पुनः दोस्रो तहका नेताहरु सक्रिय बनेका छन् । विघटित पार्टी एकता कार्य दलका सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने भन्दै छलफल अघि बढाएका हुन् । शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरेको छ ।

यसअघि अब नेता नेपालबिनाको एमाले हुने ओलीसहितका नेताहरुको अभिव्यक्तिपछि सो पार्टी एक रहनेमा शंका उत्पन्न भएको छ । ‘पार्टी एकताका लागि अनुमोदन गरिएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टी एकताबद्ध बनाउन सकिने र एमाले एकताबद्ध हुँदा देशको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र संविधानलाई सबल बनाउन सकिन्छ भन्ने भएर १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढने निष्कर्षमा पुगेको ओली पक्षीय नेता सुवास नेम्वाङ बताउँछन्।

नेपाल पक्षीय नेताहरु पनि आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न अनौपचारिक छलफललाई अघि बढाइएको बताउँछन् । तर दोस्रो तहका नेताहरुले गरेको यो छलफल शीर्ष नेताहरुले मान्छन् या मान्दैनन् भन्ने यकिन छैन । किनकि यसअघि नेपाल पक्षका नेताहरुले स्थायी कमिटी बैठक रोकेर सहमतिका साथ अघि बढ्न भीम रावल, सुरेन्द्र पाण्डेसहितका नेताले गरेको आग्रह ओलीले अस्वीकार गरेका थिए । ओली र माधवकुमार नेपाल आफ्नो अडानमा कायमै रहँदा एमालेको एकता कसरी अघि बढ्छ भन्न सकिने अवस्था छैन । 

कम्युनिस्ट एकताको आवाज

एमाले र माओवादीभित्रको ठूलो पंक्ति तत्कालीन नेकपा खारेज हुनुमा पार्टीभित्रको आन्तरिक संघर्ष र त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्ने प्रमुख नेताका रुपमा केपी शर्मा ओलीले खेलेको भूमिका प्रमुख दोषी रहेको ठान्छन्। त्यसैले केपी ओलीबाहेकका शक्तिबीच ध्रुवीकरणको आवाज पनि उठ्ने गरेको छ । एउटै कम्युनिस्ट केन्द्र बन्न सक्छ या सक्दैन त्यो भविष्यको कुरा हो । तर माधवकुमार नेपाल र प्रचण्डसहितको कम्युनिस्ट पार्टी बनाएर अघि जाने प्रसंग भने उठिरहेको छ । यो क्षणिक भावना वा केपी ओली प्रवृत्तिबाट आजित भएर हो वा वैचारिक र सैद्धान्तिक रुपमा नै यो कुरा आएको हो भन्ने स्पष्ट हुन भने केही समय पर्खिनुपर्छ। त्यसका लागि पनि एमालेको एकता र खासगरी एकताका लागि ओली पक्षले खेल्ने भूमिकामा निभर रहनेछ।

यद्यपि अहिले माधव नेपाल समूहसँग मिल्न नचाहे पनि चुनावी परिणाम ओलीका लागि पनि सहज हुनेछैन । त्यसैले अन्ततः सम्झौतामा पुग्न सक्ने सम्भावना पनि छ । यसबीचमा सबै माओवादी शक्तिहरु एक ठाउँमा आउनुपर्ने आवाज पनि उठिरहेको छ । त्यसैसँग जोडेर कम्युनिस्ट केन्द्र बनाउने प्रसंग आएको देखिन्छ । त्यसमा विगतमा माओवादीबाट अलग भएका सबै शक्ति, एमालेको माधवकुमार नेपाल समूहसहितको कम्युनिस्ट केन्द्र बन्न बन्न सक्ने सम्भावना रहन्छ । त्यसका लागि पनि एमालेभित्रको आन्तरिक संघर्षले निकास लिनु आवश्यक छ ।