गरिबको साथी

कथा

गरिबको साथी

सीताराम नेपाल  |  समाज  |  बैशाख २१, २०७६

‘यो काली (बच्चीलाई कसैको आँखा नलागोस् भनी गोरीलाई काली भनिने चलन अझै छ ) असाध्य चक्चके छे । पछि कस्ती हुने हो कुन्नी ! पल्ला गाउँका कहलिएका जोतिष–बाजेले यो बच्ची बिछट्ट लच्छिनकी छे । छोरी भइ भनी नपिर्रेस् । यसले तिमेरलाई छोराले भन्दा रामरी पाल्छे....भन्या थे, भन्न त । यस्ती उत्ताउलीले के सुख देली र खै ? ‘उत्ताउली गाई बाघले खाइ’ भन्छन् । मोरी राम्री पनि चौपट्टै छे । कुलको इज्जत जोगाइ भने भला.....।’ छोरी राम्री हुनु र बालक छँदा चकचक गर्नु राम्रो नठानिने संस्कारगत चिन्तनले भरिएकी मेरी हजुर्माले मर्नेबेलामा समेत भन्नुभा’थ्यो । 

स्कूल पढ्ने केटीहरू मध्ये म राम्री थिएँ भनेर बयान गर्नेहरू अझै पाइन्छन् । त्यसैले होला केटाहरू मलाई देखेपछि हेरेका हेरै हुन्थे । कतिपय त म भनेपछि भुतुक्कै हुन्थे । कुन्नी किन हो कतिपयले मलाई झुल्के घामको हिमाल जस्तै छे भन्थे । प्रौढहरूले त ‘यति राम्री केटी आजसम्म देखेको छैन’ भनी अहिले पनि मेरो बखान गर्न छाडेका छैनन् ।

‘म एक गरिप परिवारकी छोरी हुँ । गरिबीसंग तेलकासा खेल्नु मेरो जन्मसिद्ध बाध्यता थियो । गरिबको सबैभन्दा नजिकको साथी दुःख नै त हुन्छ, घाम छायाँ जस्तै । प्रत्येक जसो दिनहरू मेरो परिवारका लागि दुःख लिएर आउने गथ्र्यो । दिनहरू दुःखसँग खेलेर बिताउनेको रात कसरी गुज्रन्छ ? स्वभाविक छ त्यो पनि दिनभरिको कामले थाकेर  गलित हुँदै भोलिको दुःखी दिन सम्झेर गरिबीको कहाली लाग्दो ओछ्यानमा छटपटिएर बित्छ, पीडामाथि पीडा थपिएर जान्छ । ओर्के पनि दुःख फर्के पनि दुःख । मेरो बाल्यकाल र किशोरकाल यसरी बितेका हुन् । 

‘स्वर्गका अप्सराजस्ता नृत्यकलामा पोख्त, मेनकाको जस्तै धपक्क बलेको सुन्दरता, क्या छरितो जिउडाल, क्या लचकता, यसले गायनमा तारादेवी मात्र होइन लतामङ्गेस्करलाई बिर्साउन सक्छे, मोरी चौपट्टै राम्री पनि छे ।’

एकाध कुरा भने अरूमा भन्दा ममा फरक थियो । म बालक हुँदा मादल बजेको सुन्नै हुँदैन थ्यो । मादल बजेको ठाउँमा नगै नछाड्ने मेरो बालहठ थियो । मेरी हजुर्मा पनि घाँसे गीत गाउन, असारे भन्न, भजन गाउन, नाच्नमा कहलिनु भा’थ्यो । उहाँको काखमा हुर्केको हुनाले होला, उहाँ सँगै गीत गाउन, नाच्न अघि सर्थेँ, म । मैले गायको र नाचेको राम्रो लागेर कसै–कसैले पैसा दिन्थे । पैसा पाए पछि म दङ्ग पर्थेँ । मेरी हजुर्माले मलाई फकाएर त्यो पैसाले चुरोट, बिडी किनेर खानु हुन्थ्यो । त्यो देखेर म लडिबुडी गरेर रून्थेँ ।

