राजनीतिक संस्कारसहितको वैकल्पिक शक्तिकाे खोजी

राजनीतिक संस्कारसहितको वैकल्पिक शक्तिकाे खोजी

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  श्रावण ४, २०७८

कुनै पनि देशको स्थिरता र विकासका लागि राजनीतिक संस्कारको महत्त्वपूर्ण भूमिका रहन्छ । बिनाराजनीतिक संस्कार राजनीतिले सही दिशा निर्धारण गर्न सक्दैन । यसका कारण समयसमयमा राजनीतिक परिवर्तनका साथसाथै मानिसको विश्वास र मूल्य, मान्यतामा समेत परिवर्तन आउँछ । 

मूलतः राजनीतिक संस्कारले राजनीतिक व्यवस्था र सामाजिक वातावरणबीच सम्बन्ध स्थापित गर्छ । संस्कारले मानव मस्तिष्कमा मनोवैज्ञानिक परिवर्तनका साथै राजनीतिक व्यवस्था परिचालन तथा जनचेतनासमेत विकास गर्छ । 

संस्थाहरूमा समन्वय कायम गर्ने, मानव मस्तिष्कमा समयानुकूल परिवर्तन ल्याउने राजनीतिक संस्कारलाई विशेष गरेर केही भारतीय विद्वानहरूले राजनीतिक संस्कार मान्छन् । राजनीतिक संस्कारले राजनीतिलाई गतिशील बनाउने र यसका कारण सामाजिक सम्बन्धमा परिवर्तन ल्याउने गर्छ । 

विचारक प्रभुदत्त शर्मा भन्छन्, ‘कुनै पनि संस्कारमा व्यक्तिको व्यवहार, उसको मान्यता, विश्वास, सम्मान, अभिव्यक्ति आदिलाई समावेश गरिन्छ । यी सबै विषयवस्तुले राजनीतिक क्षेत्रमा आफ्नो अस्तित्व कायम राख्छन् ।’

सामान्य संस्कारको क्षेत्र राजनीतिक संस्कारको क्षेत्रभन्दा विस्तृत हुन्छ । राजनीतिक संस्कार पनि सामान्य संस्कारको एक अंग हो । राजनीतिक संस्कारले मूलतः विचारलाई भरिलो तथा संगठनलाई मजबुत र नेतृत्वलाई सबल बनाउँछ । यही कुरा आज दलहरूले उपेक्षा गरेका देखिन्छ । 

सामान्य वा बुझ्ने भाषामा भन्दा, संस्कार भनेको पुस्तौँ पुस्तादेखि चल्दै आएको चालचलन, विश्वास, भाषा, नीति, कला, संगीत आदि सबैलाई बुझाउँछ । समाजमा चल्दै आएका चालचलन सामान्य संस्कारभित्र पर्छन् । 

सामान्य संस्कारको क्षेत्र राजनीतिक संस्कारको क्षेत्रभन्दा विस्तृत हुन्छ । राजनीतिक संस्कार पनि सामान्य संस्कारको एक अंग हो । राजनीतिक संस्कारले मूलतः विचारलाई भरिलो तथा संगठनलाई मजबुत र नेतृत्वलाई सबल बनाउँछ । यही कुरा आज दलहरूले उपेक्षा गरेका देखिन्छ । 

राजनीतिक संस्कारको उपेक्षा गर्नु नै दल अराजनीतिक हुनु तथा अराजकता निम्त्याउनु हो । राजनीतिक संस्कार मूलतः सैद्धान्तिक, वैचारिक र सांगठनिक क्षेत्रको योगबाट निर्माण हुने हो । 
लोकतान्त्रिक दलहरूको लोकतान्त्रिक संस्कार हुन्छ । यथास्थितिवादी दलहरूको यथास्थितिवादी संस्कार हुन्छ भने प्रगतिशील दलहरूको संस्कार प्रगतिशील हुन्छ । 

वर्तमान राजनीतिक दलका विषयमा कुरा गर्दा यी पक्ष छुट्याउन गाह्रो हुन्छ । वर्तमान अवस्थामा लोकतान्त्रिक दलहरूको लोकतान्त्रिक संस्कार केलाई मान्ने ? यथास्थितिवादी दलहरूको यथास्थितिवादी संस्कार केलाई मान्ने ? प्रगतिशील राजनीतिक दलहरूको प्रगतिशील संस्कार केलाई मान्ने ? 

