नेप्सेले चुम्यो ९७ अंक

नेप्सेले चुम्यो ९७ अंक

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ३, २०७८

चालू आर्थिक वर्षको पहिलो कारोबारको दिन आइतबार शेयर बजार परिसूचक नेप्सेमा उछाल आएको छ । केही दिनदेखि सामान्य घटबढ हुँदै आएको नेप्से सूचक आज एकै दिन ९७ अंकले बढेको हो ।

आइतबार २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रुपैयाँमा कारोबार भएको थियो । यो शेयर आज दिनभर १ लाख १६ हजार २९४ पटक किनबेच भएको थियो । 

कारोबार सुरु भएदेखि नै बुल आक्रामक रूपमा अगाडि बढेको थियो, जसअनुसार खुलेको डेढ घण्टा नबित्दै नेप्सेले छलाङ मार्दै ७० अंकमाथि पुगिसकेको थियो । त्यसपछि निरन्तर नेप्से उकालो नै लाग्यो । यसले गर्दा आज एकै दिन झण्डै १०० अंकको हाराहारीमा नेप्से बढेको हो । आज सुस्ताएका लगानीकर्ता पनि उत्साहित बन्दै कारोबारमा सहभागी हुँदा कारोबार रकम पनि बढ्यो । 

गत हप्ता कारोबार रकम घटेर ४ अर्ब रुपैयाँको हाराहारीमा पुगेको थियो । 

बढेको बजारमा नेप्से सूचक मात्र नभएर उपसमूहका सूचक पनि बढेका छन् । उपसमूहअन्तर्गतका सबै समूहको सूचक हरियो बनेका हुन् । त्यसमा विकास बैंकको सूचक सबैभन्दा धेरैले बढेको छ । यसको ५.०५ प्रतिशतले बढेको छ भने वाणिज्य बैंक, जीवन बीमा, लघुवित्तलगायत समूहका सूचकहरू पनि उल्लेख्य मात्रामा बढेका छन् । 

आज कमाउनेमा १७४ वटा कम्पनी छन्, जसमा ५ वटा कम्पनी सर्किटमा छन् । समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप अफ कम्पनी, हिमालयन पावर पार्टनर र सिँगटी हाइड्रोपावरले १० प्रतिशतले शेयर मूल्य बढाउन सफल भएका छन् । बढेको बजारमा गुमाउने कम्पनीमा ८ वटा कम्पनी अगाडि छन् । तिनमा अरुण भ्याली हाइड्रो, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिप्रपोज फाइनान्स, नारायणी विकास बैंक, राधि विद्युत् कम्पनी, रिडी हाइड्रोपावर र माथिल्लो तामाकोसी छन् । 

कारोबारका आधारमा भने आज मञ्जुश्री फाइनान्स अगाडि छ । यस कम्पनीको ४० करोड ९९ लाख ७५ हजार १ ४० रुपैयाँको शेयर किनबेच भएको हो । यससँगै आज नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर, एनआईसी एसिया बैंकलगायतका कम्पनीमा लगानीकर्ताको चाप थियो ।