‘जन्मैबाट ल्या‘की हो कि क्या हो त्यल्ले ! कति राम्रो गर्न सकेकी ? यति थोरै समयमा अरूलाई पछि पार्दै अग्रपङतीमा पुगिसकी ?’ स्कूल प्रतियोगितामा मेरो कला देख्नेहरू भन्न थाले । माध्यमिक स्कूलमा पढ्दा देखुन् नै मलाई गीत, संगीत र नृत्यमा पोख्त छे भनेर चर्चा परिचर्चा हुने गरेको हो । विस्तारै मेरो कला र गलाको चर्चाले गाउँ टोलको सीमा नाघेर ओर–पर फैलिन थाल्यो । स्कूले प्रतियोगिता, जिल्ला स्तरीय संगीत एवं नृत्य प्रतियोगितामा प्रथम भइ मैले पाएको मेडल र प्रशंशा पत्रहरूले मेरा बा–आमालाई व्यङग्य हान्न थाल्यो । उहाँहरू खुसी हुनुको साटो ‘ऐले खाए भरे के खाम्, भरे खाए भोलि के खाम्’को गरिपकी बच्चीले के गर्न सक्छे र ?’ भनेर सुस्केरा काढ्नु हुन्थ्यो । जे होस् भजन, कीर्तन, सप्ताह, नारायण पूजा, आदि धार्मिक पर्वहरूबाट प्रारम्भ भएको मेरो कला र गलाको प्रदर्शन जिल्लभरि नै चर्चाको विषय बन्न थाल्यो । 

‘स्वर्गका अप्सराजस्ता नृत्यकलामा पोख्त, मेनकाको जस्तै धपक्क बलेको सुन्दरता, क्या छरितो जिउडाल, क्या लचकता, यसले गायनमा तारादेवी मात्र होइन लतामङ्गेस्करलाई बिर्साउन सक्छे, मोरी चौपट्टै राम्री पनि छे ।’ 

मेरा पारखीहरू प्रशंसाको रातो गलैचा बिछ्याउथे । म भने ज्याला–मजदुरी गर्न नगएकी हुनाले झन् कहालीलाग्दो गरिबीले थिचिन थालेँ । विपन्नतासँग कुस्ती खेलेर फिस मिनाहा गराएर बल्ल तल्ल माध्यमिक स्कूलको फलामे ढोका प्रथम श्रेणीमा पार गरेँ । अभावसँग खेल्न अभ्यस्त म र मेरो परिवारमा पहिलोपाली हर्षले अस्थायी बास मागेको महशुस भयो । तर क्षणभरमै निराशाको कालो बादलले मेरा आमा–बालाई नराम्ररी छोप्यो । 

‘बढेकी छोरी हुँ । गाउँकी परी हुँ । सुन्दरी छु, साथमा गला र कला पनि छ, अनि मेरो यौवन र सुन्दरतामा भुतुक्क भइ वत्तिमा पुतली होमिएझैँ यी मोराहरू मर्न आउछन् । मोराहरूलाई कालले कुतकुत्याउन नसकेको ।......’  सानैदेखि हदैसम्मको दुःख झेल्नसक्ने भएकी हुनाले मैले आफूलाई डगमगाइन, कसैको नाजायज भनाइमा लागिन ।

‘यसले रामरी नाच गान गरेर नाम कमा’र हामी दुखियालाई के फरक परो र ? घराँ एक कौडी भित्र्या छैन । रिन काढेर कपडा र सिङ्गारका सामान किनेको अझै तिर्नसक्या हैन । अब यसले पढेर के लछार्छे र ?’ मैले मेरा अभिभावकको निराशासंग कठिन संघर्ष गर्नु पर्‍यो । केही दिन सम्झाइ बुझाइ गरेर उहाँहरूलाई मनाएँ । विकल्प केही नदेखिएपछि एसएलसी कट्नासाथै मसंगै मेरो कला र गला पनि काठमाडौं छि¥यो । देशकै राजधानी, अन्यत्र जिल्लाको भन्दा भौतिक सुख सुविधाले सम्पन्न ठाउँ, शिक्षा र रोजगारीको प्रचूर सम्भावना स्थलमा मैले पहिलो पाइला राख्दा ममा आशैआशको लालीगुरास ढकमक्क फुलेको थियो । मेरो मन उमङ्गले फुरूङ्ङ भएको थियो । तर त्यो त केवल मेरो भावुक मनको कोरा कल्पना मात्र रहेछ । ममा पलाएको उत्साह मनको लड्डुमा सीमित भयो । जतासुकै मान्छे नै मान्छेको भीड, बेला न कुबेला जथाभावी थुप्रिएको फोहोरको डङगुरले सुङगुरको खोरजस्तै दुर्गन्धले काठमाडौँ निसासिएको रैछ । पटक्कै मन नपरे पनि, पटक–पटक वाक्क–दिक्क लागे पनि मलाई काठमाडौंमा रहनु थियो । आफू हुर्के, बढेको गाऊँ, ठाऊँको न्यास्रोले मन निथ्रुक्क भिजे पनि गाऊँ छाड्नु थियो । जतिसुकै दुःख, कष्ट खेपेर भए नि काम गरेर पढ्नु थ्यो, आफ्नो कला र गला प्रदर्शन गर्ने ठाउँ खोज्नु थ्यो । अन्ततः मन नलागी नलागी मैले काठमाडौंसँग सम्झौता गर्न बाध्य भएँ । जीवनमा पहिलो पाली आफैँमाथि मैले जवर्जस्ती गरेँ ।