यी सबै दलहरूले सरकारको नेतृत्व गरिसकेका छन् । हात्तीको देखाउने दाँत र खाने दाँत जस्तै यी सबै दलहरूले यस्तै गरे । सत्ताबाहिर मिठा कुरा, सत्ताभित्र तीता अनुभव यी सबै दल र दलका नेताहरूका छन् । यसको प्रमुख कारण भनेको नै दलहरूमा राजनीतिक संस्कार हराउनु नै हो । संस्कारले विधिको विकास गर्छ । विधिले समस्या समाधान गराउँछ । जब समस्या समाधान हुन्छ अनि बल्ल गति पैदा हुन्छ । 

गतिले नै सबै चिजलाई चलायमान वा गतिशील बनाउने हो । आज कुनै पनि दल किन आन्तरिक द्वन्द्वमा छन् ? किन उनीहरूमा गति छैन ? किन दलहरू ओरालो लाग्दै छन् ? यसको प्रमुख कारण भनेको राजनीतिक संस्कार हराउनु नै हो । 
जब दलहरू नै नरहने अवस्था आउँछ, तब लोकतन्त्रको पनि रक्षा हुँदैन । सही राजनीतिक संस्कारसहितको वैकल्पिक राजनीतिक शक्ति नै आजको आवश्यकता हो । 

जब दलहरूले आफ्नो विचारधाराअनुसारको संस्कार हराउँछन्, तब दल स्वतः आन्तरिक खिचातानीमा रुमलिन्छन् । संस्कारको समाप्तिले राजनीतिमा व्यक्तिवाद जन्माउँछ । 

राजनीतिक संगठन वा दलमा जब व्यक्तिवाद हावी हुन्छ अनि दल समाप्त हुने संभावना प्रबल हुन्छ । व्यक्तिवादले संस्कारको विनास गर्छ, संस्कार समाप्त हुनासाथ पहिचान समाप्त हुन्छ । 
जब हरेक चिजको पहिचान नै विलय हुन्छ, तब स्वतः ऊ समाप्त हुन्छ । वर्तमान दलहरूको अवस्था करिबकरिब यही हो । जबसम्म राजनीतिक दलहरूभित्र विधि, विधान र पद्धतिलाईभन्दा व्यक्तिलाई प्रश्रय दिइन्छ, तबसम्म राजनीतिक दलहरूमा राजनीतिक संस्कारको विकास हुनै सक्दैन । 

राजनीति संस्कारको विकासबिना दलभित्रका अन्तरविरोध समाधान हुन गाह्रो हुन्छ । जब दलभित्रका अन्तरविरोध समाधानभन्दा जटिलतातिर जान्छन्, त्यतिबेला दल फुट्ने संभावना उच्च हुन्छ । जब दल फुट्ने र टुक्रिने हुन्छन्, तब राजनीतिक व्यवस्था नै अस्थिर हुन्छ । 

जब कुनै पनि देशको राजनीतिक व्यवस्था अस्थिर हुन्छ, तब समाजको आवश्यकताअनुसारको विकास हुन सक्दैन । जनता दिन प्रतिदिन अस्तव्यस्त र गरिब हुन्छन् । समग्रमा भन्नुपर्दा, देश नै अस्तव्यस्त हुन्छ ।

नेपालको सन्दर्भमा पनि भएको यही हो । अब देशलाई अगाडि बढाउने हो भने पहिला स्थिर राजनीतिक व्यवस्था चाहिन्छ । 

राजनीतिक व्यवस्था स्थिर हुन दल स्थिर हुनुपर्छ । दल स्थिर हुन दलहरूले राजनीतिक संस्कारको विकास गर्नुपर्छ । त्यस कारण लोकतान्त्रिक देशमा लोकतान्त्रिक संस्कारसहितको वैकल्पिक राजनीतिक शक्ति नै आजको आवश्यकता हो ।