गोलमान: जो डायलायसिसको लागि चटपटे बेच्छन्

गोलमान: जो डायलायसिसको लागि चटपटे बेच्छन्

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७६

पोखरा । बलेवा–बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि  बिसाएका सवारी साधनका यात्रुरुले सधैँ जस्तो  देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’। 

कास्कीको अन्नपूर्ण गाउँपालिका–६ स्थित लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घरको देब्रेपट्टि गुरुङले चना चटे बेच्न थालेको धेरै भएको छैन । खाजा, खाना र चियाका लागि बिसौनी बनेका लुम्लेका कयौँ साना होइल तथा रेष्टुँरामध्येको एक गुरुङ खाजा घरको छेवैमा बसेर गुरुङले चनाचटपट र पानी पुरी बेच्ने गरेका छन् ।

 यसरी सवारी साधनमा सवार कतिपयले खट्टोपिरो, अमिलो खोज्ने भएकाले गुरुङले रेष्टुरेण्टको छेवैमा चना चटपटे बेच्न थालेका हुन ।  सडकमा हुइकिरहेका यात्रीलाई लक्ष गरेर ५९ वर्षीय गुरुङ चना चटपटे भन्दै कराउँछन् ।  कतिपयले आवश्यकताले त कतिपयले एक वृद्धले कराइरहेको देखेर सहानुभूति राख्दै चना चटपटे खान पुग्ने गरेका छन् ।  बेलाबेलामा ठट्टा गर्ने, लोकशालीकै गीत गुनगुनाउने र समसामयिक राजनीतिका कुरा गर्ने गुरुङले उनको नजिक पुगेका ग्राहकलाई चटपटे बनाउन जेल भुलाउने काइदा हो र चनाचटपटेको विक्री गर्छन् । बजारबाट ल्याएको चाउचाउ, गाउँकै खुर्सानी, अमिलो, लसुन, प्याजलगायत सामग्री मिश्रण गरेर बनेको चटपटे खाने यात्रुरुले मुख मिठाएर गुरुङको चटपटेको मूल्य तिर्ने गर्ने गर्छन् । 

एक वृद्ध मानिसले सडकछेउमा कराइ कराइ के–का लागि चटपटे बेचिरहेको देख्दा यसमा प्रशस्त फाइदा हुने र सम्पत्ति जोड्नका लागि उहाँले यसो गरिरहेको हुनसक्ने लख काट्ने गरेका छन् । तर  उमेरले तीनबीस काट्नै लागेका वृद्धको हेरचाह गर्ने कोही नभएर वा दैनिकी गुजार्नका लागि सहयोग गर्ने सन्तान भए पनि कमाउने लालसाले छोडेको छैन भन्नेहरू पनि छन् उनलाई ।  तर उन वास्तविकता, कथा र व्यथा भने अर्का छ । ५ वर्ष पहिला दुवै मिर्गौलाले काम गर्न छाडेपछि कयौँ ठाउँमा उपचार गराएर थाक्नुभएका गुरुङले अहिले हप्तामा दुई पटक डायलायसिस गराइरहनुपर्छ । उमेरमा कमाएको पैसा र पैतृक सम्पत्तिसमेत उपचारमा खर्च भएपछि अहिले अस्पताल जाने गाडी भाडा जुटाउनका लागि उनले चटपटेको व्यापार गर्न बाध्य भएका हुन ।  

दुवै मिर्गौलाले काम गर्न छाडेकाले देशका ठुला सहरमा पुगेर नाम चलेका अस्पतालमा उपचार गराउँदा सबै सम्पत्ति सकिए पनि गुरुङले हिम्मत भने पक्कै हारेका छैनन्। नियमित डायलायसिस गर्न चिकित्सकले भनेकाले सातामा दुई पटक उनी अस्पताल पुग्नुपर्छ । अस्पतालमा लाग्ने शुल्क सरकारले निःशुल्क गरे पनि हरेक साता लुम्लेबाट पोखरा पुग्ने र फर्कने यातायात खर्च उनी आफैँले जुटाउनु पर्ने बाध्यता छ ।

 पोखराको गण्डकी अस्पतालमा डायलायसिस गराउने उनले यातायात खर्च, पोखराको बसाइँमा लाग्ने खर्च र सामान्य घर खर्च चनाचटपटको व्यापारबाट नै जुटाउने गरेकी छन् । ‘भारी बोक्न सक्दिनँ, गह्रौँ काम केही गर्न हुँदैन’, गुरुङले भने, ‘खर्च जुटाउनकै लागि सडकको छेउमा बसेको छु।’ बिरामी परी शरीर कमजोर भएर र लाखौँको सम्पत्ति सकिँदा पनि हिम्मत नहारेको उनको भनाइ छ । ‘आँट्नुपर्छ केही न केही गरे जीवनमा गुजारा चल्छ’, गुरुङ भन्छन् – ’ ५ वर्षदेखि उपचार गराइरहेको छु, जसोतसो चलेकै छ ।’ 

मिर्गौलाको उपचार महँगो हुने भए पनि पहिले दाजुभाइको सहयोग र अहिले चनाचटपटको व्यापारले आफूलाई सहज बनाएको उनले बताए ।

 सामान्य आर्थिक हैसियत भएका गुरुङको परिवारमा श्रीमतीसहित तीन सन्तान छन् । दुई छोरी र एक छोराले विद्यालयतहको अध्ययन गरिरहेकाले खर्च जुटाउन सहयोग गर्ने अरू कोही नभएको उनको भनाइ थियो । विद्यालय बिदा भएको बेला छोराछोरीले चटपटेको व्यापारमा सघाउने गरेको गुरुङले सुनाए । 

‘खर्च कटाएर महिनामा रु १५ हजारदेखि २० हजारसम्म र बचाउने गरेको छु’, उनले भने, ‘प्राण धान्ने उपाय बनेको छ  चटपटे ।’ उनी बिरामी हुनु पूर्व किसानी गर्थे । पुर्खाले आर्जेको जमिनमा खेती किसानी गरेर गुजारा चलेकै बेला बज्रपात आइलागे पनि आफूले हिम्मत नहारेको गुरुङले बताए । छिमेकी र दाजुभाइको सहयोगले पहिलो चरणको उपचारमा सघाए पनि राज्यका तहबाट कुनै सहयोग नपाएको उनको गुनासो थियो। ‘मेसिनको शुल्क त तिर्नुपर्दैन तर अस्पताल जाने आउने कसरी गर्नु, हामीजस्ता पीडितको पहिचान गरी सरकारले सुविधा दिनुपर्ने हो’, गुरुङले भनेको कुरा राससको समाचारमा उल्लेख छ ।