सहरका सँगीत / नृत्य कम्पनीका धनीहरू कस्ता न होलान् भनेको त उडुसजस्ता मोटा हुँदा रहेछन् । कलाकारहरू गाउँका मान्छेजस्तै कोमल मनका धनी हुन्छन् भन्ठानेको त मान्छे तौलिन खप्पिस निस्ठुरी व्यापारीजस्तै हुँदा रहेछन्  । तिनले शायद, मलाई सोझी देखे, गाऊँबाट भर्खर आएकी बुझे, कलिली ग्रामीण युवतीको सुन्दरता, कला र गलालाई चिने होलान्, मेरो कलाकारिताको भविष्य उज्ज्वल देखे होलान्, गरिबीले थिचिएकी बुझे होलान् । तव न तिनीहरूले सिकारू कलाको अवगुण देखा’र गला र कलाका लागि समर्पण ठूलो कुरा हुन्छ भनेर घरेलु नोकर्नीलाई जस्तो अवमूल्यन गर्न खोजे । बरू कैयौँ दिन भोकै बसेँ । तर मैले टेरिन । 

एउटा मात्र होइन, अर्को कार्यक्रममा पनि त्यस्तै भयो । मोटा, दुब्ला, ठिकैका –थरीथरीका कम्पनीका अनेक थरीका प्रोप्राइटरहरूले मेरो कला र गलाको अवमूल्यन गरी मूल्याङ्कन गरे । 

देखिदा तिनीहरू सुकिला, मुकिला, सुटटाइमा चिटिक्क परेर अत्तर लेपन गरेका, नाडीमा महङ्गो घडी र मोटो सुनको ब्रासलेटले सजिएका, गलामा बेलायती कुकुर बाँध्न हुने सुनको सिक्री भिरेका, आँखालाई कालो गगल्सले कैद गरेका, हातका सबै औँलाहरू थरी–थरीका किमतिला नवरत्न जडित सुन र चाँदीका औँठीहरूले बाँधिएका देखिन्थे । तर ती मनका धनी रैनरे’छन् । ती एकसे एक मख्खिचुसले मेरो प्रतिभालाई नजरअन्दाज गरे । अभ्यास, त्याग, तपस्या नपुगेको खोट देखाएर मेरो कलालाई कसाईले थारी बाख्री मोले जसरी मोले । 

‘नाच, गान र अभिनयमा कलाकारले आफूलाई पूरै बिर्सेर विषय–बस्तुमा लिन हुन सक्नु पर्छ । जसले जति गहिरोसंग यो कला प्रदर्शन गर्न सक्छन् उति सफलताको शिखरमा पुग्छन् । सबको हाई–हाई हुन सक्छन् ।

तेस्रो प्रयासमा पनि म सफल हुन सकिन । ‘अझै अभ्यास पुगेन । अभ्यास जारी राख । अघि बढ ।’ भनी फेरि उस्तै अवगुण देखाइयो । तर भित्री कुरा अर्कै रहेछ । कसैले मेरो यौवन र सौन्दर्यता मात्र देखेका रहेछन्, कसैले गायकीलाई मात्र राम्रो ठानेका रहेछन्, कसैले नृत्यलाई महत्व दिए, कसैलाई अभिनय राम्रो लाग्यो, धेरै थोरैले मात्र मेरो व्यक्तित्वको समग्रपक्ष देखे अरे । चौथो प्रयासमा पनि कलाको मूल्याङ्कन आंशिक मात्र गरियो । 

