कांग्रेसद्वारा आफ्ना सांसदलाई देउवाका पक्षमा मतदान गर्न ह्वीप

कांग्रेसद्वारा आफ्ना सांसदलाई देउवाका पक्षमा मतदान गर्न ह्वीप

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबाट विश्वासको मत पाइनेमा ढुक्क रहेको निष्कर्ष निकालेको छ । 

प्रतिनिधिसभाको बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकपछि संविधानको रक्षाका लागि हिजोको दिनमा जुन गठबन्धन गरेको थियो, त्यो यथावत् रहने र माधव खेमा कांग्रेससँगै रहने कांग्रेसको निष्कर्ष रहेको एक नेताले बताए । 

प्रधानमन्त्री देउवाले बहुमतभन्दा धेरै मत प्राप्त गर्ने कांग्रेसको आँकलन छ । 

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि पहिलोपल्ट बसेको बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लाग्नुभएको हो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

कांग्रेसले आफ्ना सांसदलाई सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । कांग्रेसले समयमै संसद् भवनमा उपस्थित भएर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।