सबै प्रदर्शन वा कार्यक्रममा वत्तीमुनि अँध्यारो बनेर म माथि यौन–पिपासु नजर देखा पर्दथ्यो । कतिपय ठूला कम्पनीका धनी, मुर्धन्य सङ्गीतकार, गनिएका कलाकार, भद्रकालीमा छाडा छाडिएको छिप्पिएको बोकाको रूप देखाएर मेरो सोह्रबर्षे कलिलो यौवनमा दृष्टि दिए, छेडखान गरे, गाऊँकी सोझी, गरिब अवला देखेर होला मलाई ललाइ–फकाइ गरे । 

‘बढेकी छोरी हुँ । गाउँकी परी हुँ । सुन्दरी छु, साथमा गला र कला पनि छ, अनि मेरो यौवन र सुन्दरतामा भुतुक्क भइ वत्तिमा पुतली होमिएझैँ यी मोराहरू मर्न आउछन् । मोराहरूलाई कालले कुतकुत्याउन नसकेको ।......’  सानैदेखि हदैसम्मको दुःख झेल्नसक्ने भएकी हुनाले मैले आफूलाई डगमगाइन, कसैको नाजायज भनाइमा लागिन ।

‘यो पनि लोग्नेमान्छे नै हो । एक्लै पर्दा अप्ठ्यारोमा पार्छ कि के भन्न सकिन्छ र ? कसैको निधारमा को कस्तो हो भनेर लेखिएको हुन्न क्या रे ?’ डराइ–डराइ देशको ख्यातिप्राप्त मेरिना संगीत तथा नृत्यकला केन्द्रका मालिकसँगको पटक–पटकको वार्तापछि सोही केन्द्रसंग अनुबन्ध गरेँ । प्रशिक्षकको निर्देशन लिदा पनि डर लागिनै रहेको थियो । ‘सफलताको शिखरमा पुग्न लालयित मेरो गायकी र कलाकारिता काठमाडौँको चर्को प्रतिस्पर्धाको भेलमा हराउने त होइन ?’ मलाई यो भयले सतायो । मैले कडा मेहनत गर्नुु पर्‍यो । कैयो दिन मैले नखाइ नखाइ अभ्यास गरेँ । कैयौँ रात जाग्राम बसी रियाजलाई अर्पण गरेकी छु । जिल्लामा गनिएकी भए नि काठमाडौंमा स्थापित हुनलाई नामचलेका सँगीतकारको दृष्टि पर्नुपर्ने वाध्यता फेरि हावी भयो । कतिपय मुर्धन्य सँगीतकारको दृष्टि भने यौवनले भरिपूर्ण शरीरमा पहिले पर्ने रे’छ । संगीतकारको नजर नपरुन्जेल राजधानीको भीडमा हराइने रे’छ । त्यसैले सिकारु कलिली गाउकी केटीको उपमा लिएर सा¥है सस्तो (ज्यामी, कुल्लीको) ज्यालामा म गला र कला देखाउन थालेँ । 

‘म एक गरिप परिवारकी छोरी हुँ । गरिबीसंग तेलकासा खेल्नु मेरो जन्मसिद्ध बाध्यता थियो । गरिबको सबैभन्दा नजिकको साथी दुःख नै त हुन्छ, घाम छायाँ जस्तै । प्रत्येक जसो दिनहरू मेरो परिवारका लागि दुःख लिएर आउने गथ्र्यो । दिनहरू दुःखसँग खेलेर बिताउनेको रात कसरी गुज्रन्छ ?

‘मेहनत गर्दै गए एक दिन सबले चिन्छन् । सगरमाथाको शिखर नचुमुन्जेल तेन्जिङ नोर्गेलाई कल्ले चिन्थ्यो र ? कैयौँ पटक असफल हुँदा त तेन्जिङले हरेश खाएनन् भने मैले यति चाँडै हरेश खानु हुँदैन’ भन्ठानेर म निरन्तर अभ्यास र प्रदर्शनमा लागिरहेँ । कडा मेहनतको भट्टीमा खारिदै जान थालेको मेरो कला पापी पेटका कारणले सहरको गल्ली–गल्लीमा रहेका रेष्टुराँ, बार, डिस्कोमा रुमल्लिएर खुम्चिन बाध्य भयो । 

सहरको उच्छृङ्खल वातावरण, अव्यवस्था, भद्रगोल र अस्तव्यस्तताले मलाई उकुस–मुकुस बनायो । म नराम्रोसँग कुवाको भ्यागुतोझैँ साँधुरो घेरामा बाँधिए । यसै त उपत्याकाको आकाशै सानो रहेछ, त्यसमाथि कतिपय गगनचुम्बी भवनले सहर काक्राको चिराझैँ भएको जस्तो लाग्यो । महङ्गो डेरा भाडा, पेटपुजा, उच्च शिक्षाको चुलिएको चर्काे शुल्क, राजधानीको भड्किलो फेशन र अक्कासिएको महङ्गी देखेर म अतास्सिन थालेँ । जे भए नि गरिबको साथी संघर्षै त हो भनेर मन बाँधेर बाधा अवरोधसंग सम्झौता गर्दथेँ । 

विस्तारै–विस्तारै म कुसल गायिका, राम्रो नर्तकी, सफल अभिनेतृमा गनिन थालेँ । कडा मेहनत त मेरो अनन्न्य साथी थियो नै, केही कमाइ पनि हुन थाल्यो । तर कहिले निर्देशक, कहिले संगीतकार त कहिले गीतकारको ‘दृष्टि पर्नु पर्ने’ बहानामा शरीर गिजोल्न आउनेहरूसंग संघर्ष जारी राख्नु पर्‍यो । केही फोहोरी अनुहारका घिनौलो हर्कतलाई पैतालाले कुल्चेर अघि बढेँ । 

मैले ‘मिस नेपाल’मा पनि भाग लिएकी थिएँ । तर आफ्नो जीवनलाई क्रान्तिको दाउमा राख्ने महिलाहरूको शिकारमा परेर प्रतियोगिता नै भएन । खाने मुखलाई जुङ्गाले छेक्दैन भनेझैँ सुन्दरी प्रतियोगितामा भाग लिन नपाए पनि म सफल मोडल हुन भने सकेँ । 

कलाकार भइसकेपछिका समस्या वेग्लै हुने रहेछ । स्लीम बनिरहन एकाविहानै शारीरिक ब्यायाम गर्नै पर्ने नियम रहेछ । पेटभरि खानमा रोकावट हुने रहेछ । नयाँ प्रोजेक्टमा सम्झौता गरे पछि काम नसकुन्जेल बिरामी हुन समेत नपाउने रहेछ । कस्तो अचम्म भने, चाहाड–बाड र आमा–बा बिरामी पर्दा समेत छुट्टि नपाइने रहेछ । स्वतन्त्रतापूर्वक हिडडुल गर्न होस गर्नु पर्ने झन्झट, भेटघाट (इष्टमित्र, नाता कुटुम्ब, साथीसँगाती सँग)मा अघोषित प्रतिवन्ध । 

जति नाम चल्दै गयो त्यति लोकप्रियता बढ्दै जाने चलन रहेछ । अनि व्यस्तता बढ्ने रहेछ । कस्तो कष्टकर वाध्यता रहेछ भने सधैँभरि सबै आफन्तहरूसंग छुट्टिएर, अलग भएर नाटकीय संसारमा रम्नुपर्ने । रियाज, अभ्यास, डाइलगको सुगारटाइमा पूरै समय व्यतीत गर्नु पर्ने रे’छ । यस्तो अचम्मको अनौठो परिवेशमा मेरो दैनिकी नै नयाँ र बेग्लै बन्यो । बोलचाल, उठबस, सरसँगत सबै कुरा कहिले रंगकर्मी, कहिले सिनेकर्मी त कहिले गलाकर्मीसँग मात्र हुन थाल्यो । सपनामा समेत कहिले लाइभ कन्सर्टका लागि अभ्यास (रियाज) गरिरहेकी, कहिले फोटो सेसन गराइरहेकी, कहिले फेसन सोमा क्याटवाक गरी धेरै दर्शकको जिब्रोमा झुण्डिएको गीत गाइरहेकी, कहिले ‘कामना’को लागि अन्तरङ्ग खोलिरहेकी हुन थालेँ म । जतासुकै कृतिमता, नाटकीयता, बनावटी काम कुराले घेरिदा–घेरिदा मलाई कहाली लाग्न थाल्यो । 

आफूलाई मन नपरे पनि ‘गर’ भनेपछि गर्नैपर्ने अनिवार्यता, ‘नगर’ भनेपछि काम समाप्त हुनै लागेको र आफूलाई राम्रो लागेको किन नहोस् काम रोक्नु पर्ने । आफूलाई मन परेर के गर्नु, रद्ध गर(कट) भने पछि मान्नैपर्ने, कस्तो परम्परावादी कम्युनिष्ट कमाण्डरको भन्दा कडा आदेश । तातो न छारोको लौह अनुशासन मान्दैको फजिति....।’ यो सबै पैसाको लागि गर्नै पर्ने रहेछ । पैसावेगर शरीरको अगाडि रहेको यो खाने मुख र भोक लाग्ने पेटलाई बुझो लगाउन नसकिने रहेछ । अनि कलाकारको खर्चालु भेषभुषा, व्यवहार धान्न थोरै तिनैले कहाँ पुग्छ र ! यसैका लागि दुःख त गर्नै प¥यो । बल्ल बा–आमालाई ऋणबाट मुक्त पारेकी छु । भाइबैनाको उच्च शिक्षामा खर्च पनि उच्च हुने नै भयो । फेरि सुपरस्टारको कठिन उकालो चढ्न बाँकी नै छ । क्या टेन्सन हगि !

आज म फेरि चिन्तनमा डुब्न थालेँ । ‘अहो ऽ कलाकारको संसार त कस्तो भयग्रस्त रहेछ ? चिच्याट लाग्ने नितान्त फरक परिवेशको जर्जर संसार रहेछ यो क्षेत्र । सामान्य मान्छेको कल्पना भन्दा बाहिरको कस्तो क्रितिमतामा रमाउनु पर्ने, हेत्तेरिका ? ठेस लागेझैँ मलाई लाग्न थाल्यो–कलाकारको जिन्दगी के जिन्दगी ? नाटकियतामा अभ्यस्त भै जति गहिराइमा पुगिन्छ उति आत्मियताको खडेरी पर्ने रहेछ । आफ्नो लागि, आफन्तको लागि, आफ्नो खुसीमा केही गर्न समय नपाइने, कस्तो निसासिने अर्कै दुनिया ?! 

अर्कोतिर कलाकार सर्कलमा वर्षामा गन्धेझार मौलाएझैँ जताततै द्वेष, इष्र्या, घृणा मौलाएको हुने रहेछ । कसले बढी मस्ती गर्ने भनेर उछिनापाछिन हुने रहेछ । आफ्नोपना, मित्रता, हार्दिकताको नामोनिसान केही नपाइने । मन नभएका जडवादीहरू जस्तो । धुकधुकी मरिसकेको हृदय जस्तो– चकमन्न, सन्नाटा छाएको । हरेक कुरा हिउले थिचिएको चिसो चट्टान जस्तै । यस्तै हो भने किन चाहियो यस्तो तामझाम, के को लागि–पैसा,ख्याति, चर्चा, इज्जत सब देखावटी आवरण मात्र रहेछ ।

प्रकृतिको मनोरम छटाबाट कला सिकेकी भएर होला यस्तो अप्राकृतिक परिवेशमा रमाउने कलाकारहरूको भीडमा म एक्लै छु । मेरा आफन्त, मन मिल्ने साथीभाइ, कोही देख्दिन यो नाट्यश्वरी जगतमा । मेरो साथमा न समाउने हाँगो, न टेक्ने लौरो नै छ, अहिलेसम्म !

औँसीको राति सुत्नु अघि वा निन्द्रादेवी रिसाएकी वेला म बरण्डामा निस्कन्छु । देख्छु– आकाश तारागणले टन्न भरिएको छ, काठमाडौँ घरैघरले भरिएझैँ । तर प्रत्येक तारा एक्ला एक्लै छन् । म पनि त एक्लै छु । उनीहरू कहिल्यै रूँदैनन्, दुःखी हुँदैनन् र चिन्ता पनि गर्दैनन् । अब मैले पनि त्यही सिक्नुपर्छ ।

याे पनि  

वरिष्ट फिजिसियनले पुर्‍याउन नसकेकाे सेवा

फाँटवालाको दैनिकी

जनता जगाउने काइदा

बन्दको खेती

प्रतिपक्षको धर्म